गाईजात्रामा अपांगको अपमान !
गाईजात्रालाई हामीले एउटा व्यंग्य तथा मनोरञ्जन पर्वको रूपमा बुझ्दै आएका छौं। परापूर्वकालदेखि नै गाईजात्रा रमाइलो पर्वको रूपमा मनाउँदै आएको पाइन्छ। समाजमा रहेका तत्कालीन विकृति-विसंगतिहरूको विरोध गर्दै सबैलाई हसाउने पर्व हो गाईजात्रा। पहिला-पहिला निरंकुश शासन हुँदा एक दिन गाईजात्राको रूपमा शासकहरूविरुद्ध व्यंग्यात्मक रूपमा जनताले आफ्नो मनमा गुम्स्याएर राखेका कुरालाई सभ्य तर व्यंग्यात्मक रूपमा प्रहार गरी रमाइलो गर्ने प्रचलन थियो।
यसलाई चतुर शासकहरूले आफ्नो कमीकमजोरी सर्वसाधारण नागरिकको दृष्टिमा के कस्ता रहेछन् भनी पत्ता लगाउने र आफ्नो विरोधको विषयलाई सच्याएर शासनसत्ता दिगो पार्ने अवसरमा पनि प्रयोग गरेको हुनसक्छ। त्योभन्दा पनि पहिले उच्च घरानिया सम्भ्रान्त परिवारका व्यक्तिहरूको विशुद्ध मनोरञ्जनको लागि मात्र गाईजात्रा अथवा व्यंग्य प्रस्तुत गर्ने गरेको पाइन्छ।
त्यसपछिका निरंकुश शासकहरूका पालामा राजनीतिक रूपमा सचेत नागरिकहरू जसको शासकहरूसामु उचित सुनुवाइ हुन सक्दैनथ्यो, त्यस्ता व्यक्तिहरूले मनोरञ्जनात्मक रूपमा राजनीतिक प्रहार गर्न थालेको पाइन्छ । तर पछिल्ला दिनहरूमा यो पर्व खुल्ला विरोध गर्ने चरणमा सभ्यताको सीमासमेत उल्लंघन हुने गरी मनाउन थालिएको छ।
विशुद्ध मनोरञ्जन दिने यो पर्व हाल आएर मनोरञ्जनको नाममा कसैलाई होच्याउने वा कसैको शारीरिक बनावट वा अपांगपनलाई हास्यव्यंग्यको विषयवस्तु बनाई अपांगता भएका व्यक्तिहरूलाई अपमान हुने खालका व्यंग्यहरू प्रस्तुत हुन थालेका छन्। हाल मनोरञ्जनात्मक कार्यक्रमको रूपमा प्रस्तुत गरिने विभिन्न टेलिसिरियलहरूमा पनि अपांगता भएका व्यक्तिहरूलाई पात्र बनाई उनीहरूको अपांगतापनलाई हास्यव्यंग्ययको रूपमा प्रस्तुत गर्ने गरेको पाइन्छ।
यस प्रकार कसैले कसैको शारीरिक,मानसिक वा भौतिक बनावटका आधारमा हास्य पात्र हुनुपर्ने र समाजमा आफ्नो अपांगपनको सबैले नक्कल गरी आफूलाई होच्याउने गरेको सहनुपर्ने यो कस्तो सामाजिक व्यवहार हो ? के कसैको शारीरिक वा मानसिक वा भौतिक बनावट वा अवस्थाको चित्रण गरी उसलाई आघात पर्ने गरी व्यंग्य गरिनुपर्छ ? के संविधानको धारा १६(९१०) मा उल्लेख भएको प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भनी सबै (अपांगता भएका व्यक्तिहरूसमेत) को सम्मानपूर्वक बाँच्न पाउने हक त्यही हो त ?
जीवनलाई संघर्षपूर्ण अवस्थाबाट गुजारिरहेका अपांगता भएका व्यक्तिहरूको सम्मानस्वरूप यस्तो व्यवहार गरिएको हो वा अनजानमा हुने गरेको हो, यसको निक्र्योल हुन जरुरी छ। यदि कोही व्यक्ति अपांगता वरण गरी जन्मिन्छ भने उसको यसमा के दोष हुन्छ ? यसवापत उसले समाजको हास्य पात्रको रूपमा चित्रित हुनुपर्छ। संविधानमा व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित छ भने अपांगता भएका व्यक्तिहरूलाई पनि अन्य नागरिकसरह सामाजिक सांस्कृतिक सहभागिताको अधिकार छ।
अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि २००६ (सीआरपीडी) को धारा १० मा व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरिएको छ। त्यति मात्र होइन, अपांगता भएका व्यक्तिलाई आफ्नो घर, समाजमा सम्मानपूर्वक आफ्नो रीतिरिवाज तथा कुल परम्पराअनुसार सांस्कृतिक क्रियाकलापमा सहभागी हुन पाउने तथा स्वतन्त्रतापूर्वक आफ्नो अभिव्यक्ति दिने र सक्रिय सहभागिताको हकको सुनिश्चितता गरिएको छ।
कुनै पनि अपांगता भएका व्यक्तिलाई उसको आफ्नै परिवारमा अथवा घरमा र समुदायमा सम्मानसाथ रहन तथा अर्थपूर्ण सक्रिय एवं उत्पादनशील जीवन जिउने वातावरण सिर्जना गरिनुपर्छ।
साथीभाइ इष्टमित्र सँगसँगै बसेर हास्य टेलिसिरियल हेर्न खोजियो भने अपांगता हुने व्यक्ति आफ्नो अपांगपनलाई हास्य वस्तुको रूपमा प्रस्तुत भएको देखेर लज्जित हुनुपर्ने अवस्था हुन्छ। यस्तो विषयवस्तु रचना गर्ने रचयिता वा निर्देशन गर्ने निर्देशक वा सो पात्रको अभिनय गर्ने अभिनेता अभिनेत्री कसैलाई पनि यसले अरूलाई मर्माहत पारेको थाहा नभएको हुन सक्छ। यसबाट मर्का पर्ने व्यक्तिको आत्मपीडा स्वयं आफू भुक्तभोगी नभई महसुस गर्न सकिँदैन। यसको उदाहरण 'रामविलास र धनियाँ' पात्र राखेर बनाइएको रेडियो कार्यक्रमलाई आम मधेसी नागरिकले विरोध गरेकोबाट प्रस्ट हुन्छ।
शारीरिक अपांगता होस् वा वाक् अपांगता होस्, यस्ता व्यक्तिहरूको अभिनय गरी आम नागरिकलाई मनोरञ्जन दिलाउने नाममा बनाइने खालका कार्यक्रमले अपांगता भएका व्यक्तिहरूलाई अपमान मात्र दिएको हुन्छ।
कसैको जन्मजात वा शारीरिक बनावट व्यंग्यका विषयवस्तु बनाइनु हुँदैन। नेपाल सरकारको प्रत्यक्ष लगानीमा बनेको र नेपाल टेलिभिजनबाट प्रसारण भएको 'देवी' टेलिसिरियलमा पूर्णेको अभिनय गर्ने पात्र के वास्तवमै भकभके छन् त ? त्यस्तै नेपाल टेलिभिजनबाट प्रसारण गरिने 'मेरी बास्सै' साप्ताहिक सिरियलमा खड्काजी जस्ता पात्रहरू यसका केही उदाहरण मात्र हुन्।
त्यो कथावस्तुले अपांगता भएकै पात्र खोजेको हो भने किन प्राकृतिक रूपमा रहेका भक्भकेहरूमध्येबाट प्रतिनिधित्व गराउन सकेन राज्यले ? सबैले हेर्ने टेलिभिजन कार्यक्रममा एकजना अपांगता भएको व्यक्तिले स्थान पाउन सकेको भए मात्र राज्यले सहभागिता गराएको भन्न पाउने थियो। एकजना अपांगता भएको व्यक्ति स्थापित हुने थियो।
अपांगता भएका व्यक्तिहरूको पनि समाजमा योगदान देखिने थियो। अपांगता भए पनि क्षमता भएमा अवसर प्राप्त हुन्छ भन्ने प्रमाणित हुने थियो। राज्यको लगानीमा हुने गरिने कार्यक्रम त यस प्रकारका विभेदकारी भएर आउँछन् भने अन्य निजी क्षेत्रबाट हुने विभेदलाई राज्यले कसरी नियन्त्रण गर्न सक्छ। यसमा ध्यान पुर्याउनैपर्ने अवस्था छ।
रेनेसापूर्वको कालखण्डमा अपांगता भएर जन्मनुपूर्व जन्मको पाप हो । यस्तो बच्चा जन्माउने बाबुआमा पापी हुन् भन्ने व्यवहार गरिन्थ्यो । त्यस समयमा आफ्नो सन्तान अपांग जन्मियो भने परिवारले समाजमा नदेखाउने र घरभित्रै बन्दी बनाइराख्ने अवस्था थियो । यो संसारभरिकै अपांगता हुने व्यक्तिहरूको वास्तविकता थियो । अपांगता हुनुपूर्व जन्मको पाप वा बाबुबाजेले गरेको पापको परिणाम मानिन्थ्यो । तर विस्तारै रेनेसा कालखण्डपछि युरोपेली मुलुकबाट आएको परिवर्तनले अपांगता भएका व्यक्तिहरूलाई घृणा होइन, दयामायाले हेरिनुपर्छ भन्ने विचारको विकास भयो ।
यो विचार संसारमा केही शताब्दी मात्र रह्यो । जब दोस्रो विश्वयुद्ध भयो र सो युद्धमा धेरै सैनिकहरू अपांग हुन पुगे, त्यसपछि मात्र अपांगहरूलाई पुनस्र्थापना गर्ने र समाजमा स्थापित गरिराख्ने किसिमका कार्यक्रम बनाइए । सन् १९४८ मा राष्ट्रसंघले मानव अधिकारको विश्वव्यापी घोषणा जारी गर् यो । त्यसपछि मात्र अपांगता भएका व्यक्तिहरूको पनि अरूसरहको अधिकार हुनुपर्छ भन्ने कानुनी मान्यता सिर्जना भएको हो ।
यो समयलाई उपकारमुखी समयबाट अधिकारमुखी अवस्थामा विकसित भएको मानिन्छ । तर यसको कार्यान्वयन पक्ष हेर्ने हो भने त हाम्रो मुलुकमा वा गाउँघरमा अझै पनि दयामुखी अवस्थामा नै अल्झिरहेको छ । युगले कोल्टे फेर्दै जाँदा संसारभरका अपांगता भएका व्यक्तिहरूप्रति आम समुदायको दृष्टिकोण केही भए पनि सकारात्मक रूपमा परिवर्तन हुँदै आएको छ।
यसको चौथो तथा विद्यमान अवस्था भनेको हालको अवस्था अर्थात् अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि २००६ जारी भएपछिको समय हो । यो समयअवधि भनेको अपांगता भएका व्यक्तिहरू पनि अन्य नागरिकहरूसरह उत्पादनशील छन् भन्ने युग हो। यही मान्यताका आधारमा अपांगता भएका व्यक्तिहरूलाई विकासको मूल प्रवाहमा प्रवाहीकरण गरी आम नागरिकसरहको व्यवहार गरिनुपर्छ।
अपांगता भएका व्यक्तिहरू घृणा, दया, समान अधिकार र उत्पादनशील नागरिकको रूपमा आइपुग्दासम्म हाम्रो समाजमा भने अपांगता भएका व्यक्तिहरू अथवा अपांगपन हास्यव्यंग्यकै विषयवस्तुमा पीडित गराइएका छन्।
यसमा राज्य र आम अपांगता भएको वर्ग सचेत हुन जरुरी छ । राज्यले संविधान र अन्य कानुनहरूको सशक्तरूपमा कार्यान्वयनको आँट गर्ने हो भने कुनै अपांग पनि र अपांगता पनि हास्य पात्रको रूपमा अपमानित भइरहनुपर्ने छैन । अपांगताका आधारमा गरिने विभेद विधि विधान वा कानुनहरूबाट विस्तारै हट्दै गएको भए पनि सामाजिक व्यवहारमा भने खासै ठूलो परिवर्तन आएको महसुस गर्न सकिने अवस्था अझै बन्न सकेको छैन।
आशा गरौं- यस वर्षको गाईजात्रा पर्व अपांगपनलाई अपमान गर्ने र हास्यपात्रको रूपमा जनसमक्ष प्रस्तुत गर्ने अवस्थामा नभई सबैलाई मर्यादित रूपमा सामाजिक विकृति र विसंगतिको विरोध गरी सर्वसाधारणमा सकारात्मक सन्देश दिने खालको हुनेछ । कसैले पनि आफ्नो अपांगता लिंग जातजाति, धर्म, वर्ण, क्षेत्र, भौगोलिक अवस्था गरिबी वा अन्य कुनै कुराको आधारमा आफू व्यंग्यपात्रको रूपमा गाईजात्राको पात्र बनिरहनु नपरोस् । यसमा राज्य, समाज तथा सबै नागरिक सचेत रहून् ।
ज्ञवाली नेत्रहीन संघका पूर्व महासचिव हुन्।