डा. केसीको स्वास्थ्य गम्भीर, सरकारी चिकित्सक पनि आन्दोलित
काठमाडौं: १७ दिनदेखि अनशनका कारण डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर असर परेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
डा. केसीको स्वास्थ्य सुरुदेखि नै निगरानी गरिरहेकी शिक्षण अस्पतालकी डा. दिव्यासिंह शाहका अनुसार केसीको पेटको माथिल्लो भागमा गम्भीर किसिमको दुखाइ महसुस हुन थालेको छ। त्यसका साथै उनको मुटुको चालमा घटबढ हुनुका साथै रगतमा सेतो रक्तकोशिकाको मात्रा निकै कम भएको छ।
यस्तो बेला उनको शरीरमा गम्भीर किसिमको संक्रमण फैलिन सक्ने डा. शाहले जानकारी दिइन्। चिकित्सकले उनलाई विशेष कारणबाहेक कसैलाई नभेट्न सुझाएका छन्।
यसैबीच, डा. केसीको जीवन जोखिममा पर्दासमेत सरकार गम्भीर नभएको भन्दै देशभरका सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका छन्। आफैंले गरेको सम्झौता कार्यान्वयन नगर्ने सरकारी रवैयाका कारण डा.केसीले पटक–पटक अनशन बस्नुपरेको भन्दै उनीहरूले बुधबार हातमा कालोपट्टी बाँधेर बिरामीको उपचार गरे। चिकित्सक संघ नेपालको आह्वानमा मुलुकभरका सरकारी अस्पतालमा कार्यरत चिकित्सक आन्दोलनमा उत्रिएका हुन्।
संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले डा. केसी अनशन बसेको १७ दिन बितिसक्दा पनि माग सम्बोधनमा बेवास्ता गरेकाले बाध्य भएर आन्दोलनमा होमिनुपरेको बताए। ‘सरकारले यसपटक डा. केसीको माग छिट्टै पूरा गर्छजस्तो हामीलाई लागेको थियो तर उहाँको जीवन नै संकटमा पर्दा पनि वास्ता गरिएन,' डा. पाण्डेले भने, ‘त्यसैले हामी दबाब दिन बाध्य भएका छौं।'
डा. केसीका माग पूरा गराउन दबाबस्वरूप रेजिडेन्ट्स एसोसिएसन अफ न्याम्समा आबद्ध चिकित्सक पनि बुधबार हातमा कालोपट्टी बाँधेर काममा खटिए।