मेलम्ची खानेपानी आयोजनामा सहायक ठेकेदारकै अवरोध
काठमाडौं (अन्नपूर्ण): मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको इटालेली कम्पनी सीएमसीको सहायक ठेकेदार, निर्माण व्यवसायी, सामान आपूर्तिकर्ता र स्थानीय कामदार सम्झौताअनुसार काम नपाएको भन्दै आन्दोलित भएका छन्। उनीहरूले कामै रोकेर शुक्रबारदेखि सीएमसीको मेलम्ची कार्यालय बन्द गरेका हुन्।
सबै सेवाग्राहीलाई मर्का परेको भन्दै उनीहरूले भुक्तानीको जिम्मेवारी ठेकेदारकै हुने बताएका छन्। सीएमसीले राष्ट्रिय गौरवको आयोजनाका नाममा ‘कमाइखाने भाँडो बनाएको र केही सीमित नेपालीको मिलेमतोमा लुट मचाइरहे पनि सरकारसमेत मुकदर्शक बनेको' उनीहरूको दाबी छ।
'मेलम्चीको पानी आइहाल्छ' भन्दै पटक-पटक मिति सारेको उनीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। ‘छिटो पानी ल्याउने निहुँमा थप प्रविधि र मेसिनरीका लागि ५०-५० करोड निकासा कहिलेसम्म कतिपटक गरिरहने ?' विज्ञप्तिमा लेखिएको छ।
सीएमसीले नेपालीको करोडौं भुक्तानी नगर्नुका साथै निर्माण सामग्रीको भाडासमेत नतिरी काम गरेकाले आन्दोलनमा उत्रिनुपरेको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले माग पूरा नभए मंगलबारदेखि मेलम्ची बोर्ड, एडीबी, कन्सल्ट्यान्ट र खानेपानी मन्त्रालयमा धर्ना दिने बताएका थिए।
सुरुङ निर्माण गर्दा प्रयोग हुने केमिकल, स्टिल फाइबर, एक्सप्लोसिभलगायत हानिकारक वस्तु सिधै खोलामा हाल्ने गरेको र त्यसले पर्यावरण, कृषि र जनस्वास्थ्यमा असर पुर्याएको विज्ञप्तिमा उल्लेख छ।
खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायले दुई पक्षबीच के सम्झौता भएको थियो र अहिलेको मारमा परेको हो भन्नेमा आफूले यसै भन्न नसक्ने प्रतिक्रिया दिएका छन्।
'सर्त के थियो भन्ने थाहा छैन, सरकारी कर्मचारीलाई साक्षी बनाएका थिएनन् तर समस्या नै भए कानुनी लडाइँ लड्न सकिन्छ', सचिव उपाध्यायले भने, 'होइन भने सीएमसीले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाले सरकारले म्याद थप र हर्जनासमेत तिर्नुपर्ने हुन्छ। यस्तो भए दसैंमा आउने भनेको मेलम्ची अझै महिनौं ढिलो हुन सक्छ।'