पाइलटको चरम अभाव
काठमाडौं : जहाज र हेलिकोप्टर उडानका लागि पाइलटको चरम अभाव भएको छ । नेपालमा सरकारी र निजीक्षेत्रले धमाधम जहाज थपिरहेका कारण पाइलट अभाव भएको हो ।जहाज संख्याको तुलनामा पाइलट उत्पादन ज्यादै कम छ । जहाजको तुलनामा पाइलट उत्पादन अत्यन्त कम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको पाइलट लाइसेन्स विभाग प्रमुख राजु श्रेष्ठले जानकारी दिए । नेपालमा पाइलट उत्पादन नहुने भएकाले विदेशबाटै तालिम लिएर आउनुपर्छ । हाल नियमित उडानका पंखाजडित जहाज (फिक्स विङ्स)लाई क्याप्टेन र चार्टर उडान गर्ने हेलिकोप्टरलाई सीपीए अभाव हुन थालेको छ ।
पाइलट अभावका कारण निजी वायुसेवालाई जहाज उडाउन समस्या भएको वायुसेवा सञ्चालक संघका सचिव राजु न्यौपानेले जानकारी दिए । विदेशबाट कम्तीमा दुई सय घन्टा तालिम लिएर आउने सीपीएल पाइलट पछिल्लो २/३ वर्षयता न्यून संख्यामा मात्रै छन् । दुई वर्षअघिसम्म विदेशबाट दुई सय घन्टाको तालिम लिएर आएका कमर्सियल पाइलट लाइसेन्स (सीपीएल)हुनेसमेत बेरोजगार थिए ।
पछिल्लो समय सरकारी र निजी दुवैले कम्पनीले जहाज थपेका कारण पुराना सबै चालक खपत भएका छन् । नयाँको उत्पादन नहुँदा एउटा कम्पनीबाट अर्कोमा तानातान हुन थालेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपालमा पाइलट नपाउने समस्या भएकाले अन्तर्राष्ट्रिय पाइलट प्रशिक्षण केन्द्रमा सीधै सम्पर्क गर्नुपर्ने अवस्था छ ।
नेपाल वायुसेवा निगमका अपरेसन विभाग प्रमुख क्याप्टेन सुवास रिजालले सरकारी र निजी दुवैतर्फका जहाज उडान गर्न पाइलट अभाव भएको बताए । यो नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रियस्तरकै समस्या भएको रिजालको भनाइ छ । पाइलटसँगै इन्जिनियर र अन्य प्राविधिक जनशक्ति पनि नेपाली वायुसेवाका लागि अभाव छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार हाल सीपीएल लाइसेन्स लिनेको संख्या पाँच सय छ । यीमध्ये प्राधिकरणमा इजाजतपत्र नवीकरण गराएका मान्यता प्राप्तको संख्या भने एक सय ३५ जना मात्रै छ ।
हाल नेपालमा एरोप्लेन (एटीपीएल) पाइलट तीन सय १७ मध्ये एक सय ७४ जना, ३२ जना हेलिकोप्टरका एटीपीएल पाइलटमध्ये १३ जनाले मात्रै मान्यता प्राप्त गरेका छन् । हेलिकोप्टर कमर्सियलका ७९ जनामध्ये ३४ पाइलट मात्रै मान्यताप्राप्त छन् । प्राधिकरणबाट दुई सय २६ जनाले भ्यालिडिएसन सटिर्फिकेट लिएकामा ३८ जनाले मात्रै नवीकरण गराएको प्राधिकरणले जानकारी दिएको छ ।
निजीमा तानातान, सरकारीमा समस्या
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडानका पाइलटलाई निजीले तानातान गर्दा समस्या चर्किएको छ ।निजीले सुविधा र तलब धेरै दिएका कारण पाइलट त्यतै आकर्षित भएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । आन्तरिक उडानको चिनियाँ जहाजमा नेपाली पाइलट तयार नभएको र विदेशी पनि नपाउँदा वाई १२ नामको जहाज उडाउने पाइलट अभाव भएको उनको भनाइ छ ।
निगमले वाई १२ उडाउने प्रशिक्षक पाइलट नपाएकै कारण मासिक १८ देखि १९ हजार डलर दिएर टोंगाको पेनेटालाई राखेको थियो । उनी पनि ६५ वर्षे उमेर हदका कारण अवकाश पाएर दुई साताअघि नै फिर्ता गएका छन् । नयाँ पाइलट नपाएकै कारण निगमले अमेरिकी डीभी होल्डर आङनुरीलाई प्रशिक्षक पाइलटका रूपमा राखिरहेको छ । निगमले थप प्रशिक्षक उत्पादन नगर्दासम्म समस्या रहिरहने उनको भनाइ छ ।
नेपालमा मात्रै नभएर पाइलट अभाव संसारभरि नै रहेको कंसाकारले बताए । चीन, भारत, भियतनामले पनि पाइलट नपाएकै कारण ४० देखि ८० प्रतिशतसम्म विदेशी लिने गरेका छन् । नेपालमा पनि नयाँ आउने वाइडबडीसँग ९० प्रतिशत विदेशी पाइलट हुने कंसाकारले जानकारी दिए । हाल उडानमा रहको न्यारोबडीमा पनि नेपाली पाइलटले नपुगेका कारण चारजना विदेशी ल्याउने तयारी भइरहेको छ ।
नेपालमा सरकारी र निजीक्षेत्रले धमाधम जहाज थपिरहेका कारण पाइलट अभाव भएको हो । जहाज संख्याको तुलनामा पाइलट उत्पादन ज्यादै कम छ ।
वायुसेवा कम्पनीलाई एउटा कोपाइलट तयार गर्न कम्तीमा दुईदेखि चार वर्ष लाग्छ । भएका पाइलटले पनि हवाई उड्डयनको नियमअनुसार दैनिक ९ घन्टा वा १० ल्यान्डिङभन्दा बढी उडान गर्न पाइँदैन । यसले गर्दा पनि हरेक वायुयानलाई सिजनमा दुई सेट पाइलट चाहिन्छ । पाइलटको माग बढेको र नयाँ नआएकाले क्याप्टेन पाइलट सबैभन्दा बढी अभाव हुने वायुसेवा निगमका रिजाल बताउँछन् ।
रोजगारी सुनिश्चित गरेर पाइलट तालिम
वायुसेवा सञ्चालकम संघले आफै रोजगारीको ग्यारेन्टी गरेर पाइलट तालिम दिने घोषणा गरेको छ । संघका सचिव राजु न्योपानेले हेलिकोप्टरमा देखिएको पाइलट अभावकै कारण १० जना पाइलटलाई रोजगारीको सुनिश्चितता गरेर तालिममा पठाउन लागिएको बताए । संघले सार्वजनिक सूचनामार्फत नै तालिमपछि रोजगारीको ग्यारेन्टी गरेको हो । संघले चारवटा हेलिकोप्टर कम्पनीका लागि १० जना पाइलटको आवेदन नै मागेको छ । संघले पाइलट अध्ययन गर्न इच्छुक नेपाली नागरिकलाई निजी खर्चमा तालिम लिएर आउनुपर्ने, आएपछि वायुसेवा कम्पनीबाट लिनुपर्ने तालिम निःशुल्क गर्ने र उल्टै रोजगारी दिएर पाइलट बनाउने पनि बताए ।
संघले प्राधिकरणले अनुमति स्वीकृति दिएको संस्थाबाट तालिम लिनुपर्ने, विदेशमा गएर लिनुपर्ने १५० घन्टाको तालिम खर्च आफैंले बेहोनुपर्ने सर्त राखेर १० जनाका लागि आवेदन मागेको हो । विदेशमा लिने करिब ५० देखि ६० लाख खर्च गरेर तालिम लिएपछि नेपालमा पनि टाइपको टे«निङसहितमा सोही रकम खर्च हुने गर्छ ।
पाइलट अभावले उडान बन्द
पाइलट अभावकै कारण गोमा एयर (समिट)ले ६ महिनादेखि सिंगल इन्जिनका दुईवटा जहाजको उडान बन्द गरेको छ । पाइलट नपाउँदा उडान बन्द गरिएको गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले जानकारी दिए । पाइलट अभावकै कारण गोमाले सिंगल इन्जिनकालाई मल्टी इन्जिनमा अपग्रेड गराएको थियो । भएका पाइलटले छोड्ने, नयाँ नआउने र सिंगलबाट मल्टीमा गएकैले पनि यो वायुसेवाका दुईवटा जहाज उडाउन नसकिएको कार्कीको भनाइ छ । ५/६ महिना अगाडिसम्म गोमाको सिंगल इन्जिनको वायुसेवामा ६ जना पाइलट थिए ।
यसमध्ये दुईजनालाई मल्टी इन्जिनमा तानेको, दुईजना हिमालय एयरलाइन्स गएको, एकजना विदेशी वायुसेवामा गएको र एकजनाले डीभी परेर छाडेकाले सिंगल इन्जिन एकैपटक ठप्पै भएको कार्कीले बताए ।