विवादले रोकियो प्रहरी पदस्थापन
काठमाडौं : उपत्यका प्रहरी (मेट्रो) प्रमुख र काठमाडौं प्रहरी प्रमुख कसलाई पठाउने भन्ने विवादमा बढुवा भएका प्रहरी अधिकृतको पदस्थापन रोकिएको छ । उपत्यका प्रहरी प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्दलाई पदस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं प्रहरी प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्रबहादुर धानुकलाई पठाउन गृहमन्त्री जनार्दन शर्मा आकांक्षी देखिएका छन् । देउवाले आफ्नै पहलमा प्रहरी महानिरीक्षक (आईजीपी)मा चन्दलाई नियुक्ति गरे पनि सर्वोच्च अदालतले बदर गरिदिएपछि उपयुक्त जिम्मेवारीको आश्वासन दिएका छन् ।
एआईजीको बढुवा सिफारिसमा समेत चन्दलाई दुई नम्बरमा राखेपछि गृहमन्त्री शर्मा र आईजीपी अर्यालप्रति प्रधानमन्त्री देउवा असन्तुष्ट रहेको गृह स्रोतको दाबी छ । तर, आईजीपी अर्याल हालकै मेट्रो प्रमुख रहेका एआईजी बमबहादुर भण्डारीलाई दोहोर्याउने वा अर्का एआईजी देवेन्द्र सुवेदीलाई पठाउने पक्षमा छन् । एआईजीको पदस्थापन मन्त्रिपरिषद्ले गर्ने भएसँगै अर्यालको अडान औचित्यपूर्ण नहुने बुझाइ गृहका अधिकारीको छ । डीएसपी छँदा आफ्नै गृहजिल्ला रुकुममा इन्चार्ज सम्हालेका एसएसपी धानुकलाई शर्माले काठमाडौं प्रहरी प्रमुख बनाउने वचन दिएको स्रोत बताउँछ ।
एआईजी, डीआईजी र एसएसपीको ३० असारमा बढुवा सिफारिस भई उनीहरूलाई गत शुक्रबार आईजीपी अर्यालले ओहोदाको फुली लगाइदिएका थिए । पदस्थापन हुन नसक्दा एसएसपीको दरबन्दी रहेर डीआईजीको फुली लगाइसकेका केहीले प्रहरी मुख्यालयमा र केहीले जिल्लामै हाजिर गरिरहेका छन् । काठमाडौं प्रहरी प्रमुखको दरबन्दी एसएसपीको रहे पनि डीआईजी भइसकेका छविलाल जोशीले काठमाडौंमै र ललितपुरमा एसएसपीको दरबन्दी रहे पनि डीआईजी ठूले राईले ललितपुर प्रहरी परिसरमै हाजिर गरेका छन् ।
उपत्यका र काठमाडौं प्रमुख कसलाईबनाउने भन्नेमा विवाद
फुली लगाइसकेपछि पदस्थापन नभएसम्म जो जुन कार्यालयमा छन्, सोही कार्यालयमा हाजिर गर्ने निर्देशन भएपछि उनीहरूले पुरानै कार्यालयमा हाजिर गर्दै आएका छन् । यद्यपि, राम्रा प्रहरी कार्यालयमा पोस्टिङ गराउन प्रहरी अधिकृतहरूको दौडधूप भने चलिरहेको प्रहरी मुख्यालयका एक उच्च अधिकृत बताउँछन्।
ओहोदाको फुली लगाएसँगै पदस्थापन भए चुस्त प्रहरी व्यवस्थापनमा थप टेवा पुग्ने पूर्वप्रहरी अधिकृत बताउँछन् । पूर्वएआईजी नवराज ढकालले भने, ‘पहिला बढुवामा पर्न दौडधूप, पछि पदस्थापनमा दौडधूप रोक्न फुली लगाएलगत्तै पदस्थापन हुनु राम्रो हो, ठूला दर्जाका व्यावसायिक प्रहरी अधिकृतमा यसले असर गर्छ ।' ढकालले तलका दर्जाको स्थानमा काम गर्दा कानुनी अड्चन आउने बताए ।
‘मुद्दाका विषयमा कार्यालय प्रमुखले हस्ताक्षर गर्नुपर्ने होला, यससँगै अन्य कार्यालयको प्रशासनिक काममा समेत दर्जा नमिल्दा कानुनी वैधतामाथि प्रश्न उठ्यो भने पछि अप्ठ्यारो पर्छ, चेन अफ कमान्डमा चल्ने संस्थामा खटनपटन सकभर यथाशीघ्र हुनु राम्रो हो', ढकालले भने । गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले सरुवा तयारी गरिरहेको जानकारी दिए । उनले भने, ‘बढुवा भएका अधिकृतको सरुवा यथाशीघ्र हुनुपर्नेमा गृह मन्त्रालय संवेदनशील नै छ तर अहिल्यै निर्णय भएको छैन, थुप्रै अधिकृतको सरुवा गर्नुपर्ने भएकाले सरुवाको खाका तयार गर्दै छौं ।' उनले केही दिनभित्रै पदस्थापन हुने बताए ।