जहाज ल्याएको चार महिनापछि उडान अनुमति
काठमाडौं : निजी हवाई सेवाप्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज ल्याएको चार महिनापछि आन्तरिक उडानमा अनुमति (एओसी) पाएको छ । १७ वर्षदेखि हेलिकोप्टर सेवा सञ्चालन गरिरहेको श्रीले आन्तरिक तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने गरी गत चैत ३० गते सीआरजे-२०० सिरिजको पहिलो जहाज नेपाल ल्याएको थियो ।
त्यसपछि वैशाख १६ र असार दोस्रो साता गरी तीनवटा जहाज ल्याएको एयरलाइन्सले विविध चलखेलका कारण उडान सञ्चालन अनुमति पाएको थिएन । प्रक्रिया पूरा गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार श्रीका तीनवटै जहाजलाई उडान अनुमति दिएको हो । शुक्रबारदेखि नै आन्तरिक उडान सुरु गरिने एयरलाइन्सका प्रबन्ध निर्देशक अनिल मानन्धरले जानकारी दिए । ‘एयरलाइन्सले पहिलो चरणमा भैरहवा र नेपालगन्ज उडान गर्नेछ', उनले भने, ‘विस्तारै विराटनगर, भद्रपुर र धनगढीमा उडान सुरु हुन्छ ।'
करिब दुई अर्ब लगानीमा ५० सिट क्षमताका दुईवटा सीआरजे-२०० विमान ल्याएको श्रीले पहिलोका लागि ‘९ एन-एमसी' र दोस्रोका लागि ‘९ एन-एएमए' नेपाली कलसाइन पाएको छ । श्रीको सीआरजे-७०० विमानलाई प्राधिकरणले ‘९ एन-एमबी' दर्ता नम्बर दिएको छ ।
यसअघि कम्पनीले उडान अनुमति पाउनै लागेको अवस्थामा केही व्यक्तिले अख्तियारमा उजुरी दिएका कारण त्यो रोकिएको थियो । उजुरीकै कारण उडान अनुमति दिन केही ढिला भएको प्राधिकरणको भनाइ छ । यसै साता मात्रै एयरलाइन्सले प्राधिकरणको टोलीसहित विराटनगर-काठमाडौंमा परीक्षण उडान गरेको थियो । परीक्षण उडानमा कुनै समस्या नदेखिएका कारण उडान अनुमति छिटो भएको प्राधिकरणले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मिसन टोली नेपाल भ्रमणमा आएकाले पनि अनुमतिमा ढिलाइ भएको प्राधिकरणको भनाइ छ । एयरलाइन्सले उडानका लागि पाइलट, इन्जिनियर, प्राविधिक र कर्मचारी तीन महिनाअघि नै व्यवस्थापन गरिसकेको छ । साथै उपत्यकाका एक दर्जनभन्दा बढी ठाउँमा टिकट काउन्टरसमेत स्थापना गरिएको मानन्धरले जानकारी दिए ।
उडान अनुमति नपाउँदा एयरलाइन्सले सीआरजे-७०० को दैनिक पार्किङ शुल्क १० हजार र सीआरजेको आठ हजार रुपैयाँभन्दा बढी तिर्दै आएको थियो । आरामदायी हवाई यात्राका लागि कुनै विषयमा सम्झौता नगर्ने एयरलाइन्सको दाबी छ ।
आन्तरिक उडानमा प्रतिस्पर्धा
अहिले आन्तरिक वायुसेवा कम्पनीबीच विमान थपेर सेवा विस्तार गर्ने तीव्र प्रतिस्पर्धा देखिएको छ । विभिन्न कम्पनीले सुविधासम्पन्न ठूला जहाज भित्र्याउने क्रम बढेको छ । आन्तरिक उडानका जहाजको संख्या अहिले ४० भन्दा बढी पुगिसकेको छ । यसबाट पनि आन्तरिक उडान प्रतिस्पर्धी बनेको एयरलाइन्स कम्पनी सञ्चालक बताउँछन् । यसले आन्तरिक उडानमा ‘फेयर वार' चल्ने हो कि भन्ने आशंका उब्जिएको छ । तर, विमान सञ्चालकले भने विमान थपिए पनि आफ्नो ९० प्रतिशत ‘अकुपेन्सी' रहेको दाबी गर्दै आएका छन् ।
विमानबाट यात्रा गर्नेको संख्या बढेपछि विमान कम्पनी सेवा विस्तारको होडबाजीमा उत्रिएका हुन् । साना विमानबाट उडान गरिरहेका कम्पनीले धेरै सिट क्षमताका ठूला विमान पनि भित्र्याउने क्रम बढेको बढ्यै छ । ‘केही वषअघिसम्म सिजनमा १५ दिनअघि नै टिकट बुकिङ हुन्थ्यो, पछि टिकट पाइँदैनथ्यो', सिम्रिक एयरका बजार प्रबन्धक प्रज्वल थापाले भने, ‘तर अहिले त्यस्तो अवस्थाको अन्त्य भएको छ । प्रतिस्पर्धा बढेपछि सिजनमा पनि टिकट पाइन्छ ।'
बुद्ध एयरकी विनीता थापा पनि विमान संख्या थपिँदा यात्रुले सहज यात्रा गर्न पाउने बताउँछिन् । ‘प्रतिस्पर्धा बढेपछि यात्रुले सस्तोमा राम्रो सेवा पाउँछन्, यसले हवाई यात्रु पनि बढाउँछ', उनले भनिन्, ‘विमान थपिँदा हाम्रो अकुपेन्सी घट्दैन ।'
ठूला विमान कम्पनीबीच विमान थप्ने प्रतिस्पर्धाले बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्न सक्ने गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए । ‘ठूला कम्पनीले विमान थप्दा यात्रुलाई फाइदा हुन सक्छ', उनले भने, ‘तर ठूला विमान कम्पनीले प्रतिस्पर्धाको नाममा बजार कब्जा गरे साना कम्पनी विस्थापित हुन सक्छन् ।' सौर्य एयरलाइन्सका मार्केटिङ प्रमुख मुकेश खनालले पनि बजारमा प्रतिस्पर्धा बढ्दैमा विमान कम्पनीलाई असर नपर्ने दाबी गरे ।
इन्फो
श्रीले उडानका लागि पाइलट, इन्जिनियर, प्राविधिक र कर्मचारी तीन महिनाअघि नै व्यवस्थापन गरिसकेको छ ।