निःशुल्क खाजामा विद्यार्थी आकर्षित

निःशुल्क खाजामा विद्यार्थी आकर्षित

सेपुखोला (जाजरकोट) : पढ्नको लागि स्कुल जान मन नगर्ने सक्ला सेपुखोलाकी जयन्ता विश्वकर्मालाई अचेल घरभन्दा विद्यालय प्यारो लाग्न थालेको छ । गत वैशाखमा विश्व आधारभूत विद्यालय सेपुखोलामा बालकक्षामा भर्ना भएकी उनलाई दिउँसो हापछुट्टीको समयमा दिवा खाजा खान पाइने भएपछि घरभन्दा विद्यालय प्यारो लागेको हो ।

सोही विद्यालयमा ४ कक्षामा अध्ययनरत सरस्वती नेपाली पनि विद्यालयमा हलुवा खान पाएर मक्ख छिन् । उनी गत वर्ष अर्को विद्यालयमा अध्ययनरत थिइन् जहाँ यो दिवा खाजा कार्यक्रम लागू भएको थिए । त्यहाँ सरस्वतीले राम्रोसँग नपढेपछि अभिभावकले विश्व आधारभूत विद्यालयमा भर्ना गरिदिएका हुन् । अहिले उनी नियमित विद्यालय बस्न थालेकी छन् । भन्छिन्, 'दिउँसो खाजा नपाउँदा कस्तो भोक लाग्थ्यो । आफूसँग पैसा पनि हुँदैनथ्यो । विद्यालयमा बस्नै मन लाग्दैन्यो तर अहिले हापछुट्टीको बेला स्कुलमा हलुवा खान पाइन्छ । अचेल भोकका कारण स्कुल छोड्नु पर्दैन ।'

विद्यालयमा पढाइका साथै अन्य रमाइला क्रियाकलाप हुने र हलुवा पनि खान पाइने भएकोले जयन्ता र सरस्वतीजस्तै धेरै विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् । १ नबज्दै भाग्ने (कक्षा छोड्ने) विद्यार्थी पनि दिवा खाजाको व्यवस्था भएपछि पूरै समय विद्यालयमै बस्ने गरेको प्रधानाध्यापक धनबहादुर शाही बताउँछन् । 'विद्यार्थीलाई दिवा खाजाको व्यवस्था भए पनि विद्यालयमा उपस्थिति दर बढेको र कक्षा छोड्ने दरमा निकै कमी आएको छ' प्रधानाध्यापक शाहीले भने 'यो कार्यक्रमले कुपोषण घटाउन र पढाइप्रति आकर्षण बनाउन निकै टेवा पुगेको छ ।'

बाल कक्षादेखि ८ कक्षासम्म सञ्चालनमा रहेका सो विद्यालयमा करिब दुई सय विद्यार्थी अध्ययनरत छन् । दिउँसो नास्ता खाने समयमा पौष्टिक आहार (दिवा खाजा) दिने गरिएको छ । 'खाजा कार्यक्रमले भोककै कारण विद्यालय छोड्नुपर्ने बाध्यता विद्यार्थीलाई हटेको छ भने खाजा खाने पैसासमेत बचत भएको छ' स्थानीय अभिभावक अमर सिंहले भने, 'यो कार्यक्रम गरिबीले गर्दा कुपोषित हुन थालेका दुर्गमका विद्यार्थीको लागि निकै प्रभावकारी भएको छ ।'

खाजा कार्यक्रमले भोककै कारण विद्यालय छोड्नुपर्ने बाध्यता विद्यार्थीलाई हटेको छ । खाजा खाने पैसासमेत बचत भएको छ । यो कार्यक्रम गरिबीले गर्दा कुपोषित भएका दुर्गमका विद्यार्थीको लागि निकै प्रभावकारी भएको छ ।

शिक्षाका लागि खाद्य कार्यक्रमका अनुसार जाजरकोटका त्रिवेणी नलगाड नगरपालिका रग्दा, भगवती, लहँ, र डाँडागाउँ, बारेकोट गाउँपालिकाका सक्ला, रामीडाँडा, रोकायगाउँ र नायकवाडा कुशे गाउँपालिकाका पैक, अर्छानी, टालेगाउँ र पजारु तथा जुनीचाँदे गाउँपालिकाका गर्खाकोट, मजकोट, दह र कोर्ताङका दुई सय ३१ विद्यालयमा शिक्षाका यस्तो कार्यक्रम लागू गरिएको छ ।

प्रतिविद्यार्थी प्रतिदिन ९० ग्राम पिठो, १० ग्राम चिनी र १० ग्राम तेल दिने गरिएको छ । यो कार्यक्रमबाट जाजरकोटका ३४ हजार विद्यार्थी लाभान्वित छन् । २०५७ सालदेखि मध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्ला सञ्चालनमा ल्याइएको यो कार्यक्रम हाल जाजरकोट, रुकुम, दैलेख, दार्चुला, बैतडी, अछाम, डँडेलधुरा, बझाङ, बाजुरा र डोटी जिल्लामा लागू गरिएको छ ।

खाद्यान्न अभाव र शिक्षाको पहुँचमा अति न्यून देखिएका जिल्लाका विद्यार्थीलाई आधारभूत शिक्षाको पहुँचमा वृद्धि गर्ने र विद्यार्थी पोषण र स्वास्थ्य स्थितिमा सुधार ल्याउने यो कार्यक्रमको दीर्घकालीन लक्ष्य छ । विद्यार्थीको भर्ना दरमा वृद्धि गर्ने, विद्यालयमा विद्यार्थीको उपस्थिति दर बढाउने, कक्षा छोड्ने दर घटाउने, अध्ययन क्षमतामा वृद्धि गर्ने, लैंगिक समानता कायम गर्ने अपेक्षा रहेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए ।

 




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.