पदक विजेतालाई भैंसी पुरस्कार !
नयाँदिल्ली : तुर्कमिनिस्तानको ड्याफलिपिकमा भएको एक प्रतियोगितामा पदक जितेर स्वदेश फर्किएका भारतीय कुस्ती खेलाडीले अनौठो पुरस्कार पाएका छन् । सो प्रतियोगितामा स्वर्णपदक विजेता वीरेन्द्र र कांस्यपदक जित्न सफल अजयलाई ओलम्पिक खेलकुदका पदक विजेता चर्चित भारतीय कुस्ती खेलाडी सुशील कुमारले अनौठो पुरस्कारबाट सम्मानित गरेका हुन् । सुशीलले तुर्कमिनिस्तानबाट पदक जितेर फर्किएका खेलाडीलाई हौसला बढाउन घिउ, बदामको बोरा, भैंसी र स्कुटर पुरस्कार दिएर सम्मान गरे ।
छत्रसाल स्टेडियममा भएको कार्यक्रममा सुशीलले पहलमान वीरेन्द्रलाई एक भैंसी, ५० किलो बदाम र एक डिब्बा घिउबाट सम्मानित गरे । यसैगरी उनले अर्का पहलमान अजयलाई स्कुटर, एक बोरा बदाम र एक डिब्बा घिउ पुरस्कार दिए । ओलम्पिक पदक विजेता सुशील कुमारले विजेता खेलाडीको प्रोत्साहनका लागि नौलो किसिमको पुरस्कार दिएको बताए ।
'यी पहलमानको सफलतामा म गर्व गर्दछु । उनीहरूलाई अगाडि बढाउन अहिले प्रोत्साहनको जरुरी छ । उनीहरूलाई थप प्रोत्साहन मिलोस् भनेर भिन्न खालको पुरस्कार दिएको हुँ', सुशीलले भने । सुशीलका गुरु सतपालले कुस्तीको विकासका लागि ठूला व्यावसायिक घराना अगाडि आउनुपर्ने धारणा व्यक्त गरे । तुर्कमिनिस्तानमा पदक जितेका वीरेन्द्र र अजय हाल गुरु अनुमान अखडामा अभ्यास गर्दै आएका छन् । उनीहरूलाई द्रोणाचार्य पुरस्कार विजेता महावीर रावले तालिम दिँदै आएका छन् । वीरेन्द्रले तुर्कमिनिस्तानमा तेस्रोपटक स्वर्ण जितेका हुन् । उनले यसअघि सन् २००५ र सन् २०१३ मा पनि स्वर्ण पदक जितेका थिए ।
भारतीय बक्सरले आफ्नो उपाधि चिनियाँलाई थमाए
कुनै पनि खेलाडीका लागि आफूले जितेको पदक अमूल्य रहन्छ । अझ खेलाडीले जितेको पदकले उसको देशको गरिमासमेत बढाएको हुन्छ । त्यसैले त हरेक खेलाडीले आफ्नो पदक घरको दराजमा सजाउनेमात्र होइन, देशको राष्ट्रिय संग्रहालयामा समेत दिने प्रचलन छ । तर, शनिबार राति भारतमा सम्पन्न एक बक्सिङ प्रतियोगितामा अनौठो दृश्य देखियो ।
राजनीतिक सम्बन्ध खासै समुधर नभएको भारत र चीनका मुक्केबाज एकअर्कालाई हराउन रिङमा ओर्लिएका थिए । डब्लूबीओ एसिया प्यासिफिक सुपर मिडलवेट उपाधिका लागि भएको उक्त भिडन्तमा भारतीय मुक्केबाज विजेन्दर सिंहले चिनियाँ प्रतिद्वन्द्वी जुल्पिकर मइमइतियालीलाई हराए । मुम्बईस्थित नेसनल स्पोर्ट्स क्लबमा भएको उक्त भिडन्त हेर्न बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनलगायतका सेलीब्रेटी पनि उपस्थित भएका थिए ।
चिनियाँ प्रतिद्वन्द्वीलाई हराएपछि विजेन्दरले सिधै अमिताभ, अभिषेख बच्चन, बाबा रामदेवलगायतका सेलिब्रेटीनजिक पुगेर बधाई लिए । त्यसपछि उनी पुनः रिङमा फर्किए र कसैले नसोचेको काम गरेर देखाए । रिङमा फर्किएर विजेन्दरले माइक्रोफोन समाए र आफूले जितेको उपाधि पुनः चिनियाँ प्रतिद्वन्द्वीलाई नै फिर्ता दिने घोषणा गरे । उनले भने, 'म यो उपाधि जुल्पिकरलाई नै फिर्ता दिन चाहन्छु । म दुई देशबीचको सीमामा तनाव चाहन्न । मेरो यो कार्य शान्तिका लागि सन्देश हो र यो आवश्यक पनि छ ।'
विजेन्दरले भारत र चीनबीच देखिएको राजनीतिक तिक्ततालाई अन्त्य गर्न खेलकुदको माध्यमबाट आफूले थालेको अभियान सफल हुने विश्वाससमेत व्यक्त गरे । चीनदेखि तिब्बत हुँदै भुटानसम्म चीनले बाटो खोल्न लागेपछि अहिले भारत र चीनबीचको सम्बन्ध चिसिएको छ । विश्वका सञ्चारमाध्यमले पनि भारत र चीन युद्धमा जान लागेको अड्कलबाजी गरिरहेका छन् । यसैबेला भारतका मुक्केबाज विजेन्दरले आफूले जितेको उपाधि चिनियाँ प्रतिद्वन्द्वीलाई फिर्ता दिएर शान्ति र सद्भावको खोजी गरेका छन् ।