टाटाले भित्र्यायाे ‘टिगोर' कार
काठमाडौं: भारतीय अटो निर्माता कम्पनी टाटाको कम्प्याक्ट सेडान कार ‘टिगोर' नेपाली बजारमा भित्रिएको छ। आकर्षक, चुस्त, अत्याधुनिक एवं डाइनामिक डिजाइनका कारण टिगोरलाई ‘स्टाइल ब्याक' कारको रूपमा प्रस्तुत गरिएको छ। टिगोरको अत्याधुनिक डिजाइन र फिचर्सले हालको प्यासेन्जर कार सेगमेन्टमा नयाँ पोर्टफोलियो तयार गर्ने कम्पनीको दाबी छ।
टाटा मोटर्सको नेपाली बिक्रेता सिप्रदी टे«डिङले बुधबार भव्य समारोहबीच ‘टिगोर' सार्वजनिक गरेको छ। नयाँ पुस्ताको मागलाई ध्यानमा राखेर उत्पादन गरिएको टिगोरले नेपाली कार पारखीको विश्वास जित्ने कम्पनीको अपेक्षा छ। कम्प्याक्ट सेडान टिगोरमा मल्टी ड्राइभ मोडका लागि नयाँ रिभोटर्न १२ सय सीसीको शक्तिशाली पेट्रोल इन्जिन जडान गरिएको छ। यसमा मल्टी ड्राइभ (इको र सिटी) मोड छ। टिगोरको आकर्षक डिजाइनलाई सर्वोत्कृष्ट प्रदर्शन र ड्राइभिङ डाइनामिक्सका साथ प्रस्तुत गरिएको छ।
टिगोर कार ‘एक्सई', ‘एक्स्टी', ‘एक्सजेड' र एक्सजेड अटोमेटिक गरी चारवटा भेरियन्टमा उपलब्ध छ। यो विभिन्न ६ कलर कपर ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लू र बेरी रेडमा उपलब्ध छ। कारको सुरुआती मूल्य २३ लाख ४५ हजार र अधिकतम मूल्य २९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। टिगोरले प्रिमियम ह्याचब्याक र कम्प्याक्ट एसयूभीका ग्राहक आकर्षित गर्ने कम्पनीको विश्वास छ।
टिगोरमा नयाँ डिजाइन र स्टाइललाई विशेष प्राथमिकता दिइएको छ। यसको अत्याधुनिक डिजाइनले कम्पनीको ब्रान्ड भ्यालुलाई समेत मजबुत पारेको छ। कम्पनीका अनुसार कारको बाहिरी बनावट एक्स्प्रेसिभ, एक्साइटिङ र एक्स्ट्रा अर्डिनरी तरिकाले डिजाइन गरिएको छ। यो चुस्त एवं डाइनामिक डिजाइनले युवा पुस्ताको अनुभव संगाल्नेछ। भित्री सजावटमा कारको ‘इन्टिलिजेन्ट स्पेस'को प्रयोगमा ‘इन्भाइटिङ इन्टेरियर' र ‘कनेक्टिभिटी' विशेषता छन् जसले सवारी धनीलाई ‘इनटच' अनुभवसहित भित्री र बाहिरी संसारको उत्कृष्ट अनुभूति प्रदान गर्नेछ।
सिग्नेचर स्प्लिट एलईडी टेल ल्याम्प, ट्रेन्डी क्रिस्टल स्मोक्ड प्रोजेक्टर हेडल्याम्प र स्टाइलिस एकीकृत हाइमाउन्टेन एलईडी स्टप ल्याम्पले टिगोरलाई अझ उत्कृष्ट बनाएको छ। कारमा लेयर डिजाइन थिमसहितको ककपिट र आकर्षक बनावट छ। यस्तै, आकर्षक फिनिसिङसहित उत्कृष्ट ड्युल टोन इन्टेरियर, आरामदायी सिटलगायत कारका थप विशेषता हुन्।
मनोरन्जनको दुनियाँमा कनेक्ट हुने नयाँ पुस्ताको चाहनालाई ध्यानमा राखेर कारमा गोल्डेन इयर्ससहित हर्मन प्रविधिको अत्याधुनिक अडियो तथा कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ। यसका आठवटा पावरफुल स्पिकर छन्। स्टेरिङमै अडियो कन्ट्रोल सिस्टम रहेको छ। यसले चालक र यात्रुलाई बिलासिताको अनुभूति दिलाउने कम्पनीको विश्वास छ। कारमा अटोमेटिक क्लाइमेट कन्ट्रोल फिचर छ।
टिगोरमा सवारीचालक र यात्रुको सुरक्षामा विशेष ध्यान दिइएको छ। कारमा जडित ड्युल फ्रन्ट एयरब्याग, कर्नर स्टाबिलिटी कन्ट्रोल (सीएससी) सहितको एबीएस, ईबीडी र रिभर्स पार्क क्यामेरालगायत विशेषताले यात्रा सुरक्षित बनाउनेछ । आरामदायी यात्रा तथा उत्कृष्ट ह्यान्डेलिङबीच उचित सन्तुलन कायम गर्न ड्युल पाथ, फ्रन्ट र रियर सस्पेन्सन प्रयोग गरिएको छ।
टिगोरको सार्वजनिक समारोहमा टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड जोनी ओम्मेनले भावी पुस्ताको मागलाई ध्यानमा राखेर अत्याधुनिक विशेषतासहितको कार उत्पादनमा जोड दिएको बताए। ‘हामीले कम्प्याक्ट सेडानमा उपलब्ध उत्पादनभन्दा केही फरक चिज निर्माण गरेका छौं जसलाई स्टाइल ब्ल्याक भनिएको छ', उनले भने, ‘टाटा टिगोरले हरेक पटक नयाँ जमानाको केही भिन्न उत्पादन तयार गर्ने कम्पनीको परम्पराको प्रतिनिधित्व गर्दछ।' यसले कम्पनीको पोर्टफोलियो समेत विस्तार गरेको उनको दाबी छ।
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टिगोरको भारतमा भएको उत्साहजनक बिक्रीको आँकडाले नेपालमा पनि उत्तिकै सफलता हासिल गर्नेमा आफू आशावादी रहेको बताए। ह्याच र सेडानबाट बाहिर निस्किएर टिगोरले आफैंमा एउटा नयाँ सेगमेन्ट तयार गरेको र जसलाई स्टाइल ब्याक नामाकरण गरेको उनको भनाइ छ।
- कम्प्याक्ट सेडान कार
– रिभोटर्न १.२ लिटर पेट्रोल इन्जिन
– आकर्षक फिनिसिङ, उत्कृष्ट ड्युल टोन इन्टेरियर
– ड्युल एयरब्याग, फ्रन्ट डिस्क ब्रेक, रिभर्स पार्क क्यामेरा
– चारवटा भेरियन्टमा उपलब्ध
– सुरुआती मूल्य २३.४५ लाख र अधिकतम २९.९५ लाख
– इन्धन क्षमता ३५ लिटर
– ग्राउन्ड क्लियरेन्स १६५ र १७० एमएम
– सिटी र इको ड्राइभ मोड, इन्धन किफायती
– आकर्षक ६ कलरमा उपलब्ध