‘इन्काउन्टर' प्रति मौनता

 ‘इन्काउन्टर' प्रति मौनता

एकजना दुव्र्यसनी प्रवीण खत्रीलाई पक्राउका क्रममा ‘इन्काउन्टर' गरेपछि प्रहरीको यो कारबाही शैलीमाथि गम्भीर प्रश्न उठेको छ । खत्रीलाई पक्राउ गर्न खोज्दा उनी आफैंसँग भएको पेस्तोलले आफैंलाई गोली हानेको दाबी प्रहरीले गरेको छ । यद्यपि परिवारजनले घरभित्रै छिरेर ‘इन्काउन्टर' गरेको प्रहरीमाथि आरोप लगाएको छ ।

प्रहरीले यस घटनालाई ‘इन्काउन्टर' नभएको पुष्टि गर्ने प्रयास गरे पनि खत्रीको पृष्ठभूमि र घटनाको प्रकृतिले यसलाई रहस्यमय बनाएको छ । यसअघि २१ साउन ०७१ मा गुन्डा नाइके दिनेश अधिकारी ‘चरी' र भदौ २०७२ मा अर्का डन कुमार श्रेष्ठ ‘घैंटे' प्रहरी ‘इन्काउन्टर' मा मारिएका थिए । प्रहरी ‘इन्काउन्टर' को सिलसिला बढ्दै जाँदा नेपाली समाजमा यसप्रति आश्चर्यजनक मौनता देखिनु विडम्बना हो ।

निश्चय पनि ‘इन्काउन्टर' मा मारिएका व्यक्ति नकारात्मक छवि र पृष्ठभूमिका थिए । खत्री लागूऔषध दुव्र्यसनी थिए भने ‘घैंटे' र ‘चरी' आपराधिक पृष्ठभूमिका थिए । तर के यसखाले चरित्र भएका व्यक्तिहरूले ‘इन्काउन्टर' मै मारिनुपर्ने हो ? प्रहरीलाई ‘इन्काउन्टर' का नाममा गोली दाग्ने छुट हुन्छ र ? प्रहरीले आत्मरक्षाको लागि गोली चलाउन पाउँछ, तर नियोजित रूपमा ‘इन्काउन्टर' को नाममा गोली चलाउने छुट छैन । लागूऔषध वा आपराधिक पृष्ठभूमिका व्यक्ति पक्रेर कानुनतः सजाय दिन सकिन्छ तर ‘इन्काउन्टर' को नाममा गोली हान्दै जाने हो भने विधि र कानुनको उपहास हुनेछ ।

प्रहरीले अपराध नियन्त्रण गर्नुपर्छ र त्यसको लागि आपराधिक चरित्र भएका व्यक्तिलाई निरुत्साहित गर्न कानुनी कारबाही गर्नुपर्छ । तर ‘इन्काउन्टर' को गलत अभ्यासलाई बढावा दिनु हुँदैन । यसले प्रहरीलाई स्वेच्छाचारी मात्र बनाउने नभई कानुनी व्यवस्था पनि कमजोर हुँदै जान्छ । त्यसकारण पछिल्लो ‘इन्काउन्टर' घटनाको गम्भीर छानबिन हुन आवश्यक छ । प्रहरीले अनावश्यक र अनुचित ढंगले गोली चलाएको पुष्टि भए त्यसलाई कानुनी दायरामा ल्याइनुपर्छ ।

हामी समाजमा ‘डन' र दुव्र्यसनी प्रवृत्तिले टाउको उठाउन नहुनेमा सचेत छौं, तर सँगसँगै प्रहरीको ‘इन्काउन्टर' कारबाही शैलीमा पनि लगाम लगाउनुपर्छ । यो लोकतान्त्रिक व्यवस्था भएको मुलुक हो । यहाँ सबैखाले नागरिकको बाँच्न पाउने अधिकार छ । आपराधिक पृष्ठभूमिका व्यक्तिलाई पनि बाँच्ने अधिकार छ । यद्यपि तिनलाई कानुनी व्यवस्थाअनुसारको सजाय हुनुपर्छ । त्यस प्रकारका चरित्र भएका व्यक्ति पनि अनाहकमा मारिनु हुँदैन ।

खत्रीकै सन्दर्भमा पनि उनलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउने ठाउँ थियो । किन कारबाहीको यो शैली अख्तियार गरियो ? ठूलाठूला हत्याकाण्डका दोषीलाई पक्राउ गर्दा कारबाहीको यसखाले शैली नअपनाएको प्रहरीले खत्री पक्राउमा किन यो शैली अपनायो ? प्रश्न उब्जेको छ । दुइटा बन्दुक बोकेर शान्तिसुरक्षामा खलल पारेको प्रमाणित हुँदा उनलाई कानुनी कारबाही प्रक्रियामा लैजान सकिने आधार थियो । यो सबै विधि र प्रक्रियाभन्दा बाहिर गएर भएको ‘गैरन्यायिक हत्या' ले मानिसको मानवअधिकार र बाँच्न पाउने अधिकारमा सीधै धावा बोलेको छ । यसप्रति समाजमा देखिएको मौनता अझ डरलाग्दो छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.