अस्पतालमा धामीको भरपर्दा वृद्धको मृत्यु
राजविराज: अन्धविश्वासमा परेर उपचार नपाउँदा हनुमाननगर कंकालिनी नगरपालिका ५ का ७८ वर्षीय दुःखाई साहको बुधबार मृत्यु भएको छ।
विषालु सर्पले टोकेपछि समयमै अस्पताल पुर्याई चिकित्सकीय पद्धतिबाट उपचार गराउनुको साटो धामीझाँक्रीको भर पर्दा उनको मृत्यु भएको स्थानीयवासीले बताए।
घरमा सुतिरहेका साहलाई गएराति विषालु सर्पले टोकेपछि गाउँलेहरुको दवावमा राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरे पनि उनका आफन्तले गाउँबाट एक झाँक्रीलाई झिकाएर झारफुक गर्न लगाएकाले मृत्यु भएको चिकित्सकहरुले बताएका छन्।
अस्पतालभित्रै झाँक्री बोलाएर झारफुक गर्न थालेपछि चकित परेका चिकित्सकहरुले त्यसो नगर्न सुझाए पनि आफन्तको जीद्दि र अन्धविश्वासका कारण चिकित्सकहरु पछि हटेका थिए। सर्पले टोकेपछि अस्पताल ल्याउन ढिलाई गर्नु र ल्याएपछि पनि धामीझाक्रीको भर पर्नाले साहको ज्यान गएको चिकित्सकहरुले बताए। अस्पतालभित्र धामी झाक्री ल्याउन नमिल्ने भए पनि आफन्तको जिद्दि र चर्को दवावले रोक्न नसकिएको अस्पतालले जनाएको छ।
दैनिक पाँचदेखि सात जनासम्म सर्पदंशबाट घाइतेहरु उपचारका लागि आउन थालेपछि एनटी स्नेक भेनम औषधी प्रयाप्त मात्रमा स्टक गरिएको अस्पतालका सि. अहेव मनोजकुमार देवले बताए।