बीओकेको बृहत सचेतनामूलक कार्यक्रम
काठमाडौं: टीकापुर नगरपालिकाको समन्वय तथा बैंक अफ काठमाडौं लिमिटेडको आयोजनामा सोमबार टीकापुरमा बृहत सचेतनामूलक सरसफाइ कार्यक्रम आयोजना भएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सरसफाइ अभियानका लागि चर्चित कलाकार एवम् नेपाल सरकारका सरसफाइ दूत सीताराम कट्टेल ‘धुर्मुस' को उपस्थितिमा टीकापुरमा सरसफाइ कार्यक्रम आयोजना गरेको हो।
नेपालका पाँच सहरमा गरिने उक्त अभियान प्रदेश नं. ७ को कैलालीबाट सुरु भएको छ। सरसफाइ अभियान आइतबार कैलालीको अत्तरिया र सोमबार टीकापुरमा सञ्चालन भएको थियो। यसपछि क्रमशः कोहलपुर, तुलसीपुर र बर्दघाटमा पुगेर समापन हुने जनाइएको छ।
सरसफाइ कार्यमा सहभागी हुँदै विकास निर्माणको अभियन्ताका रूपमा रहेको धुर्मुसु-सुन्तली फाउन्डेसनका प्रमुख सीताराम कट्टेल ‘धुर्मुस' ले सरसफाइ अभियानको उद्देश्य मानिसलाई घरभित्रैदेखि सरसफाइ कार्यमा लाग्न उत्प्रेरित गर्ने बताए। उनले सफा दिमागबाट सकारात्मक सोच आउने र सकारात्मक सोचले सबै क्षेत्र सफा राख्न सकिने भन्दै दिमागबाट नै सरसफाइका लागि अभियान सुरु हुनुपर्ने बताए।
उक्त अवसरमा नेपालमा पाँच अर्बको नमुना नेपाल परियोजना सञ्चालन गर्न लागिएकोमा कट्टेलले यसका लागि सम्पूर्ण नेपालीको साथ रहने विश्वास व्यक्त गरे। नमुना नेपाल परियोजना ७ नं प्रदेशबाटै सुरु हुने उनले उल्लेख गरे। कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले सरसफाइ अभियान टीकापुरमा नया“ ढंगले सुरु भएको र यसलाई निरन्तरता दिन समग्र नगरबासीको सहयोग चाहिने बताए।
नगर सफा राख्न घर आ“गन सफा राख्नुपर्ने भन्दै रावलले स्थानीयसँगको हातेमालोले मात्र सरसफाइ अभियान सफल हुने भएकाले नगरपालिकाले नेतृत्व गर्ने सरसफाइ अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरे। सरसफाइ अभियानमा टीकापुर क्षेत्रका विभिन्न संघसंस्था, नागरिक समाज, व्यापारी, बुद्धिजीवी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो। सरकारले नेपाललाई पूर्ण स्वच्छ देश बनाउन चरणबद्ध रूपमा विभिन्न कार्यक्रम गर्दै आएको छ।