बालविवाह गराउनेलाई तीन वर्ष कैद

बालविवाह गराउनेलाई तीन वर्ष कैद

काठमाडौं : मोरङका चन्दन ऋषिदेवले १६ वर्षको उमेरमा आफूभन्दा एक वर्ष कान्छीसँग विवाह गरे । कक्षा ८ मा पढ्दा-पढ्दै आफूखुसी विवाह गरेका कारण उनलाई घरबाट निकालियो । पत्नी पाल्ने जिम्मेवारीका कारण उनले पढाइ छोडे । विवाहको दुई वर्षमा छोरा जन्मिएपछि शिक्षा र सीप नभएका यो दम्पतीलाई गुजारा चलाउन हम्मे भयो ।

चन्दनले बालविवाहका कारण भोग्नुपरेको पीडा सुनाएलगत्तै हेटौंडाकी मनीषा लामाले पनि यस्तै व्यथा सार्वजनिक गरिन् । काठमाडौंस्थित गीतामाता माविमा एउटै कक्षामा पढ्ने दिनेशसँग दुई वर्षको प्रेमपछि १८ वर्षीया मनीषाले विवाह गरिन् । कक्षा ११ मा पढ्दै गरेका उनीहरूले विवाहको दुई महिनापछि पढाइ छाडे । दिनेश गाडी सर्भिसिङ गर्छन् भने मनीषा छोरा हुर्काउँदै छिन् । छोरालाई कसरी हुर्काउने र पढाउने भन्नेमा चिन्तित मनीषाले भनिन्, 'विवाह गर्न हतार नगरेको भए अहिले यस्तो चिन्ता गर्नुपर्ने थिएन ।'

पढाइ महत्वपूर्ण रहेछ र आफ्नो खुट्टामा उभिएर मात्र विवाह गर्नुपर्ने महसुस गरेकी उनले पश्चात्ताप पोख्दै भनिन्, 'जसरी हामीले बालविवाह गरेर दुःख पायौं, त्यसरी कसैले दुःख नपाओस् ।'चन्दन र मनीषाजस्ता उमेर नपुगी विवाह गर्ने बालबालिका हुन् या बालविवाहका लागि बाध्य पार्ने व्यक्तिलाई अब कानुनले सजाय दिने भएको छ । २० वर्ष नपुगी गरिएका विवाह स्वतः रद्द हुने, विवाह गर्ने केटाकेटीका साथै गराउने व्यक्तिलाई तीन वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै हुन सक्ने व्यवस्था गरिएको छ ।

बालविवाहलाई २०२० सालमै गैरकानुनी ठहर गरेको नेपालले सन् २०३० सम्ममा मुलुकबाटै बालविवाह अन्त्य गर्ने राष्ट्रिय रणनीति पनि अनुमोदन गरेको छ ।

व्यवस्थापिका-संसद्बाट बुधबार पारित फौजदारी संहिताको यो व्यवस्था कार्यान्वयनबारे जनचेतना फैलाएर बालविवाह न्यूनीकरण गर्न बिहीबार राजधानीमा 'नेपाली जुटौं, बाल विवाह रोकौं' अभियान सुरु गरिएको छ । नेपालले बालविवाहलाई २०२० सालमै गैरकानुनी ठहर गरेको हो । दिगो विकास लक्ष्यले पनि बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ । सरकारले पनि सन् २०३० सम्ममा मुलुकबाटै बालविवाह अन्त्य गर्ने राष्ट्रिय रणनीति अनुमोदन गरेको छ ।

सरकारी लक्ष्यलाई सघाउने उद्देश्यले सुरु गरिएको पञ्चवर्षीय राष्ट्रिय अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरिन् । बालविवाहलगायत कुरीति अन्त्य गर्ने दायित्व राज्यको भए पनि यस्ता अभियानले बालविवाह रोक्न उल्लेख्य योगदान पुर्‍याउने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गरिन् । उनले बालविवाहले बालबालिकाको मानवअधिकार हनन् मात्रै नभई देशको समग्र आर्थिक अवस्थामा नै नकारात्मक प्रभाव पार्ने बताइन् ।

सामुदायिक रेडियो प्रसारक संघ, राष्ट्रिय युवा परिषद् नेपाल र वल्र्ड भिजनले संयुक्त रूपमा सुरु गरेको अभियानमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापा र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले पनि ऐक्यबद्धता जनाए । कानुनमन्त्री थापाले सामुदायिक रेडियोमार्फत यो अभियान गाउँ-गाउँ पुगेपछि बालविवाह रोक्न प्रभावकारी हुने विश्वास व्यक्त गरे । महिलामन्त्री कोइरालाले फौजदारी संहिता पारित भइसकेकाले बालविवाह अन्त्यका लागि कानुनी समस्या नभए पनि यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताइन् । बालविवाह, बोक्सी प्रथा, छाउपडीलगायत कुरीति अन्त्य गर्न मन्त्रालयका तर्फबाट पनि विशेष अभियान सञ्चालन गर्ने तयारी भइरहेको उनले सुनाइन् ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले बालबालिकाको परिभाषामा एकरूपता हुनुपर्नेमा जोड दिँदै कानुन निर्माणमा विभिन्न निकायबीच समन्वय हुनुपर्नेमा जोड दिए । विश्वमा नेपाल बालविवाहदर उच्च हुने देशमा पर्दछ । एसियामा बंगलादेश र भारतपछि नेपाल तेस्रो स्थानमा छ । युनिसेफको प्रतिवेदन 'द स्टेट अफ द वल्र्ड्स चिल्ड्रेन २०१६'का अनुसार नेपालमा ३७ प्रतिशत बालिकाले १८ वर्ष उमेरभन्दा पहिले र १० प्रतिशतले १५ वर्ष उमेरअघि विवाह गर्ने गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.