कांग्रेस कार्यसम्पादन समिति बैठक एजेन्डाविहीन

कांग्रेस कार्यसम्पादन समिति बैठक एजेन्डाविहीन

काठमाडौं : सत्तारुढ गठबन्धनको प्रमुख घटक कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्दै छ। बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने समितिको बैठकमा छलफलका लागि कुनै एजेन्डा नभएकोमा पार्टी नेताहरूले असन्तुष्टि जनाएका छन्।

सभापतिदेखि समितिका सबै सदस्य सहभागी हुने बैठकमा छलफलका लागि कुनै एजेन्डा नभएकाले सम्पन्न स्थानीय तहका चुनावी समीक्षा र प्रदेश नं. २ मा उम्मेदवार चयनसम्बन्धी निर्णय बैठकमा गर्नुपर्ने धारणा समितिका केही सदस्यले व्यक्त गरेका छन्। केन्द्रीय कार्यसमितिको अधिकारसमेत लिएर बस्ने कार्यसम्पादन समितिकोे बैठकको एजेन्डाबारे अधिकांश सदस्यले बताउन सकेनन् । उनीहरूले असोजमा हुने प्रदेश नम्बर २ का स्थानीय तहमा पार्टी उम्मेदवारको चयन हुन सक्ने अनुमान गरे।

केन्द्रीय समिति, कार्यसम्पादन समितिलगायत कुनै पनि बैठक एजेन्डाविना उपस्थितिको सूचनामा सीमित रहने कांग्रेसको परम्पराजस्तै बनिसकेकोमा अधिकांश सदस्य असन्तुष्ट छन् । उनीहरू भन्छन्, 'एजेन्डासहित बैठक बस्नु र विनाएजेन्डा सूचनाको भरमा बैठक बस्नु असहज कुरा हो । यससम्बन्धमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको कार्यकालदेखि आवाज उठाउँदै आए पनि कार्यान्वयन नभएको उनीहरू गुनासो गर्छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठक २ नं. प्रदेशको स्थानीय तह चुनाव, कांग्रेसको समग्र संगठनात्मक गतिविधि र राष्ट्रिय राजनीतिमा केन्द्रित हुनुपर्ने आफ्नो धारणा रहे पनि आधिकारिक एजेन्डाबारे कुनै जानकारी नभएको बताए। पौडेलले भने, 'मैले विधि र परिपाटीअनुसार पार्टी सञ्चालन गरौं भन्दै आएको छु। तर, कार्यान्वयन भएको छैन।' कांग्रेसका अग्रज नेता कुलबहादुर गुरुङले प्रदेश नं. २ को चुनावबारे छलफल हुन सक्ने बताए।

स्थानीय तहको चुनावी परिणाम सम्बन्धमा अहिले पार्टी कार्यकर्ता र सर्वसाधारणबीच कांग्रेसको भइरहेको व्यापक आलोचनाको जवाफ दिनुपर्ने चुनौती नेतामाथि रहेको उनले बताए । कार्यसम्पादन समिति मात्र नभएर पार्टीका सबै संरचनालाई पूर्णता दिँदै अधिकारसहित कार्यान्वयन गर्नुपर्ने माग गुरुङले गरे ।

अर्जुननरसिंह केसीले पार्टीको विधानअनुसार समितिले केन्द्रीय समितिको समेत अधिकार वहन गर्ने भएकाले बैठक उपलब्धिमूलक हुनुपर्ने बताए। कांग्रेसको सम्पूर्ण संरचना अघि बढेको सन्देश २ नं. प्रदेशको चुनावले दिनुपर्ने धारणा केसीले व्यक्त गरे।

अर्का नेता मानबहादुर विश्वकर्माले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनको पराजय पार्टीले आत्मसात गर्न संसदीय समिति गठन गर्नुपर्ने र बैठकबाट हाम्रा होइन पार्टीका उम्मेदवार चयन गर्नुपर्ने बताए। 'चुनावमा घात–अन्तर्घात गर्नेलाई दण्डित गर्न अनुशासन आयोग तत्काल गठन गर्ने भन्दै १५ दिनपहिले केन्द्रीय समितिले गरेको निर्णय किन कार्यान्वयन गरिएन ? ' उनले प्रश्न गरे, 'देश सात प्रदेशमा गइसकेपछि त्यसको संरचना पनि चाहियो ।'


कार्यसम्पादन समितिले तत्काल गर्नुपर्ने काम

प्रदेश नं. २ मा संसदीय समितिबाट उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने ।
निर्वाचनमा अन्तर्घात गर्नेविरुद्ध कारबाही गर्न अनुशासन आयोग तत्काल गठन गर्ने ।
राज्य संरचना सात प्रदेशमा गएकाले सोअनुसार प्रादेशिक संरचना तय गर्ने ।
१३ औं महाधिवेशनको नीति तथा निर्णय कार्यान्वयन गर्न केन्द्रदेखि गाउँ इकाइसम्मका पार्टी संरचनालाई तत्काल पूर्णता दिने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.