अमेरिकी भूभाग नजिकै क्षेप्यास्त्र प्रहार गर्ने उत्तर कोरियाको योजना
उत्तर कोरिया विरुद्ध भीषण आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्ति आएको २४ घण्टा नबित्दै उत्तर कोरियाले क्षेप्यास्त्र प्रहारको चेतावनी दिएको छ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाले प्रसान्त क्षेत्रको अमेरिकी भूभाग गुआम नजिकै चारवटा क्षेप्यास्त्र प्रहार गर्ने योजना बनिरहेको बताएको छ।
ह्वासोङ-१२ नाम दिइएका रकेटहरु जापान माथिबाट हुँइकिदै गएर प्रसान्त महासागरमा रहेको गुआम टापुभन्दा लगभग ३० किलोमिटर नजिकै समुद्रमा खस्ने उत्तर कोरियाले जनाएको छ। राष्ट्रपति किम जोङ अनले स्वीकृत गरेपछि अबको एक हप्ताभित्र यो योजना तयार हुने छ।
उत्तर कोरियाली समाचार संस्था केसीएनएले सेना प्रमुख जनरल किम राक ग्योमलाई उद्धृत गर्दै भनेको छ, कोरियाली सेना केपीएले प्रहार गर्ने ह्वासोङ १२ रकेटहरु जापानको शिमाने, हिरोसिमा र कोइची क्षेत्रको आकास काटेर जानेछन्।
ती रकेट ३,३५६.७ किलोमिटर उडेर १,०६५ सेकेण्डपछि गुआमदेखि ३०-४० किलोमिटर परको पानीमा खस्नेछन्। ह्वासोङ् क्षेप्यास्त्र उत्तर कोरियाले आफैं बनाएको मध्य र लामो दूरीसम्म मार हान्न सक्ने हतियार हुन्।