दश अर्ब मानिसलाई बचाउने उपायको खोजी

दश अर्ब मानिसलाई बचाउने उपायको खोजी

एलबामा: संयुक्त राष्ट्र सङ्घका अनुसार सन् २०५० तिर पृथ्वीमा मानव सङ्ख्या करिब दश अर्ब पुग्नेछ र यस सङ्ख्यालाई त्यस्तो बिन्दुको रूपमा लिइएको छ जहाँ विश्वका सबैभन्दा महत्वपूर्ण प्रणालीमध्ये धेरै र विशेषगरी कृषि प्रणालीसहित तनावमा पर्नेछन्। यस्तो अवस्थामा विकासशील मुलुकका गरिब किसानसहित समग्र किसानले खाद्यको बढ्दो माग पूरा गर्न कृषि उत्पादकत्व कसरी वृद्धि गर्नसक्छन्?

पृथ्वीमा मानवलाई प्रभावकारी रूपमा खुवाउन सजिलो हुनेछैन र जलवायु परिवर्तन, हिंसात्मक द्वन्द्व तथा स्वच्छ पानीको उपलब्धताजस्ता अप्रत्यक्ष अवस्थाले यसलाई अझै जटिल बनाउनेछ।तथ्याङ्क तथा बालीको स्वास्थ्य अनुगमन गर्न ड्रोन (चालकविहीन विमान) उपयोग गर्ने कृषिसम्बन्धी नयाँ प्रविधिले सहयोग गर्नेछ। बाली उत्पादन वृद्धिदर दिगो बनाउन सबैभन्दा उपयोगीमध्ये एक विधि जमिनमा भएकै कुरा उकास्दा प्राप्त हुन्छ।

प्राकृतिक रूपमा माटोमा सूक्ष्मजीवाणु उत्पन्न हुनदिँदा बालीको स्वास्थ्य बलियो बनाउन र उत्पादन सुधार गर्न सहयोग पुग्छ। मल तथा विषादिजस्ता महङ्गा उत्पादन सामग्रीमा भर नपरि यी फाइदाजनक जीवाणुका साथमा क्षय भएका माटो पुनस्र्थापना गरी खेतको उत्पादकत्व वृद्धि गर्न सकिन्छ र यसबाट वातावरण जोगाउँदै बढ्दो जनसङ्ख्यालाई खुवाउनुपर्ने कठिन चुनौती पूरा गर्न सहयोग पुग्नेछ।

हालै स्थापना भएका धेरै कम्पनीले जीवाणुको क्षमता बलियो बनाउन काम गरिसकेका छन्। उदाहरणको रूपमा सान फ्रान्सिस्कोस्थित 'बायोम मेकर्स'ले सूक्ष्म जीवाणुबाट फाइदा प्राप्तगरी अङ्गुरको खेतको गुणस्तर तथा उत्पादन सुधार गर्न र 'वाइन' उत्पादकलाई सहयोग गर्न डीएनए शृङ्खलाको उपयोग गरेका छन्।

बोस्टनस्थित 'एजटेक' (कृषिप्रविधि) संस्था 'इन्डिगो'ले विरुवालाई सुखा वहन गर्न सघाउने सूक्ष्मजीवाणु उत्पादन गरिरहेको छ। फ्लोरिडास्थित 'पाथवे बायोलोजिक'ले कृषिक्षेत्रमा उपयोगका लागि सूक्ष्मजैविक उत्पादन विकास गरिरहेको छ।

यस क्षेत्रमा ठूला कम्पनी पनि काम गर्न थालेका छन्। उदाहरणको रूपमा 'बेयर क्रप साइन्सिज'ले मकै बाली १५ प्रतिशतसम्म वृद्धि गराउने भनिएका सहित सूक्ष्मजीवाणुमा आधारित अनेकौँ उत्पादन बिक्री गरिरहेको छ। अन्य धेरै कम्पनीले यस्तै उत्पादन विकास गरिरहेका छन् र छिटै ती बजारमा आउने अपेक्षा गरिएको छ।

विश्वविद्यालयहरू निश्चय पनि सूक्ष्म जीवाणु सम्बन्धी अनुसन्धानमा सक्रिय रूपमा सहभागी भइरहेका छन्।उदाहरणको रूपमा अबर्न विश्वविद्यालयमा म मकै तथा कपासका विरुवाको वृद्धि तथा कठिनस्थिति वहन गर्ने क्षमतामा माटोका सूक्ष्मजीवाणुको प्रभावका विषयमा परीक्षण गर्ने समूहको एक भाग भएको छु।

निश्चित प्रकारका विषाणु हालिएका माटोमा हुर्काइएको मकैका विरुवाले यस्तो विषाणु नराखिएका माटोमा भन्दा तीन गुणा ठूला आकारमा जरा प्रणाली विकास गरेको मैले आफ्नै अध्ययनमा देखेको छु।

एक परीक्षणमा हामीले सूक्ष्मजीवाणुबाट उपचार भएका तथा एक नियन्त्रित समूहका विरुवालाई पानी नदिँदा पनि यी विषाणुले विरुवालाई कसरी संरक्षण गर्छ भन्ने पनि मैले देखेको छु। पाँच दिनसम्म पानी नदिँदा पनि उपचार गरिएका विरुवा स्वस्थ रूपमा ठडिएरै रहे भने उपचार नगरिएका विरुवा सुकेर गए।

प्राकृतिक रूपमा उत्पन्न हुने जीवाणुबाट बन्नु तथा कृत्रिम रसायनको जस्तो जोखिम नहुनु कृषकले सूक्ष्मजीवयुक्त उत्पादन आकर्षक मान्नुको प्रमुख कारणमध्ये एक हो। यी उत्पादनको वर्तमान बजार मूल्य २.३ अर्ब अमेरिकी डलर बराबर छ र आउँदो चार वर्षमा यो पाँच अर्ब अमेरिकी डलरसम्म वृद्धि हुने अनुमान गरिएको छ।

बढ्दो बाली उत्पादन साना किसानका जीविकाको विषय बनेका विशेष गरि विकासशील विश्वमा कृषि उत्पादनका लागि माटोको सूक्ष्मजैविक उपचारको फाइदालाई बढाइचढाइ गर्नु आवश्यक छैन। यो कुरा विशेष गरि अफ्रिकाका किसानका लागि लागू हुन्छ।

आज विरुवाको स्वास्थ्यलाई सहयोग गर्न पर्याप्त पोषण तथा सूक्ष्मजीवाणुको अभावका कारण अफ्रिकाका ६५ प्रतिशत माटोको गुणस्तर घटेको छ।माटोको घटेको यो गुणस्तर पुनः बढाउन प्रायः रासायनिक मलको उपयोग गर्दा अफ्रिकी किसानले वार्षिक रूपमा ६८ अर्ब अमेरिकी डलर बराबर खर्च गरेका छन्।

अफ्रिकी महादेशको जनसङ्ख्यालाई खुवाउन आवश्यक बाली हुर्काउन किसानलाई सक्षम बनाउन सूक्ष्मजैविक समाधानले परम्परागत माध्यमबाट भन्दा पनि बढी दिगो रूपमा माटोको गुणस्तरमा सुधार गर्न सहयोग गर्नसक्छ।

सूक्ष्मजैविक समाधान पश्चिमी बजारमा विकास भइरहेको हुँदा अफ्रिकी माटोको सूक्ष्मजीवाणुमाथिको अनुसन्धान सीमित छ। यसमा परिवर्तन हुनुपर्छ। थप लगानीले बैज्ञानिकलाई स्थानीय रूपमा माटो तथा बालीको स्वास्थ्यमा प्रभाव पार्नसक्ने मौलिक क्षमता भएका सूक्ष्मजैविक क्षमता पत्ता लगाउन सक्षम बनाउँछ। यसले कृषि उत्पादकत्वमा सुधार गर्न अफ्रिकाको आफ्नै प्राकृतिक वातावरणलाई क्षमतायुक्त बनाउँछ।

माटोको अनुसन्धानमा ठूलो लगानीले अफ्रिकी अर्थतन्त्रहरूको फाइदालाई विस्तार गर्नसक्छ। नयाँ खोजले प्याटेन्ट तथा अनुमतिपत्रमा विस्तार गर्छ र यसका कारण अनुसन्धानले नयाँ कृषिव्यवसाय तथा कृषिसम्बन्धित उद्योगलाई प्रोत्साहन दिन्छ।

यस प्रकारको अनुसन्धानको विस्तार हुने फाइदाको शक्तिका विषयमा म व्यक्तिगत रूपमा वकालत गर्नसक्छु। अबर्नमा माटो सूक्ष्मजीवमा मेरो आफ्नै अनुसन्धानका कारण अमेरिकामा तीनवटा प्याटेन्ट जारी भएका छन् र यस प्रविधिका उत्पादनलाई व्यापारीकरण गर्ने अधिकार प्राप्त गर्न कृषिसम्बन्धी अनेकौँ कम्पनीहरू लागिपरेका छन्।

मेरो अनुसन्धानबाट अर्जेन्टिना, बोलिभिया, पराग्वे, उरुग्वे तथा भेनेजुएला सहितका मुलुकमा प्याटेन्टका थप निवेदन दर्ता भएका छन् । जारी भएपछि यी प्याटेन्टबाट हुने प्रविधिको विकासले दशौँ लाख किसानलाई फाइदा पुग्नेछ र नयाँ आयको फाइदामूलक स्रोत सिर्जना गर्ने व्यापारिक उत्पादन आउनेछन् ।

पृथ्वीको बढ्दो जनसङ्ख्याको खाद्यमाग पूरा गर्न नयाँ कृषि उत्पादन, प्रविधि र उत्पादकत्व बढाउने अभ्यास आवश्यक पर्छन्। यी नयाँ खोजका लागि फाइदाजनक सूक्ष्मजीवाणुबाट प्राप्त हुने समाधान प्रमुख विषय हुनेछ।

मजस्तो कृषि वैज्ञानिकका लागि खाद्य सुरक्षाभन्दा भविष्यका पुस्ताले भोग्ने अन्य कुनै पनि विषय बढी महत्वपूर्ण हुनसक्दैन। विरुवालाई बढी क्रियाशील बनाउने नयाँ उपायको खोजिमा प्राकृतिक प्रविधि नै सबैभन्दा भरपर्दो हुन्छ र यो हाम्रा खुट्टामुनि सुषुप्त अवस्थामा र फेला पर्ने प्रतिक्षामा छ। यो नै राम्रो समाचार हो।

(एस्थर एनगुम्बी एलबामास्थित अबर्न विश्वविद्यालयका विद्यावारिधिपश्चातको अनुसन्धाता हुनुहुन्छ। उनी सन् २०१७ का लागि क्लिन्टन ग्लोबल इनिसिएटिभ युनिभर्सिटी मेन्टर फर एग्रिकल्चर हुनुहुन्छ। उनी सन् २०१५ का लागि एक्पेन इन्स्टिच्युटका लागि फुड सेक्युरिटी भ्वाइस फेलो हुनुहुन्थ्यो। अनुवाद: सुरेन्द्रबहादुर नेपाली) रासस/प्रोजेक्ट सिन्डिकेट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.