फोहोरबाट पाइप उद्योग

फोहोरबाट पाइप उद्योग

चरीकोट : फोहोरलाई मोहोरमा बदल्ने उद्देश्यका साथ दोलखामा पाइप उद्योग सञ्चालनमा आएको छ । व्यवस्थापन चुनौतीको रूपमा लिइएको फोहोर प्लास्टिक प्रशोधन गरी पाइप उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक एवं दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले जानकारी दिए । दोलखा भीमेश्वर मल्टी ट्रेडिङ कम्पनी प्राइभेट लिमिटेडमार्फत सञ्चालनमा ल्याएको उद्योगले मंगलबारबाट उत्पादन सुरु गरेको जनाएको छ ।

लगानीमैत्री जिल्लाको रूपमा परिचित गराउन र ठूला लगानीकर्ता दोलखा भित्र्याउने उद्देश्यका साथ पाइप उद्योग सञ्चालनमा ल्याएको अध्यक्ष कार्कीको भनाइ छ । तामाकोसी गाउँपालिका वडा नम्बर १ गोपी टारमा सञ्चालनमा आएको प्लास्टिक उद्योगको लगानी दुई करोड रुपैयाँ रहेको जनाइएको छ । पाइप उद्योग वाणिज्य सघंका अध्यक्ष सुन्दर कार्की र युवा व्यवसायी सुरेश उप्रेतीको सयुक्त लगानीमा उद्योग सञ्चालनमा आउको हो । कार्की होटल तथा हार्डवेयर व्यवसायमा संलग्न छन् भने उप्रेती क्रसर व्यवसायी हुन् ।

दैनिक आठ सय किलो प्लास्टिक आवश्यक पर्ने सो उद्योगबाट मासिक १५ टन पाइप उत्पादन हुने सञ्चालक सुरेश उप्रेतीको भनाइ छ । उद्योगबाट १६ एमएमदेखि आठ इन्चसम्मको पोलिपाइप उत्पादन सुरु गरिएको जनाइएको छ । उद्योगले गार्डेन पाइप र ढलान प्लास्टिक उत्पादन गर्ने तयारी गरिरहेको सञ्चालक उप्रेतीको भनाइ छ ।

उद्योगका लागि आवश्यक कच्चा पदार्थ जिल्लाबाटै प्राप्त गर्ने उद्देश्यले उप्रेतीले प्रत्येक घरमा खेर गइरहेका प्लास्टिक संकलन गर्न सबैसँग आग्रह गरेका छन् । सञ्चालक उप्रेतीले प्लास्टिक उद्योग सञ्चालनका लागिमात्र नभएर प्लास्टिकजन्य फोहोरमुक्त सहर तथा गाउँ निर्माण गर्न सघाउने बताए । सहर तथा गाउँघरमा जथाभावी फालेका फोहोर प्लास्टिक जम्मा गरेर उद्योग अगाडि बढाउने लक्ष्य भए पनि दोलखाको मात्रै कच्चा पदार्थले नपुग्ने भएकाले ५० प्रतिशत कच्चा पदार्थ बाहिरबाट ल्याएर उद्योग सञ्चालन हुने बताइएको छ । टाढाबाट पाइप खरिद गरेर महंगोमा किन्नुभन्दा यही उत्पादन भएको पाइपको मूल्य दोलखा र आसपासका जिल्लामा सस्तो र सुलभ हुने सञ्चालकको दाबी छ ।

फोहोरको रूपमा फालिने प्लास्टिक संकलन गरी कच्चा पदार्थको रूपमा प्रयोग गर्ने उद्योगले निश्चित रकम दिएर स्थानीयबाट संकलन गर्ने जनाएको छ । उद्योगका लागि भारतदेखि अत्याधुनिक मेसिन किनेर प्रयोगमा ल्याइएको सञ्चालक उप्रेतीको भनाइ छ । यो उद्योगलाई वातावरणीय र सरसफाइका दृष्टिकोणले निकै सहज हुने सञ्चालकको दाबी छ । पाइप उद्योगले २७ महिनाभित्र लगानी उठाइसक्ने लक्ष्य लिएको जनाएको छ ।

दोलखामा सञ्चालनमा आएका ठूला उद्योगमध्ये पाइप उद्योग दोस्रो हो । उद्योगी बालकृष्ण शिवाकोटीले दोलखा प्लाई उद्योग पनि सञ्चालन गरिरहेका छन् । पछिल्लो समय दोलखामा लगानी गर्ने बढेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुर्दशन कार्कीको भनाइ छ । जिल्लामा लगानी भित्र्याउने र विकासको ढोका खोल्ने काम माथिल्लो तामाकोसी आयोजनाले गरेको उनले बताए । उनले आयोजना सुरु भएसँगै सडक विस्तार भएको र लामोसाघु–जिरी सडक मार्ग पनि दुई लेनको बनाउने काम भइरहेकाले उद्योग सञ्चालनका लागि दोलखा उपयुक्त रहेको जानकारी दिए । २४सैं घन्टा आवश्यक विद्युत् आपूर्ति भएको दोलखा उद्योगका लागि सहज भएको कार्कीको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.