बिमस्टेक मन्त्रीस्तरीय बैठकउद्घाटन आज
काठमाडौं : उपक्षेत्रीय संगठन बे अफ बंगाल इनिसियटिभ फर मल्टिसंक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन (बिमस्टेक) को पन्ध्रौं मन्त्रीस्तरीय बैठक शुक्रबार काठमाडौंमा आयोजना हुँदै छ ।
मन्त्रीस्तरीय बैठकको उद्घाटन भने बिहीबार साँझ होटल सोल्टीमा हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक उद्घाटन गर्ने कार्यक्रम छ । मन्त्रीस्तरीय बैठकमा भाग लिन बिमस्टेक सदस्य मुलुकका विदेशमन्त्री र विदेशसचिव बिहीबारै काठमाडौं आउँदै छन् । भारतीय विदेशमन्त्री सुस्मा स्वराजलगायत बिमस्टेक मुलुकका ६ मन्त्री नेपाल आउनेछन् ।
मन्त्रीस्तरीय बैठकले ‘बिमस्टेक प्रोसेस' लाई सुदृढ गर्ने विषयमा छलफल गर्नेछ । बिमस्टेकले पहिचान गरेका कनेक्टिभिटी विस्तार, आतंकवाद नियन्त्रण, व्यापार, ऊर्जालगायत १४ क्षेत्रमा सदस्य मुलुकबीच सहकार्य अघि बढाउने विषयमा बैठकमा छलफल हुनेछ । महराले बैठकको अध्यक्षता गर्नेछन् ।
बैठकमा नेपालले बिमस्टेक चौथो शिखर सम्मेलनको ठोस मिति प्रस्ताव गर्ने परराष्ट्रमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । बिमस्टेकको वर्तमान अध्यक्ष मुलुक नेपालले सन् २०१७ भित्र बिमस्टेकको शिखर सम्मेलन आयोजना गर्ने तयारी छ । ‘प्रान्तीय र संसदीय चुनावभन्दा अघि नै बिमस्टेक शिखर सम्मेलन आयोजना गर्ने हाम्रो सोच हो' प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले अन्नपूर्णसंग भने । स्रोतका अनुशार अक्टोबरभित्र नेपालले बिमस्टेक सम्मेलन गर्ने विषयमा छलफल भइरहेको छ ।
बिमस्टेकका नयाँ महासचिवको नियुक्तिबारे पनि छलफल हुने परराष्ट्र अधिकारीहरूले बताए । हालका महासचिव सुमिथ नाकान्दालाको पदावधि सकिन लागेको छ । बिहीबार १८ औं बिमस्टेक ‘सिनियर अफिसियल्स मिटिङ' पनि बस्दै छ । परराष्ट्र सचिवस्तरमा हुने यो बैठकले मन्त्रीस्तरीय बैठकको एजेन्डा तय गर्नेछ । सचिवस्तरीय बैठकले बिमस्टेक प्रबुद्ध समूह गठन, बिमस्टेक स्वतन्त्र व्यापार सम्झौता, बिमस्टेक मुलुकबीच विद्युतीय प्रसारण लाइन स्थापना सम्झौता लगायत विषयमा छलफल गरी मन्त्रीस्तरीय बैठकमा निर्णयार्थ पेस गर्नेछ । परराष्ट्र सचिव शंकरदास बैरागीले बैठकको अध्यक्षता गर्नेछन् ।
स्वराजले उच्चस्तरीय भेट गर्ने
भारतीय विदेशमन्त्री स्वराजको भ्रमण बिमस्टेक बैठकका लागि मात्र नभएर द्विपक्षीय चासोका बिषयमा नेपालसँग छलफलमा पनि केन्द्रित हुनेछ । स्वराज नेतृत्वको भारतीय उच्चस्तरीय टोली बिहीबार बिहान ‘चार्टड फ्लाइट' बाट नेपाल आउँदै छ । स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका एजेन्डा र तयारीबारे उच्च तहमा छलफल गर्नेछिन् । देउवा भदौ ७ देखि ११ सम्म भारतको राजकीय भ्रमणमा जाने निश्चित भइसकेको छ।
स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछिन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली तथा मधेसकेन्द्रित दलका नेतासँग पनि भेट्ने तय भएको छ ।