ओली भन्छन्, 'माओवादी केन्द्रमा जीवनतत्व छैन'
काठमाडौं (अन्नपूर्ण): एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रमा जीवनतत्व नरहेको बताएका छन्।
माओवादी केन्द्रका नेता÷कार्यकर्तालाई बिहीबार पार्टी प्रवेश गराउँदै ओलीले माओवादीमा राजनीतिक नीति, सिद्धान्त र विचारको जीवनतत्व नभएको आरोप लगाएका हुन।
'धेरै साथीहरू माओवादी केन्द्रबाट आउनुभएको छ। माओवादी अब पार्टी भएन, केन्द्र भयो।जो छ केन्द्रमा छ, अरु केही पनि बाँकी रहेन’, ओलीले भने, 'अब एकपल्ट हल्लाइदिनुभयो भने माओवादी सबै समाप्त हुन्छ।'
माओवादीमा जीवनतत्व नभएको तर्क गर्दै ओलीले भने, ‘रुखलाई पातसँग जोडेर अड्याउने सानो भेट्नो हुन्छ। भेट्नो सानो हुँदाहुँदै पनि त्यसले अड्याउँछ। त्यसमा जीवनतत्व हुन्छ।
जीवनतत्व नभएपछि पात झर्छ। पार्टीमा पनि नीति, विचार र आदर्शको जीवनतत्व नभएपछि त्यो अडिँदैन।'माओवादी प्रगतिशील र वामपन्थी नरहेको ओलीले दाबी गरे।
एमालेसँग वैचारिक भिन्नता राख्न नसकेपछि माओवादीले मधेसविरोधी, खोक्रो राष्ट्रवादी, जनजातिविरोधी जस्ता भ्रम फैलाउँदै हिँडेको उनले बताए।
एमालेले विकास र समृद्धिको नीति लिएको तर कांग्रेस निजी स्वार्थका लागि अरुले चलाइदिएको हावाको पछि लाग्ने गरेको उनले आरोप लगाए।०४६ सालको परिवर्तनपछि राष्ट्रिय उद्योगलाई निजीकरण गर्ने र बन्द गराउने कांग्रेसको नीतिप्रति ओलीको कटाक्ष गरे।