प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति भदौ १ भित्रै

प्रतिनिधिसभा र प्रदेशसभा  निर्वाचन मिति भदौ १ भित्रै

काठमाडौं : सरकारले आगामी भदौ १ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा दुवै तहका निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । निर्वाचन आयोगले माघ ७ गतेभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुरूप भदौ १ सम्ममा दुवै तहको मिति घोषणा गर्न आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्री देउवाले एकैपटक सम्पन्न गर्ने गरी दुबै निर्वाचनको तयारी थाल्न आयोगलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दैै स्रोतले भन्यो, 'आगामी भदौ १ गतेभित्र दुुबै निर्वाचनको मिति एकसाथ तोक्नेछु ।' आयोगका प्रमुख आयुक्तसहितको टोलीले सोमबार प्रधानमन्त्रीसँग भेट गरी निर्वाचनका विषयमा ध्यानाकर्षण गराएको हो ।

आयोगका एक आयुक्तले निर्वाचन तयारीमा १२० दिन आवश्यक पर्ने भएकाले अब पनि मिति घोषणा नगरिए निर्वाचन सम्पन्न गर्न गाह्रो हुने स्पष्ट पारेको बताए । आयोगले यसअघि दुईपटक निर्वाचन मिति प्रस्ताव गरेको थियो । आयोगले असार १६ गते प्रधानमन्त्रीसँग भेट गरी असोज अन्तिम साता प्रदेशसभा, कात्तिक दोस्रो साता राष्ट्रियसभा र मंसिर पहिलो साता प्रतिनिधिसभा निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको थियो । 'तोकिएको समयभित्र निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण सरकारलाई छिटो मिति घोषणा गर्न भेटेरै दबाब दिएका हौं', एक आयुक्तले भने ।

आयोगले भदौ १ भित्रै व्यवस्थापिका–संसद्बाट प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्बन्धी विधेयक पारितसँगै निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउन पनि आग्रह गरेको छ । आयोगका अनुसार अब पनि मिति घोषणा नगरिए मतपत्र छपाइ गर्न समय अपुग हुन्छ । विद्युतीय मतदान गर्ने कि परम्परागत कागजी मतपत्र प्रयोग गर्ने भन्ने अन्योल रहेका बेला एकैपटक दुवै तहको निर्वाचन गर्ने हो भने चारवटा मतपत्र आवश्यक पर्ने भन्दै आयोगले चिन्तासमेत जनाएको छ । कागजी मतपत्र प्रयोग गर्ने हो भने ७ करोड थान छाप्नुपर्छ ।

प्रधानमन्त्रीले निर्वाचन खर्च कम गर्न तथा दुबै निर्वाचन एकै मितिमा गर्ने गरी तयारी थाल्न निर्देशन दिएका थिए । उनले निर्वाचनसम्बन्धी दुई विधेयक संसद्मा पारित हुने चरणमा रहेको सुनाउँदै क्षेत्र निर्धारण आयोगले पनि तोकिएकै मितिमा प्रतिवेदन बुझाउने जवाफ दिएका थिए । दुबै निर्वाचन एकैपटक गर्न विद्युतीय मतदानका लागि समय पर्याप्त भएको÷नभएको बारेमा उनले आयोगका पदाधिकारीसँग बुझेका थिए । आयोगका पदाधिकारीले विद्युतीय भोटिङ मेसिन गर्ने÷नगर्ने भन्नेबारे सरकारले नै निर्णय गर्नुपर्ने बताएका थिए ।आयोगले एक साताअघि विद्युतीय मतदानका विषयमा विभिन्न राजनीतिक दलसँग पनि परामर्श गरेको थियो ।

स्थानीय तह निर्वाचनमा विद्युतीय मतदानको तयारी गरिए पनि अन्तिम अवस्थामा राजनीतिक सहमति नहुँदा रोकिएको थियो । विद्युतीय मतदानका लागि मेसिन खरिद गर्न कम्तीमा चार महिना आवश्यक पर्ने आयोगले जनाउँदै आएको छ । चार महिनाभित्र भोटिङ मेसिन आयो भने त्यसको प्रयोगबारे मतदाता शिक्षा, ढुवानी र प्रयोगका लागि भने समय अपुग हुने आयोगकै अधिकारी बताउँछन् । आयोगका सचिव महेश्वर न्यौपानेका अनुसार विद्युतीय मेसिन सरकारले खरिद गरेर उपलब्ध गराउनुपर्ने निष्कर्षमा आयोग पुगेको छ ।

यद्यपि, अबका निर्वाचनमा विद्युतीय मतदान गाह्रो पर्ने आयोगका अधिकारीले बताए । आयोगका प्रवक्ता सूर्य शर्माले विद्युतीय मेसिन प्रयोग गरे दुबै निर्वाचन समयमा सम्पन्न गर्न सहज हुने कुरा आयोगले बताएको र प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको जानकारी दिए । उनीहरूले मतदातालाई 'राइट टु रिजेक्ट'को अधिकार दिने कि नदिने अनि विदेशमा रहेकाको मताधिकार कसरी सुरक्षित गर्ने भन्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले ३० दिनको समय राखी दल दर्ता गर्न साउन १४ गते आह्वान गरिसकेको छ । भदौ ११ गतेभित्र दल दर्ता गराइसक्नुपर्ने आयोगले जनाएको छ ।

वडा नटुक्र्याउन सुझाव

काठमाडौं : निर्वाचन आयोगले क्षेत्र निर्धारण आयोगलाई वडाहरू नटुक्र्याउन सुझाव दिएको छ । सोमबार बसेको आयोगको बैठकले क्षेत्र निर्धारणका लागि यस्तो सुझाव दिने निर्णय गरेको हो । वडा टुक्र्याउँदा सीमा छुट्टिने भएकाले मतदाता परिचयपत्र जारी गर्न, मतदान केन्द्र तोक्न समस्या हुनुका साथै नयाँ मतदाता 'विभाजित' हुने आयोगको निष्कर्ष छ ।

'प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा असर पार्ने हुँदा त्यसो नगर्न सुझाव दिने निर्णय गरेका हौं', आयोगका एक आयुक्तले भने । आयोगले उक्त सुझाव मंगलबार क्षेत्र निर्धारणमा बुझाउने भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.