नक्कली भ्याट बिल फेरि छानबिनमा
काठमाडौं : राजस्व अनुसन्धान विभागले बजारमा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल पुनः प्रयोगमा आएको भन्दै छानबिन सुरु गरेको छ । विभागलाई प्राप्त गोप्य सूचनाका आधारमा नक्कली भ्याट बिल छानबिन प्रक्रिया अघि बढाइएको विभागका महानिर्देशक रामकृष्ण सुवेदीले जानकारी दिए । 'छानबिनबाट ठूला संस्था नक्कली भ्याट बिल प्रकरणमा पर्ने देखिएको छ', उनले भने, 'हामी यसको अत्यन्त गोप्य तरिकाबाट अनुसन्धान गरिरहेका छौं । अब ठूलो संस्थासहित धेरै कारोबारी नक्कली भ्याट बिल प्रकरणमा फस्दै छन् ।'
विभागले पटकपटक गरी विभिन्न्न व्यापारिक फर्म तथा उद्योग व्यवसायमा छापा मारेको छ । पहिलोपटक एउटा फर्मको फाइल तानिएको थियो, त्यसलाई खोतल्दै जाँदा तीनवटा फर्म छानबिनको घेरामा परे । तेस्रोपटक आठ र चौथोपटक ११ वटा उद्योगी व्यवसायी तथा फर्मको अध्ययन भइरहेको छ । कानुनअनुसार अनुसन्धान गर्ने म्याद तीन महिनाको हुन्छ । नक्कली भ्याट बिल प्रकरणमा सानादेखि ठूला कारोबारीसम्म पर्ने भएका छन् ।
'विभागको प्राथमिकता नक्कली भ्याट बिल छानबिन हो, यसबारे अध्ययन अध्ययन भइरहेको छ । जरा चारैतिर फैलिएको छ, छानबिनको क्रममा ढोकाबाट छिर्दा धेरै कोठा देखिए, हाँगाबिगा र जरा खोतल्न विभाग लागिपरेको छ', सुवेदीले भने । नक्कली भ्याट बिल प्रयोगकर्ता एकजना मात्र नभएर 'मल्टिप्लायर' भएको उनको दाबी छ । यसबारे अहिले अनुसन्धान भइरहेको छ ।
विभागका निमित्त महानिर्देशक चन्द्रकला पौडेलले नक्कली भ्याट बिलबारे राजस्व अनुसन्धानले आफूलाई अवगत गराएको बताइन् । आन्तरिक राजस्व विभागले करिब सात वर्षअघि यसरी नै नक्कली भ्याट बिलको छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याएको थियो । त्यतिबेला पाँच सय १८ करदाता नक्कली भ्याट बिल प्रकरणमा दोषी ठहरिएका थिए । उनीहरूको मुद्दा अहिले सर्वोच्च अदालत पुगेको छ । कतिपयको पुनरावलोकन भइरहेको पौडेलले बताइन् ।
त्यतिबेला मुलुकका अधिकांश ठूला व्यापारिक घरानाले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गरेको अनुसन्धानबाट फेला परेपछि सरकारले उनीहरूलाई करिब सात अर्ब रुपैयाँबराबर कर निर्धारण गरेको थियो । यो प्रकरणमा परेका अधिकांश व्यवसायीले राजस्व न्यायाधिकरणमा मुद्दा दायर गरेका थिए । राजस्व न्यायाधिकरणको पछिल्लो बेन्चले पाँच दर्जन मुद्दाको फैसला व्यवसायीको पक्षमा गर्दा सरकारले दुई अर्ब रुपैयाँ राजस्व गुमाएको थियो ।
यसरी हुन्छ भ्याट बिलबाट ठगी भ्याट अर्थात् मूल्य अभिवृद्धि कर उपभोक्ताले सामान खरिद गरेबापत सरकारलाई तिर्ने कर हो । यस्तो कर उपभोक्ताले व्यापारीमार्फत सरकारलाई तिरिरहेका हुन्छन् । अर्थात् हामीले सामान खरिद गर्दा त्यसको मूल्यसहित भ्याटबराबरको कर पनि जोडेर व्यापारीलाई तिर्छौं । व्यापारीको काम उपभोक्तासँग लिएको कर सरकारलाई बुझाउने हो । भ्याट छल्न व्यापारीले विभिन्न उपाय अपनाएका हुन्छन् ।
एउटा उपाय भ्याटमा कारोबार रकम कम देखाएर आयकर छल्नु हो । यस्तो काम प्रायः सबै व्यापारीले गर्छन् । मानौं, एक लाख रुपैयाँको सामान भन्सारमा १० हजार रुपैयाँको मूल्यांकन गरेर ल्याइन्छ । तर, त्यसको बिक्री भने एक लाख रुपैयाँमै गरिन्छ । हामीले कर एक लाख रुपैयाँको नै तिरिरहेका हुन्छौं ।
तर, ठूला करदाताको नक्कली भ्याट बिल प्रकरण त्यो स्तरको हुँदैन । उनीहरूले भ्याट बिल त नक्कली बनाए बनाए, त्यसमा पनि भ्याट तिरेको कागजातमा सरकारी अधिकारीको सही, सरकारी छाप, विवरण सबै नक्कली बनाएर पेस गरेका हुन्छन् ।