उच्च सतर्कता आवश्यक
कडा प्रकृतिका रुघाखोकीका बिरामी बढ्ने र तीमध्ये कतिपयको ज्यानै जान थालेपछि आम मानिस त्रसित भएका छन् । धेरैले यो 'कडा रुघाखोकी' लाई 'स्वाइन फ्लु' भनेर बुझेका कारण मानिसहरू भयभीत भएको पाइन्छ । केही वर्षदेखि बेलाबेलामा 'स्वाइन फ्लु' आतंक दोहोरिँदै गएको छ । सरकारले आम नागरिकलाई यसबारे उचित जानकारी दिँदै समयमै सचेत गराउनु आवश्यक छ । नागरिकले पनि यस रोगबारे भ्रमित नहुने तर जानकारी प्राप्त गर्ने र त्यसै अनुरुप सतर्कता अपनाउन जरुरी छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, 'कडा रुघाखोकी' का कारण तीनजनाको मृत्यु भएको छ । तर यस वर्ष कडा रुघाखोकीबाट १० जनाले ज्यान गुमाइसकेका छन् भने तीन सय ५६ जना बिरामी परेका छन् । पाल्पा, स्याङ्जा, पोखरा, बुटवल र झापामा यो समस्या बढी देखिएको छ । विभागले यसमा थप अनुसन्धान गरिरहेको बताएको छ र तीनजनाको मृत्युलाई मात्रै कडा रुघाखोकी सर्ने भाइरसका कारण भएको पुष्टि गरेको छ । यस सन्दर्भमा आम नागरिकले आतंकित हुन जरुरी छैन । तर यो रोगबारे बुझ्नु र त्यसैअनुसार रोकथामका उपाय अवलम्बन गर्नु आवश्यक छ ।
'स्वाइन फ्लु' सन् २००९ मा मेक्सिकोको एउटा सुँगुर फर्ममा देखिएको थियो र सुँगुरबाट मान्छेलाई सरेका कारण यस रोगको नाम 'स्वाइन फ्लु' रह्यो । पछि मान्छेबाटै मान्छेलाई सर्न थालेपछि विश्व स्वास्थ्य संगठनले 'स्वाइन फ्लु' को उक्त भाइरसलाई 'एच १ एन १ पेन्डेमिक ०९' नामकरण ग¥यो । अहिले बिरामी बढेको कडा प्रकृतिको रुघाखोकीको हो, स्वाइन फ्लुका कारण होइन । पशु स्वास्थ्य निर्देशनालयले त यो रोग नेपालमा सुँगुरबाट सरेको नपाइएकाले स्वाइन फ्लु भन्न नमिल्ने दाबी गरिसकेको छ । त्यसकारण स्वाइन फ्लुका त्रासमा रहनु जरुरी छैन तर कडा रुघाखोकीबाट बच्न उच्च सतर्कता आवश्यक छ ।
यो रोगको भाइरसबाट जो कोही प्रभावित हुनसक्छ । रोग प्रतिरोधात्मक क्षमता बढी भएका मानिसलाई सामान्य औषधोपचारले ठीक हुन सक्छ भने रुघाखोकीसँगै अन्य स्वास्थ्य समस्या भएका मानिस, जस्तो, मिर्गौला, क्यान्सर, मुटु, फोक्सोको समस्या, मधुमेह, थाइराइड र एचआईभी संक्रमण आदि देखिएका बिरामीमा चाँडो सर्ने र त्यस्ता समस्या भएका बिरामी यसबाट अझ बढी प्रभावित हुन सक्छन् । अत्यधिक मदिरा सेवन गर्ने, धूमपान गर्ने व्यक्ति, बालबालिका, गर्भवती महिलालगायत पनि यो रोगको जोखिममा बढी पर्न सक्छन् । यो रोगका केही लक्षण देखिन्छन् ।
जस्तो रुघाखोकी लाग्नु, भोक नलाग्नु, शिथिलता बढ्नु, ज्वरो आउनु, टाउको, घा“टी दुख्नु, वाकवाकी लाग्नु आदि । यस रोगबाट बच्न आम नागरिकले सचेत र उच्च सतर्कता अपनाउन आवश्यक छ । सरुवा रोग भएकाले संक्रमितको सम्पर्कबाट बच्ने, सफा रहने, मास्कको प्रयोग गर्ने, खोक्दा वा हा“च्छिउँ गर्दा रुमालले मुख छोप्ने, सावुनपानीले हात धुने यी नियमित सरसफाइ र रोकथामकै उपायलाई दैनिकीमा अवलम्बन गर्नुपर्छ । हरेक नागरिकको स्वास्थ्य रहने अधिकारको सुनिश्चित गर्न सरकारले पनि रोगबारे नागरिकलाई सचेत र सतर्क गराउन सक्रिय भूमिका खेल्नुपर्छ ।