विराटनगरलाई औद्योगिक हव बनाउन व्यवसायीको माग
विराटनगर: उद्योगी व्यवसायीले पूर्वको समग्र आर्थिक विकास र विराटनगरलाई औद्योगिक हबको रुपमा विकास गर्न विशेष आर्थिक क्षेत्र तथा विराटनगर चक्रपथ निर्माण प्रमुख आधार हुने भन्दै हेलचेक्र्याईं नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
विशेष आर्थिक क्षेत्र निर्माण भएमात्र औद्योगिक क्रान्ति गरेको साख पुर्नजीवित हुने र एक नम्बर प्रदेशको केन्द्र मानिएको विराटनगरमा औद्योगिक विकासले गति लिने उद्योगीले सुझाव दिएका छन्।
उदोग संगठन मोरङको ४५ औं साधारण सभामा सहभागी आपूर्तिमन्त्री शिवकुमार मण्डल समक्ष संगठनका अध्यक्ष मुकेशकुमार उपाध्यायले औद्योगिकीकरणको प्रार्दुभाव भएको मुलुककै जेठो नगर विराटनगरलाई औद्योगिक राजधानीको रुपमा विकास गर्नुपर्नेमा जोड दिए।
उपाध्यायले भने, 'सुनसरीको अमडुवास्थित साल्ट ट्रेडिङको स्वामित्वमा रहेको जमिन पहिचान एवं अध्ययन भएको तर उद्योग र अर्थमन्त्रालयबीच समन्वयबीच समन्वय नहुँदा जग्गा प्राप्तिमा ढिलो भई रहेको छ।'
उनले दुई मन्त्रालयबीच समन्वय गराएर विशेष आर्थिक क्षेत्रका लागि जग्गा प्राप्तिको काम अघि बढाउन मन्त्री मण्डलको ध्यानाकर्षण गराए । चक्रपथको कामलाई गति दिन पनि संगठनले ध्यानाकर्षण गराएको छ।
मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले विराटनगरलाई औद्योगिक ग्रामको रुपमा विकास गर्न सरकारले विशेष पहल गर्नुपर्ने माग गर्दै भने,‘औद्योगिक क्षेत्र नै रुग्ण बन्दै गएको विराटनगरको विकासको लागि पनि औद्योगिक ग्राम बनाइनु पर्छ।' उनले सानो पूँजीलाई समेत उत्पादशील क्षेत्रमा लगाउन यसबाट सहयोग पुग्ने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले विराटनगरको गरिमा कायम गराउन स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकासमा ध्यान दिएर व्यापार घाटा कम गराउनु पर्ने बताउँदै भने,‘बर्सेनि बढ्दै गएको व्यापार घाटा अब देशले बोक्न सक्ने अवस्था छैन।'
उनले विराटनगरको विकासमा प्रमुख दलका साथै सरकार गम्भीर बन्नुपर्ने माग गरे।आपूर्ति मन्त्री शिवकुमार मण्डलले औद्योगिक विकासको लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन दिए।
उनले सुनसरी-मोरङ औद्योगिक करिडोरको समस्यालाई माथिल्लो स्तरसम्म लगेर समाधानमा पहल गर्ने बताए। मन्त्री मण्डलले भने, 'कृषिमा आधारिक औद्योगिक विकासका लागि पनि हामीले ध्यान दिन जरुरी छ।'
कार्यक्रममा संगठनबाट अवकास लिएर गएका महानिर्देश सोम अधिकारीलाई र मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालालाई सम्मान गरियो। मन्त्री मण्डल विहीबार मोरङ व्यापार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पनि सहभागी भए।