सञ्चालनमा आयो 'चितवन बनाना क्याफे'
भरतपुर : चितवनलाई केराको हब मानिन्छ । तर केराको परिकारका लागि भने महोत्सव कुर्नुपथ्र्यो । महोत्सवमा सबैभन्दा बढी भीड पनि केरोकै परिकारमा हुन्थे । केरोको पारखी भए पनि परिकार कहीँ नपाएपछि त्यसको पूर्ति गर्न 'चितवन बनाना क्याफे' सञ्चालनमा ल्याइएको छ । चितवनका कृषक मलेर यहाँ पहिलोपटक रेस्टुरेन्ट सञ्चालन गरेका हुन् । उनीहरूले अहिले भरतपुरको आस्थाचोकमा केराको बगानसहितको रेस्टुरेन्ट बनाइएको छ । केराको बगानले यहाँको वातावरण नै हरियालीयुक्त बनेको छ ।
केराखेती गर्ने कृषकले यसको प्रवद्र्धन गर्न आठ कठ्ठा जग्गा भाडामा लिएर रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । रेस्टुरेन्टमा पकौडा, चिप्स, म:म:, अचारलगायत १० भन्दा बढी प्रकारका केराका परिकार पाइने सञ्चालकले बताएका छन् । करिब १ करोड रुपैयाँ लगानीमा रेस्टुरेन्ट सुरु गरिएको हो ।
केरा कृषकका अगुवा यज्ञप्रसाद सुवेदी, मेघानाथ भट्ट र वैदेशिक रोजगारीबाट फर्किएका रामचन्द्र भट्ट मिलेर 'बनाना क्याफे' सञ्चालन गरेका हुन् । 'केराको बगैंचामा बसेर यसका परिकार खान बेग्लै आनन्द हुन्छ', सञ्चालक यज्ञप्रसाद सुवेदीले भने, 'केराखेतीले मात्र यसको प्रवद्र्धन हुँदैन भनेर नयाँ किसिमको व्यवसाय सुरु गरेका हौं ।' स्थानीय केरालाई प्राथमिकता दिएर रेस्टुरेन्ट सञ्चालन गरिएको उनको भनाइ छ ।
मिनी गार्डेनका रूपमा रेस्टुरेन्ट परिसरमा केराको बगैंचा निर्माण गरिएको छ । त्यसमा चितवनमा लगाइने विभिन्न आठ जातका केराका बिरुवा लगाइएको छ । बगानमा बसेर केराको स्वादमा रमाउने वातावरण बनाइएको छ । परिकार बनाउन कुकलाई तालिम दिइएको थियो । 'आयआर्जनभन्दा पनि केरालाई ब्रान्ड बनाउन खाजेका हौं', अर्का सञ्चालक मेघनाथ भट्टले भने, 'केराको प्रवद्र्धनमा एउटा इँटा थपेजस्तो लागेको छ ।' केरालाई फलफूल मात्र नभई आहाराका रूपमा प्रयोग बढाउन रेस्टुरेन्ट सञ्चालन गरिएको उनले बताए ।
उनीहरूले 'केरा एक, परिकार अनेक' नारा लिएर देशभरका महोत्सवमा केराका परिकार मात्र पाइने रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । लोकप्रिय भएपछि रेस्टुरेन्टका रूपमा यसलाई विकास गरिएको उनको भनाइ छ । उद्योग वाणिज्य संघ चितवनले पनि 'एक गाउँ एक उत्पादन'को कार्यक्रममार्फत केरा कृषकलाई उत्प्रेरित गर्दै आएको छ ।
२०६६ सालमा रत्ननगर महोत्सवले पहिलोपटक केरालाई प्राथमिकता दिएर बगानसहित रेस्टुरेन्ट सञ्चालन गरेको थियो । त्यसपछि देशका विभिन्न स्थानमा गरिएका महोत्सवमा केराका परिकार बनाउन थालियो, सर्वसाधारणले पनि त्यसलाई मनपराए । 'केराको परिकार जसका लागि पनि स्वस्थकर छ', अर्का सञ्चालक रामचन्द्र भट्टले भने, 'आलु खान नहुनेका लागि यो उपयुक्त छ ।' रामचन्द्रले काठमाडौंको मित्रपार्कमा केराका परिकारको रेस्टुरेन्ट सञ्चालन गरेका थिए । राम्रो चलेको भए पनि भूकम्पपछि स्थान अभावले उनी चितवन आएका हुन् ।