गाडीको पार्टपुर्जामा लुकाएर लागूऔषधको ओसारपसार
विराटनगरः सवारी साधनको प्रयोग गरेर भारतबाट नेपालतर्फ कानुनद्धारा बर्जित लागूऔषध ओसारपसार हुने गरेको पाइएको छ । सवारी साधनका भित्री पार्टपुर्जाको खाली भागमा राखेर नेपालतर्फ लागूऔषध ओसारपसार हुन थालेको पत्ता लागेको हो। सीमा क्षेत्रमा प्रहरीले कडाई थालेसंगै यसको कारोवारमा संलग्नले नेपालमा लागूऔषध भित्राउन नयाँ उपाय लगाउन थालेको पाइएको छ।
विराटनगर स्थित इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगर महानगरपालिका १४ जतुवा नहरबाट स्कुटरको भित्री भागमा हालेर लागूऔषध ल्याउँदै गर्दा दुई जनालाई पक्राउ गरेसँगै कारोवारीको नयाँ उपाय पत्ता लागेको हो।
भारतको जोगवनी बजारबाट को ११ प ५२५२ नम्बरको स्कुटरमा विराटनगरतर्फ आउँदै गर्दा सुनसरी धरान १९ का ३६ वर्षीय देउमान लिम्बू र ताप्लेजुङ चाँगे ९ घर भई हाल धरान १९ मा बस्दै आएका ३७ वर्षीय टिकाराम लिम्बूलाई मंगलबार साँझ पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोश निरौलाले बताए।
‘नटले खोलेर स्कुटरको भित्री भागमा रहेका पार्टपुर्जामा जडान गरेर लागूऔषध ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो,’ निरौलाले भने, ‘स्कुटर नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागूऔषध कारोवारमा सवारी साधनको प्रयोग हुन थालेको पत्ता लागेको छ।’
उनका अनुसार झट्ट हेर्दा प्रहरीले थाहा नपाउने गरी स्कुटरको भाईजर मुनीको खुल्ला भाग एवं अन्य ठाउँका खाली भाग र इन्जिनका खाली ठाउँमा लागूऔषध 'फिट' गरेर ल्याउने गरिएको पाइएको छ।
निरौलाका अनुसार प्रहरीले स्कुटरका सबै पार्टपुर्जा खोलेर हेर्दा मात्रै लागूऔषध राखेर ल्याएको भेटेको थियो। यस अघि सवारी साधनमा राखेर र मानिसको शरीरमा ‘फिट’ गरेर लागूऔषध ओसारपसार गर्ने गरिएको थियो।
भारतबाट नेपाल आउने सवारी साधन र मानिसमाथि प्रहरीले चेकजाँचमा कडाई गर्न थालेपछि लागूऔषध सवारी साधनको भित्री भाग राखेर ओसारपसार गर्न थालिएको पत्ता लागेको प्रनि निरौलाले बताए। उनले भने, 'लागूऔषध ओसारपसार हुन थालेको पत्ता लागेपछि भारत पुगेर नेपालतर्फ आउने सवारी साधनको सबै पार्टपुर्जा र इन्जिन खोलेर हेर्न थालिएको छ।'
स्कुटरमा लागूऔषध लिएर आउँदै गर्दा पक्राउ परेकाहरु लागूऔषधका पुराना कारोवारी रहेको प्रहरीले पत्ता लगाएको छ। भारतबाट विराटनगर हुँदै लागूऔषध भित्राएर नेपालका विभिन्न स्थानमा ‘सप्लाई’ गर्ने धन्दामा उनीहरु संलग्न रहेको जानकारी निरौलाले दिए।
पक्राउ परेकाले दिएको सूचनाका आधारमा लागूऔषध कारोवारमा संलग्न अन्यको पनि खोजी थालिएको उनले बताए। 'लागूऔषध कारोवारमा ठूलो गिरोहको संलग्नता पाइएको छ,' उनले भने, 'उनीहरुको पनि खोजी थालिएको छ।' पक्राउ परेका दुवै जनाविरुद्ध बुधबार लागूऔषध ऐन अन्तर्गतको मुद्धा दर्ता गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै बुढीगंगा गाउँपालिका ४ स्थित रावल पेट्रोलपम्प नजिकैबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय नेमुवाको टोलीले को १८ प ६५९८ नम्बरको मोटरसाइकलमा सवार विराटनगर १७ का २५ वर्षीय सुरज रिजाल र धरान १५ का २५ वर्षीय बसन्त लिम्बूलाई पक्राउ गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
उनीहरुका साथबाट लागूऔषध स्पास्मोप्रोक्सिभन चार सय ३२ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।