सडक विस्तार रोक्न नेतासँग गुहार
बुटवल: बुटवलको सडक विस्तार रोक्न घर धनीहरू मोटो रकम संकलन गरेर मन्त्रालय धाउन थालेका छन्। बुटवलका केही व्यापारिक संस्थाले पनि सडक विस्तार रोक्न नेताहरूसँग हारगुहार गरेका छन्।
बुटवल–बेलहिया व्यापारिक सडक विस्तारअन्तर्गत बुटवलको राजमार्गदेखि गोलपार्कसम्मको चार लेन सडकलाई ६ लेनमा विस्तार गरिँदैछ। यस क्रममा सडक अतिक्रमण गरेर बनेका ३ सय ११ घर भत्काइँदैछ।
बुटवल उद्योग वाणिज्य संघ, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, र पश्चिम नेपाल बस व्यवसायी संघले संयुक्त बैठक बसेर सडक विस्तार रोक्ने बताएका छन्। ‘सडक विस्तार हँदैन, मैले निरन्त नेताहरूसँग भनिरहेको छु’, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले बैठकमा भने।
यसअघि राजमार्ग चौराहासम्मको सडक विस्तारमा पनि उद्योग वाणिज्य संघकै पदाधिकारीले बिरोध गरेर लम्ब्याएका थिए। सडक विस्तार आवश्यक नभएको भन्दै उद्योग वाणिज्य संघले विरोध गरेको हो।
सडक विस्तार रोक्न व्यवसायी चोपनारायण श्रेष्ठको नेतृत्वको टोली काठमाडौं पुगेको थियो। उनी उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठका सम्धी हुन्। श्रेष्ठको ट्राफिचोकमा रहेको घरको केही भाग सडकमा परेको छ।
सडक विस्तार रोक्न मन्त्री तथा नेतालाई आर्थिक रूपमा प्रभाव पार्न करोडभन्दा बढी रकम संकलन भएको छ। मिलनचोकदेखि बसपार्कसम्मका घरधनीले प्रतिघर एकदेखि डेढ लाखसम्म रकम संकलन गरेका छन्।
‘घरको तला हेरेर रकम उठाइएको छ, एक घरधनीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘सवा करोड रुपैयाँ संकलन भइसकेको छ।’ उनले सकेसम्म घर भत्काउन रोक्ने रणनीति भएको बताए।
होटेल व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसीले छिन्छिन्मा सडक विस्तार हँदा व्यापार व्यवसाय ठप्प भएको बताए । ‘भैरहवातर्फको सडक निर्माण सकेर मात्रै बुटवलतर्फ थाल्नुपर्छ’, उनले भने।
मार्गले सडक अतिक्रमित भएका संरचना भदौ ५ गतेसम्म हटाउन सूचना निकालेर आग्रह गरेको छ। आयोजनाका इन्जिनियर लीलाबहादुर भण्डारीले भदौ ५ गतेसम्म नभत्किएका संरचना हटाउन प्रक्रिया थाल्ने बताए।
‘२२ वटा घर भत्काउन थालिसकेकिएको छ, १० जना घरधनीले मुआब्जा लिन निवेदन दिनुभएकोछ’, उनले भने, ‘तोकिएको मितिसम्म सबै घर भत्काउन सुरु हुन्छन् भन्ने विश्वासमा छौं।’ साढे तीन किलोमिटर बाटोभित्र झन्डै एक सय घरको धेरै भाग सडकमा परेको छ। बसपार्क क्षेत्रका अधिकांश घरको आधाभाग नै सडकमा परेको छ। ट्राफिकचोकमा बनेका ५ तले घरको ६ हात मात्रै बाँकी रहनेछ।
यसअघि सडक विस्तार रोक्न लुम्बिनी अञ्चल अस्पतालका तत्कालीन अध्यक्ष डा. प्राश्चित श्रेष्ठको अध्यक्षतामा संघर्ष समिति गठन गरिएको थियो। पुष्पलाल पार्कमा रहेको श्रेष्ठको घरको अधिकांश भाग सडकमा परेको छ ।
सडक विस्तारको विपक्षमा रहेकाहरूले उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर, एमाले उपमहासचिव विष्णु पौडेल, कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायतसँग भेटघाट गरी विस्तार रोक्न आग्रह गरेका छन्।