मंसिरको पहिलो साताभित्र निर्वाचनः ओली
झापा: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई शान्ति, समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउनुपर्ने बताएका छन्।
नेकपा एमाले भद्रपुर नगर कमिटीले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले संविधान कार्यान्वयन र प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचन निर्धारित समयमै हुनुपर्ने बताए।
‘एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छ', उनले भने, “नभए पनि माघभित्र निर्वाचन गर्नैपर्छ, नत्र मुलुक ठूलो राजनीतिक र संवैधानिक संकटमा फस्छ।”
स्थानीय तह निर्वाचनमा जनसहभागिता असाधारण भएको चर्चा गर्दै अध्यक्ष ओलीले भने, “राजनीतिक अभियानमा जनताको उत्साहजनक सहभागिता देखिएको छ, यो साधारण कुरा होइन'।” रासस