अराजनीतिक फुट

अराजनीतिक फुट

कुनै पनि राजनीतिक दल गुटबन्दी र विभाजनबाट मुक्त छैनन्। दलहरू कतिबेला जुट्छन् र कतिबेला फुट्छन्, टुंगो पनि छैन। चिराचिरा परेर कमजोर भएको माओवादीभित्र एकता प्रयास भइरहँदा दक्षिणपन्थी शक्तिका रूपमा रहेको राप्रपा दुई चिरा भएको छ। आठ महिनाअघि कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपतिशमशेर राणा नेतृत्वको राप्रपाबीच एकीकरण भएको थियो।

आठ महिनाअघि यी दुई पार्टी किन मिले र अहिले किन विभाजित भए ? त्यसको अन्तर्निहित कारण प्रस्ट छैनन्। दलहरू मिल्ने र छुट्टिने निश्चित राजनीतिक/वैचारिक आधार हुनुपर्छ। राप्रपा विभाजनमा त्यस्तो आधार देखिँदैन। त्यसकारण यो अराजनीतिक र केही ठूला नेताको स्वार्थप्रेरित छ।

हुन त दलहरू विभाजन हुँदा आवरणमा वैचारिक÷राजनीतिक कारण भएको दाबी गरिन्छ। वास्तवमा दलहरूबीच विभाजनका केही प्रवृत्तिगत कारण छन्, जो प्रायः दलमा लागू हुन्छ। राप्रपाको हकमा पनि यी केही कारण छन्, एकता महाधिवेशन गरेको ६ महिना नपुग्दै यो पार्टी विभाजित भएका छन्। पहिलो, नेतृत्व तहमा भएका समकक्षी नेताहरूबीचको प्रतिष्ठाको लडाइँ विभाजनको एउटा मुख्य कारण भएको देखिन्छ।

दोस्रो, सरकारमा सहभागी हुने र नेतृत्व कसले गर्ने भन्ने विषयको विवाद बढ्दै विभाजन निम्तिएको देखिन्छ। तेस्रो, नेपाली राजनीति दलभित्र चलखेल र प्रभावित गर्ने अदृश्य अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको प्रभावले पनि कहीं न कहीं काम गरेको दलकै नेताहरूले बताएका छन्। जेजे कारण भए पनि राप्रपा विभाजनले यो पार्टी कमजोर भएको छ। संसद्मा ३७ सांसदसहित चौथो ठूलो दलको उसको हैसियत अब ओर्लेको छ।

राप्रपा नेपाल र राप्रपा दुवै पूर्वपञ्चहरूबीच एकता भएर स्थापना भएका दल हुन्। २०४६ को राजनीतिक परिवर्तनपछि संसदीय प्रजातन्त्र हुँदै ०६३ को परिवर्तनपछि पनि यी दलहरू राजनीतिमा क्रियाशील छन्।

झन्डै डेढ दर्जनपटक फुट, एकता र विभाजन हुँदै बढेका दलहरूबीच पछिल्लो समय संवैधानिक राजतन्त्र र हिन्दु धर्मलाई मुख्य मुद्दाको रूपमा अघि सार्ने सहमति बनेको थियो र पार्टी एक भएको थियो। तर अहिले सत्ता उपभोगको विषयमा मतान्तर बढेर पार्टी विभाजित भएको छ, जुन दुर्भाग्यपूर्ण हो।

लोकतान्त्रिक पद्धति फस्टाउन पार्टी प्रणाली बलियो हुनुपर्छ। गुट, फुट, विभाजनले लोकतन्त्रलाई बलियो बनाउँदैन। आन्तरिक लोकतन्त्र र स्वस्थ प्रतिस्पर्धा आवश्यक छ, तर सत्ता, व्यक्तिगत प्रतिष्ठा र इगोलाई आधार बनाएर एकता वा विभाजन गर्दा त्यसले सम्बन्धित पार्टीलाई मात्रै होइन, समग्र लोकतान्त्रिक व्यवस्था र प्रणालीलाई कमजोर बनाउँछ।

जनतामा दलहरूप्रतिको विश्वास कम हुन्छ र निराशा बढाउँछ । केही महिनाअघि जोडिएका राप्रपा पुनः किन विभाजित भए, त्यसको प्रस्ट धारणा आउनु आवश्यक छ। विभाजनका कारण र त्यसपछिका राजनीतिक र वैचारिक आधार के त ? दुई चिरामा विभक्त पार्टीले आआफ्ना धारणा प्रस्टसँग राख्न सक्नुपर्छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.