निजी विद्यालयका विद्यार्थीले फड्को मार्दै धम्बोजी
नेपालगन्ज : डेढ दशक अघिसम्म नेपालगन्जको धम्बोजी माध्यमिक विद्यालय अपराधी लुक्ने ठाउँको रूपमा परिचित थियो । लागूपदार्थको दुव्र्यसनीको अखडा थियो । त्यतिखेरका धेरै पुराना विद्यार्थी अहिले पनि जेलमा छन्, कतिपय फरार छन् । एकातिर निजी विद्यालयप्रतिको अभिभावकको आकर्षण अर्कोतर्फ विद्यालयको दुर्गति, यस्ता थुप्रै समस्याका कारण यस विद्यालयमा दुई सय ५० जना मात्रै विद्यार्थी अध्ययनरत थिए त्यतिखेर ।
करिब एक दशकको अवधिमा विद्यालयको मुहार परिवर्तन भएको छ, अर्थात् सामुदायिक विद्यालयले पनि चाहेमा गर्न सक्छन् भन्ने उदाहरण धम्बोजीले प्रस्तुत गरेको छ । यस अभियानमा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक सबैले साथमा साथ दिइरहेका छन् । तर, यस सुधार अभियानको नेतृत्व लिएकी थिइन्, विद्यालय बिग्रँदै गर्दा ०६१ सालमा प्रधानाध्यापक भएर आएकी किरण आचार्यले । उनकै अभियानका कारण विद्यालयको मुहार विस्तारै फेरिन थालेको छ ।
यसरी सुध्रियो विद्यालय
एक दशकसम्म विद्यालयमा विद्यार्थी कम त थिए नै, उनीहरू नियमित विद्यालयसमेत आउँदैनथे । आएका विद्यार्र्थीसमेत पूरा दिन नपढी घर जान्थे । यस्तो समस्या बढ्दै गएपछि विद्यालयले एक दिन विद्यालय नआउने विद्यार्थीले पाँच रुपैयाँ जरिवाना तिर्नुपर्ने नियम बनायो । अति आवश्यक भएमा निवेदन लेख्नुपर्ने वा अभिभावकले आएर विद्यालयमा भन्नुपर्ने नियम बन्यो । प्रअ आचार्य भन्छिन्, 'जरिवाना तोकेपछि विद्यार्थी नियमित आउन थाले, घरमा काम हुँदा पनि जानकारी गराउन थाले ।'
विद्यार्थीलाई गृहकार्य मात्र दिने भन्दा पनि विद्यालयमा क्लास वर्क दिने व्यवस्था गर्यो । आचार्यका अनुसार कक्षा १ देखि ३ सम्म एक घन्टी पढाउने, त्यही विषय अर्को घन्टी कक्षा कार्य (क्लास वर्क) गराउने व्यवस्था छ । 'उदाहरणका लागि पहिलो अंग्रेजी घन्टी पढाइ भयो भने दोस्रो घन्टी अंग्रेजीकै गृहकार्य दिइन्छ', आचार्य भन्छिन्, 'होमवर्कभन्दा क्लास वर्कलाई प्राथमिकता दिनुपर्छ । विद्यालयमा धेरै विषय पढाउनभन्दा थोरै विषय राम्रोसँग पठाउन व्यवस्था गर्नुपर्छ ।'
विद्यार्थी घट्दै गएपछि विद्यालयले एक दिन विद्यालय नआउने विद्यार्थीले पाँच रुपैयाँ जरिवाना तिर्नुपर्ने नियम बनायो । अति आवश्यक भएमा निवेदन लेख्नुपर्ने वा अभिभावकले आएर विद्यालयमा भन्नुपर्ने नियम बन्यो । जरिवाना तोकेपछि विद्यार्थी नियमित आउन थाले र घरमा काम हुँदा पनि जानकारी गराउन थाले ।
विद्यालयले कक्षा ६ देखि १२ सम्मकै साधारण धारका विद्यार्थीलाई कम्प्युटर विषय पढाउने गरेको छ । कक्षा ६ देखि १२ सम्म एक विद्यार्थी एक कम्प्युटरमार्फत अभ्यास गराइएको छ । शिक्षकले कक्षाकोठामा इमानदारिताका साथ पठनपाठन गराएमा स्वतः गुणस्तर वृद्धि हुने विद्यालयको निष्कर्ष छ।
विद्यालयले कक्षा ९ देखि १२ सम्म शिक्षा, स्वास्थ्यजस्ता सामान्य विषयभन्दा गणित, लेखा, कम्प्युटरजस्ता ऐच्छिक विषयको पढाइलाई प्राथमिकतामा राखेको छ । 'निजी स्रोतमा शिक्षक राखेर भए पनि एकाउन्ट, ऐच्छिक गणित र कम्प्युटर साइन्सलाई प्राथमिकता दिएका छौं', आचार्यले भनिन् । विद्यालयले छिट्टै अनलाइन कोर्सहरूसमेत सिकाउने तयारी गरिरहेको छ ।
धेरैजसो सामुदायिक विद्यालयले आफ्नो लोकप्रियताको मुख्य कारणमा अंग्रेजी माध्यमबाट हुने पढाइलाई मान्ने गरेको छ । तर, धम्बोजी यस मान्यताभन्दा फरक छ । सामुदायिक विद्यालय निम्न वर्गका विद्यार्थी पठनपाठन गर्ने विद्यालय भएकाले अंग्रेजी माध्यमलाई अनिवार्य गर्नु जरुरी नरहेको विद्यालयको विश्लेषण छ । 'अंग्रेजी अनिवार्य नगर्दा पनि हाम्रा विद्यार्थी बोर्डिङका भन्दा कमजोर छैनन्', आचार्य दाबी गर्छिन् । विद्यालयले १० वर्षको अवधिमा चारजना चिकित्सक उत्पादन गरिसकेको छ, इन्जिनियरिङ विषय एक दर्जनभन्दा बढीले पढिरहेका छन् ।
२०५८ र २०५९ सालको एसएलसीमा धम्बोजी माविबाट एकजना पनि विद्यार्थी उत्तीर्ण भएका थिएनन् । २०६० सालमा समेत दुईजना मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए । त्यतिखेर विद्यालय अपराध लुक्ने ठाउँका रूपमा परिचित थियो । प्रअ आचार्यका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर चन्द र शिक्षकहरूको अथक् प्रयासले विद्यालयले अहिले संस्थागत विद्यालयहरूलाई पछाडि पारेको छ । धम्बोजी माविमा मर्यादित र व्यवस्थित परीक्षा सञ्चालन हुने गरेका कारण निजी विद्यालय सञ्चालकहरू आफ्नो विद्यार्थीको परीक्षा केन्द्र धम्बोजीमा नपरिदियोस् भन्ने कामना गर्छन् ।
विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएका कारण निजी विद्यालयहरूबाट धमाधम विद्यार्थी आउन थालेका छन् । 'आधाजति विद्यार्थी त बोर्डिङ छोडेर आएका छन्', आचार्य भन्छिन्, 'वरिपरिका बोर्डिङ सञ्चालकसमेत हामीसँग रिसाएका छन् । अभिभावकहरू शुल्क नै नतिरी बोर्डिङमा भन्दा राम्रो पढाइ हुन्छ भनेर हाम्रोमा विद्यार्थी लिएर आउँछन् ।' पछिल्ला वर्षमा दुईतीन सय विद्यालय संस्थागत विद्यालयबाट विद्यार्थी आइरहेका छन् । विद्यालयमा कर्णालीका पाँचवटै जिल्ला, दैलेख, जाजरकोट, सुर्खेत, रुकुमका समेत विद्यार्थी अध्ययनरत छन् ।
समस्या पनि छन्
राज्यले छनोट गर्न लागेको नमुना विद्यालयका लागि सबै मापदण्ड पूरा गरे पनि जग्गा अभावमा छनोटमा पर्न नसकेको विद्यालयको तीतो अनुभव छ । व्यवस्थापन समितिको पहलमा भारतीय दूतावासबाट उपलब्ध दुई करोड ३६ लाख रुपैयाँबाट विद्यालयको सुविधासम्पन्न भवन बनेको छ । विद्यालयमा ३३ वटा फराकिला कक्षाकोठा छन् तर विद्यार्थी चाप अत्यधिक रहेकाले अझै १० वटा कोठा अपुग रहेको विद्यालयको भनाइ छ ।
कक्षाकोठाको अभावमा एकै कक्षामा ७०/८० जनाभन्दा बढी विद्यार्थी राखेर पढाउनु परेको छ । विद्यालयमा जग्गा कम भएका कारणले खेलमैदानको अभाव छ । १० कट्ठा जग्गामात्रै धम्बोजी माविको स्वामित्वमा छ । 'आधाभन्दा बढी जग्गामा भवनहरू नै छन्, ग्राउन्डमा त प्रार्थना गर्न पनि विद्यार्थी अटाउँदैनन्', प्रअले भनिन् ।
कक्षा १२ सम्म सञ्चालित सो विद्यालयमा करिब एक हजार नौ सय विद्यार्थी अध्ययरत छन् । बालविकासदेखि कक्षा १० सम्म एक हजार दुई सय ७८ विद्यार्थी अध्ययरत छन् । कक्षा ११ र १२ मा विज्ञान, मानविकी, शिक्षा र व्यवस्थापन चारवटै समूहको पढाइ हुन्छ । हरेक वर्ष सबै कक्षामा विद्यार्थी आकर्षण बढिरहेको छ । कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फ कम्प्युटर विषयमा ओभरसियरको पठनपाठन हुने गरेको छ । विद्यार्थीको चापका कारण विद्यालयमा चार सिफ्टमा पठनपाठन हुने गरेको प्रअ आचार्य बताउँछिन् ।
विद्यालयमा बिहानी सत्रमा पौने ७ बजेदेखि साढे १० बजेसम्म कक्षा ११ र १२ को पठनपाठन हुन्छ भने पौने ७ बजेबाट दिउँसो १ बजेसम्म कक्षा ९ र १० को पठनपाठन हुन्छ । ९ बजेदेखि साढे २ सम्म प्राविधिक धार र साढे १० बजेदेखि साढे ४ बजेसम्म बालविकासदेखि कक्षा ८ सम्म (आधारभूत तह)को पढाइ हुने गरेको छ ।
विद्यालयमा ४८ जना शिक्षक कार्यरत छन् । मावि तहमा चार, निमाविमा चार, प्राविमा ६, प्राविधिकतर्फ ६, प्लस २ मा ६, बालविकासमा दुई शिक्षक कार्यरत छन् । निजी स्रोतमा नौजना शिक्षक राखिएको छ । ११ जना आंशिक शिक्षकले धम्बोजीमा अध्यापन गराइरहेका छन् । कुशल व्यवस्थापकका रूपमा परिचित प्रधानाध्यापक आचार्यको मेहनत र परि श्रमका कारण विद्यार्थी र अभिभावकको आकर्षण बनेको छ धम्बोजी मावि ।