भारतीय बाणिज्य दूतावासको गतिविधिप्रति सांसदको आपत्ति
काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले भारतीय वाणिज्य दूतावासका कन्सुलरबाट वीरगञ्जमा भएको क्रियाकलाप खेदजनक रहेको बताएका छन्। उनले कन्सुलरका कामहरुको छानविन गर्न समेत माग गरे।
व्यवस्थापिका-संसद्को बुधबारको बैठकमा बोल्दै रावलले गैर कुटनीतिक गतिविधिलाई सरकारले नियन्त्रण गर्नुपर्ने बताए। यस्तै उनले भियना सम्मेलन र संयुक्त राष्ट्रसंघको बडापत्रको मान्यताअनुरुप देश चल्नुपर्नेमा जोड दिए।
नेपाली कांग्रेसका सांसद तप्तबहादुर विष्टले सुर्खेतको भट्टेघारीमा आगलागीले हालसम्म १५ घर जलेर नष्ट भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए।
नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले विश्व आदिवासी तथा जनजाति दिवसका दिन सार्वजनिक बिदा दिन माग गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीका दीननाथ गिरीले वर्तमान सरकारले सुशासन कायम गर्न तथा भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको आरोप लगाए।
सांसद बृजेशकुमार गुप्ताले सातवटै प्रदेशमा एक÷एकवटा मेडिकल कलेज स्थापना गर्ने सरकारको नीति कहाँ पुग्यो भन्ने प्रश्न गर्दै २ नं प्रदेशमा मेडिकल कलेज बर्दिबासमा बनाउने प्रस्ताव अव्यवहारिक रहेको बताए।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले कृषिप्रधान देशमा पशुपालनतर्फ कृषकको आकर्षण बढाउने नीति सार्वजनिक गर्न माग गरे। रासस