सप्तकोसीमा बहाव उच्च, रातो बत्ती बालियो
धरान: पूर्वीपहाडी जिल्लामा सोमबारदेखि सुरु भएको वर्षा नरोकिएपछि सप्तकोसी नदीको बहाव उच्च भएको छ। बहाव बढेपछि कोसी ब्यारेजमा रातो बत्ती बालिएको छ।
बहाव उच्च भएकाले कोसी ब्यारेजमा खतराको संकेतस्वरूप रात्तो बत्ती बालिएको सुनसरीका निमित्त प्रहरी प्रमुख डीएसपी प्रवीण धितालले बताए। मंगलबार सप्तकोसीको बहाव प्रतिसेकेन्ड एक लाख ९२ हजार ३ सय क्युसेक पुगेको धितालले जानकारी दिए।
कोसी ब्यारेजका ५६ मध्ये २५ वटा ढोका खोलिएका छन् । सोमबार राति सप्तकोसीको बहाव प्रतिसेकेन्ड २ लाख ११ हजार ५ सय ६० पुगेको थियो।
सप्तकोसीमा बहाव बढेपछि कोसी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन सचेत गराइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताए। सामान्यतया सप्तकोसीमा प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक बहाव नाघेपछि खतराको संकेत मानिन्छ।
भारत सरकारको नियन्त्रणमा रहेको कोसी ब्यारेजमा भारतले आफूअनुकूल मात्र ढोका खोल्ने गरेका कारण सुनसरीको मधुवन, प्रकाशपुर, पश्चिम कुसाहा, महेन्द्रनगरलगायत क्षेत्रमा सप्तकोसीले कटान सुरु गरेको स्थानीय दुर्योधन घिमिरेले जानकारी दिए। बहाव बढेकाले ब्यारेजका सबै ढोका खोल्न स्थानीयले माग गरेका छन्।