नेत्रविक्रम चन्द 'विप्लवलाई' छाड्दै केन्द्रीय नेता
काठमाडौं (अन्नपूर्ण): नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई केन्द्रीय सदस्यले 'क्रान्ति' को तयारी नगरेको आरोप लगाउँदै पार्टी त्याग गरेका छन् । उनीहरूसँगै केही जिल्ला नेताले पनि पार्टी छाडेको घोषणा गरेका छन्।
केन्द्रीय सदस्य गगनबहादुर खड्का (जीवन) र महेन्द्र केसी (पारसमणि) तथा बाँके जिल्ला इन्चार्ज संगमलगायतले पार्टी परित्याग गरेका हुन्। खड्का भेरी–कर्णाली इन्चार्ज थिए भने केसी धवलागिरि ब्युरो इन्चार्ज।
खड्काले पार्टी विभाजनको लामो समयसम्म पनि त्यसको औचित्य पुष्टि गर्न नसकेको, क्रान्तिको नारा मात्रै बाँडेको आरोप लगाएका छन् । उनले माओवादीबीच एकताको पहलकदमीका लागि पार्टी परित्याग गरेको बताएका छन्।
नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले भने पार्टीबाट कारबाही गरेको जनाएका छन् । खड्काको ठाउँमा नेकपाले खुमा सुवेदीलाई जिम्मेवारी दिएको छ।
केसीले भने कम्युनिस्ट राजनीति र सक्रियतालाई फरक ढंगले निरन्तरता दिन पार्टी छाडेको बताएका छन्। 'राजनीतिक र व्यावहारिक कारणले नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएँ,’ केसीले भने, ‘कम्युनिस्ट राजनीति र सक्रियतालाई अब फरक ढंगले निरन्तरता दिनेछु।'