जहाज खरिद प्रक्रियामा समिति असन्तुष्ट
काठमाडौं : सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको जहाज खरिद प्रक्रियामा आर्थिक चलखेल भएको निष्कर्ष निकालेको छ । समितिको बुधबार बसेको बैठकमा सांसदहरूले निगमको वाइडबडी जहाज खरिद प्रक्रियामा बिचौलियामार्फत आर्थिक चलखेल भएकोे भन्दै पाँच दिनभित्र रकम भुक्तानीलगायत सबै विवरण पेस गर्न निगम र सरकारलाई निर्देशन दिएका छन् ।
सरकारको जमानतमा निगमले दुईवटा वाइडबडी जहाज खरिद गर्न पहिलो किस्ताबापत आठ अर्ब रुपैयाँभन्दा बढी रकम अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनलाई पठाइसकेको छ । तर संसदको सार्वजनिक लेखा समितिले भने जहाज खरिद प्रक्रियामै शंका गरिरहेको छ । अबको १० महिनाभित्र जहाज ल्याउने गरी पहिलो किस्ता बुझाइएको हो ।
बैठकमा सांसद उषा गुरुङले वाइडबडी नै खरिद गर्नुपर्ने कारण माग गरिन् । गुरूङले युरोप र अमेरिकाभन्दा पनि नेपाली युवा बढी भएका देशमा राष्ट्रिय ध्वजावाहक उडाउनुपर्ने सुझाव दिइन् । निगमले युरोप र अमेरिकालाई लक्षित गरी नयाँ जहाज खरिद गर्न लागेको हो । उनलाई जफाव दिँदै निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले अबको जमानामा वाइडबडीको विकल्प नरहेको बताए । सांसद भरत शाहले निगमको पुरानो इतिहास पुनः नदोहोरिने गरी काम गर्न सुझाव दिए । ‘किन बिचौलियासँग जहाज खरिद गर्न लागिएको हो ? , योभन्दा राम्रो त निर्माण कम्पनीसँग खरिद गर्दा हुन्छ', उनले भने्।
समिति सदस्य धनराज गुरुङले जति राम्रो जहाज ल्याए पनि निगममा गिद्धलाई सिनोजस्तै भएको टिप्पणी गरे । कंसाकारलाई लक्षित गर्दै
उनले भएका जहाज पनि नउडाउने र व्यवस्थापन पनि सुधार नगर्नेले भाषण सुनाउनुको अर्थ नहुने बताए । कंसाकारले भने व्यवस्थापन सुधार रातारात सम्भव नहुने प्रतिक्रिया दिए । ‘बोल्न जति सहज छ, काम गर्न त्यति सहज छैन । हाम्रा ऐननियम पनि काम गर्न बाधक छन्', उनले भने ।
समिति सदस्य रामहरि खतिवडाले भने भएका जहाज उडाउन नसक्नेले फेरि जहाज-जहाज भन्दै कराउनु उचित नरहेको बताए । ‘चिनियाँ जहाजको अवस्था के हो ? विनाप्रतिस्पर्धा २६ लाख रुपैयाँ खर्च गरेर किन विज्ञ ल्याएको ? ', उनले भने । निगमको आगामी योजनासमेत उनले माग गरेका छन् ।
सांसद धु्रव वाग्लेले निगम अहिले बिरामीजस्तै रहेको र त्यसलाई सुधारको आवश्यकता रहेको बताए । निगमले एक पाउन्ड पुँजी भएको कम्पनीमार्फत रकम पठाएको हो भने त्यस कम्पनीको लेखापरीक्षण र करका विषयमा जिज्ञासा राखेका थिए ।
निगमले दुईवटा वाइडबडी जहाज खरिद गर्न पहिलो किस्ताबापत आठ अर्ब रुपैयाँभन्दा बढी रकम अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनलाई पठाइसकेको छ ।
निगमले बजार प्रतिस्पर्धाका लागि जहाज थप्ने विषयमा समितिको कुनै आपत्ति नरहे पनि निजीक्षेत्रभन्दा तल्लो स्तरमा राष्ट्रिय ध्वजावाहक रहनु ठीक नहुने सांसद ऋषिकेश पोखरेलले बताए । सांसदहरूको प्रश्नको जवाफ दिँदै निगम महाप्रबन्धक कंसाकारले करसहित मासिक २६ लाख रुपैयाँ पारि श्रमिक दिने गरी विदेशी पाइलट ल्याइएको जानकारी दिए । निगमले यस्तै पारि श्रमिक दिएर सिंगापुरबाट विज्ञ इन्जिनियर ल्याउने योजना बनाएको छ ।
दुई न्यारोबडी किन्न पत्राचार
नेपाल वायुसेवा निगमले फेरि दुईवटा न्यारोबडी जहाज खरिद गर्ने भएको छ । निगमले सीधै एयरबस कम्पनीसँग जहाज खरिद गर्न सकिने गरी सार्वजनिक खरिद ऐन परिमार्जन भएपछि एयर बस खरिदका लागि पत्राचार गरेको छ । निगम महाप्रबन्धक कंसाकारले एयरबस उत्पादन कम्पनीलाई दुईवटा न्यारोबडी जहाज खरिद गर्ने गरी पत्राचार भएको बताए । निगमको विश्वसनीयता बढाउन थप जहाज खरिद गर्न लागिएको उनले दाबी गरे । निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा मात्रै एयरबस छन् । तर पनि निगमको अकुपेन्सी ७० दशमलव एक छ ।
कामले तीव्रता नपाए ठेक्का रद्द
सन् २०१८ को जुनभित्र निर्माण सम्पन्न हुनुपर्ने भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले दुई महिनाभित्र गति नलिए चिनियाँका ठेकेदारसँगको निर्माण सम्झौता रद्द हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले काममा ढिलाइ नगर्न निर्देशन दिएको समितिलाई जानकारी गराए । काम नभए दुई महिनापछि निर्माण सम्झौता रद्द गर्ने उनको भनाइ छ । ‘अहिलेसम्म ३० प्रतिशत मात्रै काम भएको छ', मन्त्री देवले भने, ‘अब दैनिक दुई सयदेखि दुईसय ५० मजदुर राखेर काम गर्ने निर्देशन भएको छ ।'
निजगढ विमानस्थल पोखराकै मोडालिटीमा
दोस्रो अन्तर्राष्ट्रिय निगगढ विमानस्थल निर्माणका लागि पोखरा विमानस्थलकै मोडालिटी अपनाउन सकिने मन्त्री देवले बताएका छन् । आफूले विमानस्थल निर्माणमा समन्वयका लागि उपसमिति बनाउने निर्णय भएको उनको भनाइ छ । वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टका लागि सार्वजनिक सुनावाइ गर्ने र एलएम डब्ल्यूले गरेको सम्भाव्यता अध्ययनको विषयका रहेको विवाद पनि अन्त्य गरेर अगाडि बढ्ने निर्णय भएको मन्त्री देवले बताए ।
राष्ट्रिय ध्वजावाहक प्रयोग गर्न निर्देशन
सार्वजनिक पद धारण गरेको व्यक्तिले आन्तरिक तथा बाह्य हवाई यात्रा गर्दा सम्भव भएसम्म राष्ट्रिय ध्वजावाहक एयरलाइन्स प्रयोग गर्ने सरकारलाई निर्देशन भएको छ । संसदको सार्वजनिक लेखा समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री देवले यस्तो निर्देशन दिन आग्रह गरेका थिए । राष्ट्रिय ध्वजावाहकलाई विश्वसनीय बनाउन सरकारी पदधारण गर्नेले राष्ट्रिय ध्वजावाहक प्रयोग गर्नुपर्ने मन्त्रीको भनाइ छ ।