साउन सकिँदा पनि भएन रोपाइँ

साउन सकिँदा पनि भएन रोपाइँ

भरतपुर : सामान्यतया असार सकिँदानसकिँदै धान रोपाइँ सकिन्छ । तर पश्चिम चितवनका किसानले भने सिँचाइ अभावमा साउन अन्तिमसम्म पनि रोपाइँ गर्न पाएका छैनन् । उनीहरूका खेत अझै बाँझा छन् । यसले कृषिमा मात्र निर्भर किसानलाई समस्या भएको छ ।

सिँचाइ अभावमा पश्चिम चितवनमा रोपाइँ गर्न नपाउनु बर्सैपिच्छेको समस्या हो । तर अझसम्म पनि यहाँ सिँचाइ सुविधा उपलब्ध गराउनेतर्फ सरोकारवाला निकायले ध्यान नदिँदा स्थानीय चिन्तित छन् । ‘साउन सकिन लाग्यो, अझै खेत सुक्खा छ, रोपाइँ गर्न पाएका छैनौं', किसान नन्दकुमारी लामाले भनिन्, ‘सधैं यस्तै हो, सरकारले हेरिदिए पो केही हुन्थ्यो ।' वर्षा नभएपछि कुलो नआएको र अब आकाशको मात्र भर परेको उनको भनाइ छ । उनीहरू अहिले घोलको पानी जम्मा गरेर धान रोप्नुपर्ने बाध्यतामा छन् ।

पश्चिम चितवनको शारदानगर, गुञ्जनगर, भीमनगर, रामपुर, पार्वतीपुर, शिवनगरलगायत क्षेत्रमा समयमै सिँचाइ नहुँदा रोपाइ हुन नसकेको हो । केही किसानले मोटर, बोरिङबाट पानी तानेर रोपाइँ गरे पनि अधिकांशका खेत बाँझै छन् । धान रोप्न लगाइएको बीउसमेत छिप्पिएको छ । सबैले रोपाइँ गर्ने दिन पर्खेर बसेका छन् । पानी तान्ने मोटर भए पनि विद्युत्को भोल्टेज नपुग्दा त्यो पनि त्यत्तिकै बेकम्मा बनेको स्थानीयको भनाइ छ । ‘खेत बाँझो राख्न मन नलागेर मात्रै खेत रोप्न मन लागेको हो', स्थानीय माधव पौडेलले भने, ‘धान रोप्नु भनेको कुनै ठूलो युद्ध जितेजस्तै भएको छ ।'

जिल्लामा किसानका लागि लक्षित गरेर विभिन्न सिँचाइ योजना सञ्चालनमा छन् । तर ती किसानमैत्री भने छैनन् । पूर्वीचितवनको खगेरी सिँचाइ जल उपभोक्ता संस्थाले पूर्वीचितवनको खगेरी खोलाबाट सिँचाइको व्यवस्था गरेको छ । तर उक्त खोला नै खहरे भएका कारण पर्याप्त पानी छैन । त्यहाँबाट पश्चिम चितवनका किसानले पालो पाउनै कठिन छ । आकाशबाट पानी आए मात्र नहर आउने उनीहरू बताउँछन् । अहिले पानी बग्ने नहर सुक्खा छ ।

किसानका खेत अझै बाँझा छन् । यसले कृषिमा मात्र निर्भर किसानलाई समस्या भएको छ ।

बोरिङको पानीबाट केही किसानले धान रोपिसके पनि अहिले सिँचाइ नहुँदा धाँजा फाट्न थालेको छ । ‘एकापट्टि नारायणी, अर्कोतर्फ राप्ती नदी बगे पनि हामीले आफ्नो खेत बाँझो राख्नुपरेको छ', सामाजिक अगुवा विष्णु ढकालले भने, ‘पर्याप्त स्रोत भए पनि त्यसको उपयोग गहुँदा खेत बाँझो भएको छ ।'

चितवनमा अहिलेसम्म ९० प्रतिशत रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय चितवनको भनाइ छ । १० प्रतिशत क्षेत्र सुक्खा रहेको र यहाँ आकासे पानीको भर पर्नुपर्ने भएकाले रोपाइँ हुन नसकेको जिल्ला कृषि विकास कार्यालय चितवनका प्राविधिक सहायक नोदनाथ लामिछानेले बताए । पश्चिम चितवनमा करिब तीन हजार हेक्टर क्षेत्रफल खेतमा रोपाइँ हुन बाँकी छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.