एसियन पेन्ट्स आर्किटेक्चर स्टुडेन्ट्स विजेता घोषणा
काठमाडौं: एसियन पेन्ट्स आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१६/१७ का विजेता घोषणा गरिएको छ । गत वैशाख २३ गतेबाट सुरु भएको अखिल नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१६/१७ मा नेपालका सम्पूर्ण आर्किटेक्चरल कलेजका २०६८ ब्याचका २९ जना विद्यार्थी सहभागी थिए ।
प्रतियोगीलाई प्रोजेक्टअन्तर्गत दशरथ रंगशाला, त्रिपुरेश्वरमा रहेको अन्तर्राष्ट्रिय कभर्ड हलको डिजाइन गर्ने जिम्मेवारी दिइएको थियो । सहभागी २९ विद्यार्थीमध्ये १५ जनालाई अघिल्लो चरणका लागि छनोट गरिएको थियो । उनीहरूले निर्णायक मण्डलसमक्ष आफ्नो परिकल्पना र धारणा प्रस्तुत गरेका थिए ।
निर्णायकमा आर्क समाजमा प्रसिद्ध आर्किटेक्ट अरुणदेव पन्त, आर्किटेक्ट सुमननन्द वैद्य, आर्किटेक्ट सरोश प्रधान, आर्किटेक्ट तिलोत्तमा बस्याल, इन्जिनियर अरुण उपाध्याय र आर्किटेक्ट साहिदी जोशी थिए । १५ वटा परिकल्पनामध्ये निर्णायकले छनोट गरेका उत्कृष्ट पाँच परिकल्पनामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारका विजेताको घोषणा मंगलबार भएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा भएको विजेता घोषणा कार्यक्रममा काठमाडौं इन्जिनियरिङ कलेजका श्रवण ठकुरी प्रथम, आईओई पुल्चोक क्याम्पसकी शृंखला खतिवडा द्वितीय, आईओई पुल्चोक क्याम्पसकै गोविन्दप्रसाद मैनालीले तृतीय स्थान हासिल गरेको कम्पनीले जनाएको छ।