गोर्खाल्याण्ड आन्दोलन: मोर्चाका नेतामाथि धरपकड प्रयास

गोर्खाल्याण्ड आन्दोलन: मोर्चाका नेतामाथि धरपकड प्रयास

इलाम : भारतको बंगाल प्रहरीले गोर्खा जनमुक्ति मोर्चाका केन्द्रीय सदस्य दावा लामालाई आइतबार राति पक्राउको प्रयास गरेको छ । राति ११ बजे सिंहवाडीस्थित लामाको निवासमा पुगे पनि उनलाई पक्राउ गर्न प्रहरी असफल भएको मोर्चाले जनाएको छ।

मोर्चाले मंगलबार साँझ ६ बजेसम्म केन्द्र सरकारले ‘गोर्खाल्यान्ड' आन्दोलनबारे केही नबोले बुधबारदेखि कडा आन्दोलन गर्ने चेतावनी दिएको थियो। त्यसलगत्तै मोर्चाका नेताहरूलाई दबाब दिन बंगाल सरकारले विभिन्न अभियान सुरु गरेको मोर्चाकी नेत्री अनिता बस्नेतले बताइन्।

बंगाल प्रहरीले पक्राउ गर्न थालेपछि मोर्चाका नेताहरू लुकेर बस्न थालेका छन् । लामा पनि अरूकै घरमा बसेको अवस्थामा प्रहरीले छापा मारेका कारण पक्राउ पर्नबाट बचेको नेतृ बस्नेतले जानकारी दिइन्। मोर्चाको सुकुना पानीघट्टा क्षेत्रका अध्यक्ष रमेश श्रेष्ठले आफ्नो घरमा पनि प्रहरी र सीआरपीएफले खानतलासी गरेको जानकारी दिए।

मोर्चाले बंगाल सरकार दर्जनौं मुद्दा लगाएर नेताहरूलाई फसाउन लागेको आरोप लगाएको छ। मोर्चाका अध्यक्ष विमल गुरुङले गोर्खाल्यान्ड राज्य प्राप्ति अब टाढा नरहेको बुझेर ममता बनर्जी नेतृत्वको राज्य सरकार अतालिन थालेको प्रतिक्रिया दिएका छन्। मोर्चाको एक मात्र माग गोर्खाल्यान्ड प्राप्ति रहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले केन्द्र सरकारसँग पनि यसबाहेकको सर्तमा कुरा नगर्ने अडान लिएको पत्रकार सम्मेलनमा सुनाए । मोर्चाले आन्दोलनको विकल्पमा सम्झौता गर्न लागेको खबर आइरहँदा गुरुङले जनताको भावनाविरुद्ध नजाने प्रस्ट पारेका हुन्।

मोर्चाले आफ्ना नेता तथा कार्यकर्तामाथि भएको धरपकडप्रति भत्र्सना गरेको छ। सरकारले एक नेताविरुद्ध ३० भन्दा बढी मुद्दा लगाएको सुनाउँदै नेत्री नीरा शर्माले निगरानीमा राखिएका २३ भन्दा बढी नेतालाई निसाना बनाउन थालेको बताइन् । उनका अनुसार आन्दोलनका क्रममा २० भन्दा बढी पक्राउ परेका छन् ।
गत शुक्रबार प्रहरीले पूर्वसांसद नर्वुजी लामालाई सिलिगुडीबाट पक्राउ गरेको थियो । लामाविरुद्ध भानु भवनमा आक्रमणलगायत २५ मुद्दा लगाइएको छ । आन्दोलनका क्रममा दर्जनौं सरकारी भवन, प्रहरी चौकी र सार्वजनिक संरचनामा क्षति पुगेको छ। ती घटना छानबिनका लागि सरकारले सीआईडी परिचालन गरेको शर्माले सुनाइन्।

अहिलेसम्म ११ जनाले ज्यान गुमाइसकेको गोर्खाल्यान्ड आन्दोलनमा २५ भन्दा बढी घाइतेको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । १८ दिनदेखि अनशनमा बसेका १२ युवाको स्वास्थ्य अवस्था पनि गम्भीर बन्दै गएको छ । उनीहरूको मिर्गौलालगायत अंगमा समस्या देखिएको चिकित्सकले जनाएका छन्।


बाँधिएन प्रहरीलाई राखी
गोर्खा जनमुक्ति मोर्चाको नारी मोर्चाले घोषणा गरेको प्रहरीलाई राखी बाँध्ने कार्यक्रम आन्दोलनकारीमाथि धरपकड सुरु भएपछि रोकिएको छ। पहाडमा खटिएका सुरक्षाकर्मी निर्मम बन्दै गएकाले सोमबारको कार्यक्रम स्थगन गरिएको नेत्री शर्माले जानकारी दिइन्।

विधेयक आए ‘कांग्रेसको साथ'
गोर्खाल्यान्डको पक्षमा दबाब दिन दिल्ली पुगेको टोलीले सोमबार भारतीय कांग्रेस उपाध्यक्ष राहुल गान्धीलाई भेटेर आफ्ना कुरा उठाउन आग्रह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गान्धीले गोर्खाल्यान्डसम्बन्धी विधेयक सदनमा आए कांग्रेसले समर्थन गर्ने जवाफ दिएको जनाइएको छ। गोर्खाल्यान्ड संयुक्त संघर्ष समितिले सोमबार नै ४५६ सांसदलाई गोर्खाल्यान्ड माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । समितिले ५४५ सांसदलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.