कांग्रेसीलाई गणेशमानको सन्देश

 कांग्रेसीलाई गणेशमानको सन्देश

प्रिय साथीहरू
तपार्इंहरूसँग करिब दुई दसकअगाडि भारी मनले बिदा भएको थिएँ। वर्तमानमा नेपाली कांग्रेसको दुर्दशा देखेर मनले मानेन। त्यसैले केही भावुक अनि अत्यन्त दुःखित भएर केही कुरा भन्न गइरहेको छु। त्यो कांग्रेस जसको निर्माणमा मलगायत मेरा पुस्ताका धेरै साथीहरूको रगतपसिना परेको छ। धेरै होनहार साथीहरूको बलिदानी इतिहास छ। जेलनेलको मार्मिक कथा र व्यथा गाँसिएको छ। आफूले जन्माएको सन्तानप्रति अगाध माया छ। सन्तानको रुग्ण स्वास्थ देखेर अभिभावकलाई पीडा हुनु, चिन्ता लाग्नु स्वाभाविक हो। अहिलेको कांग्रेसको पुस्ताले आफ्नो अग्रजहरूको योगदान र भूमिकाको सम्मान गर्न चुकेको हो कि ? भन्ने आभास हुन थालेको छ। कुनै पनि कुरामा त्यसलाई माया बढी हुन्छ, जसले बढी मूल्य चुकाएको हुन्छ। यसकारण त्यसतर्फ सचेत रहन तपाईंहरूलाई हार्दिकताका साथ आग्रह गर्न खोजेको हुँ।

राजदरबारमा सेवारत बडाकाजी रत्नमानका भाइ हरिमानको नाति हुँ म। त्यसबेलाको परिवेशमा धनीमानी र शक्तिशाली परिवारमा जन्मेको हुँ म। परिवारमै जेठो नाति भएकाले बडाकाजीको बढी लाडप्यारमा हुर्किएँ। सानैदेखि पैसा चोरेर भए पनि साथीभाइ जम्मा गर्ने, खर्च गर्ने मोजमस्तीको जीवन बाँचे।

हिराकाजीका रूपमा प्रसिद्धि थियो। यस बीचमा मेरो परिचय टंकप्रसाद आचार्यसँग भयो। जहानिया राणाशासन समाप्त गर्न एउटा राजनीतिक दल स्थापनाको आवश्यकता थियो। टंकप्रसादको नेतृत्वमा ‘नेपाल प्रजापरिषद्' गठन भयो। यसमा म, रामहरि शर्मा, चूडाप्रसाद शर्मा, हरिकृष्ण श्रेष्ठ, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा आदि संस्थापक थियौं। १९९७ सालमा हामी सबै पक्राउ पर्‍यौं।

शुक्रराज, गंगालाल, दशरथ चन्द, धर्मभक्त माथेमा ( श्री ५ त्रिभुवनका व्यायाम गुरु र सम्पर्क सूत्र) लाई राणा प्रधानमन्त्री जुद्धशमशेरको समयमा मृत्युदण्ड दिइयो। टंकप्रसाद, चूडाप्रसाद, रामहरिलाई ब्राम्ह्ण भएका नाताले चारपाटा मुडेर आजीवन काराबास दिइयो। आजीवन काराबास पाउनेमा म, सिद्धिचरण श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ (रञ्जना सिनेमा हलमा मालिक) थियौं। म बाँच्नुमा बडाकाजी रत्नमानको पनि भूमिका रह्यो। हामी सबैलाई केन्द्रीय कारागारमा राखिएको थियो। जेलमै बसेर हाम्रो लक्ष प्राप्त हुँदैन भन्ने मलाई लाग्यो। राणा सरकारबाट हामीलाई यति निर्मम यातना दिइयो कि वयान गरेर साध्य छैन।

शरीरमा मूर्छा परुन्जेल कोर्रा बर्साइयो। अचेत, अर्धचेतको अवस्थामा पुर्‍याइयो। म जसोतसो जेलबाट भागेर कलकत्ता पुगें। भारतीय स्वतन्त्रता संग्राममा तीन वर्ष जेल बसेर छुटेका बीपी कोइरालाको पहलमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भयो। मेरै आग्रहमा बीपी जेलभित्र रहेका टंकप्रसादलाई सभापति र आफू कार्यवाहक सभापति हुन सहमत हुनुभयो। त्यसै दिनदेखि म कोइरालाजीसँग यति प्रभावित भएँ कि उहाँको साथ आजीवन छोड्न सकिनँ। त्यो बीपीको असाधारण त्याग थियो।

२००६ सालमा राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसको एकीकरण गरी नेपाली कांग्रेसको स्थापना गर्न मेरो अतुलनीय भूमिक रह्यो। सुवर्णजी, म र किसुनजी (कृष्णप्रसाद भट्टराई) बीपीलाई सभापति बनाउन चाहन्थ्यौं। तर सूर्यप्रसाद उपाध्याय, महेन्द्रविक्रम शाह, महावीरशमशेर मातृका कोइरालाको पक्षमा थिए, अन्ततः मातृकाप्रसाद नेपाली कांग्रेसको संस्थापक सभापति बन्नुभयो। बीपीले यो दोस्रो अवसर पनि गुमाउनुभयो। र पनि उहाँले यसलाई सहजताका साथ स्वीकार्नुभयो।

नेपाली सेनालाई पनि कांग्रेसका पक्षमा संगठित गर्नु आवश्यक थियो। यस कामका लागि म छद्म भेषमा काठमाडौं आएँ। सेना भड्काउने अभियोगमा, म, सुन्दरराज चालिसे, सुशीला चालिसे र सेनामा कप्तान बद्रीविक्रम थापा आदिलाई कठोर यातना दिइयो। प्रजा परिषद्सँगको संलग्नतामा १९९७ सालमा श्री ३ जुद्धशमशेरले श्री ५ त्रिभुवनलाई गोरखा थपाउने धम्कीसम्म दिए। ०७ सालमा नेपाली कांग्रेसले सशस्त्र क्रान्ति सुरु नगरेको भए हामी सबै मारिने थियौं।

०७ सालको राणा-कांग्रेसको संयुक्त सरकारमा र पछि मातृकाबाबुको सरकारमा म मन्त्री भएँ। ०७ सालमा गोरखा दल (खुकुरी दल) ले गृहमन्त्री बीपीनिवास आक्रमण गर्दा म र कृष्णप्रसाद भट्टराई त्यहीं थियौं। बीपीको गोलीबाट एउटा आन्दोलनकारीको घटनास्थलमै मृत्यु भयो, र नै हामी बाँच्यौं। यसरी पटकपटक बोनस जीवन मलाई प्राप्त भएको छ। ०९ सालमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टी सभापति तथा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई पार्टीबाट निष्काशन गर्‍यो। सो सरकारबाट सुवर्णशमशेर, म र सूर्यप्रसाद उपाध्यायले बीपीको पक्षमा राजीनामा दियौं। यस अधिवेशनबाट बीपी, कांग्रेसको सभापति बन्नुभयो। 

०१२ सालमा वीरगन्ज महाधिवेशनमा पार्टी सभापतिका लागि मेरो र सुवर्णजीबीच तीव्र प्रतिस्पर्धा भयो। बीपीको साथ पाएर सुवर्णजी जित्नुभयो। मैले आफ्नो पराजय स्वीकारें। जीवनभर हामी दुवैमा सुमधुर सम्बन्ध थियो। तर अहिलेको कांग्रेसमा त्यो संस्कार रहेन। सके पार्टी फुटाउने, नसके तिक्ततापूर्ण सम्बन्ध हुने। यस किसिमको अप्रजातान्त्रिक संस्कारले कांग्रेसलाई कहाँ पुर्‍याउँछ ? सोचनीय छ।

०१७ साल पुस १ गतेको शाही ‘कू' पछि आठ वर्ष बीपीसँगै सुन्दरीजलको सैनिक बन्दीगृहमा र रिहापछि आठ वर्ष भारतीय निर्वासनमा बस्नु पर्‍यो। ०१८÷०१९ मा सुवर्णजीले पञ्चायती व्यवस्थाविरुद्ध सशस्त्र आन्दोलन सञ्चालन गर्नुभयो।

१९६२ को चीन-भारत युद्धले आन्दोलन स्थगन भयो। पछि बीपी र मैले ०२९÷०३० मा सशस्त्र क्रान्ति सुरु गर्‍यौं। हातहतियारका लागि विराटनगरबाट काठमाडौं लैजान लागिएको तीस लाख भारुका लागि हवाइ अपहरण गरियो। यसमा गिरिजाप्रसाद कोइरालाको ठूलो भूमिका थियो। ओखलढुंगा कब्जाको प्रयास असफल भयो। राम लक्ष्मण उपाध्याय, पेसल दाहाल, महेश कोइरालालगायत होनहार उनन्तीस युवाले सहादत प्राप्त गरे। सन् १९७६ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल घोषणा गरिन्। विपक्षी दलमाथि दमन सुरु भयो। हामीमाथि बढी निगरानी राख्न थालियो। दक्षिण एसिया शीत युद्धको केन्द्रबिन्दु थियो। भारत निर्वासन मन्द विषको मृत्युवरण थियो भने नेपाल प्रवेश आत्महत्या। बीपी र मैले पछिल्लो रोज्यौं।

फेरि सुन्दरीजल। हामीमाथि मृत्युदण्ड हुनसक्ने सात-सातवटा राष्ट्र विप्लवका अभियोग थिए। बीपी र मेरो अदालतमा दिएको वयान प्रकाशित छ। मुलुकभित्रको र अन्तर्राष्ट्रिय परिस्थितिका कारण हामी छुट्यौं। ०३६ सालमा पाकिस्तानी प्रधानमन्त्री जुल्फीकर अलि भुट्टोलाई सैनिक शासनले फाँसी दियो। त्यसको विरुद्ध नेपाली विद्यार्थीले पाकिस्तानी दूतावास घेर्न पुगे। सरकारी दमनले आन्दोलनले उग्ररूप लियो। राजा र नेपाली कांग्रेसबीच सुमधुर सम्बन्ध इन्डो—सोभियत धुरीलाई मन परेको थिएन। हाम्रो राष्ट्रिय मेलमिलापको नीतिले राजा र कांग्रेसबीचको तिक्ततामा कमी आइरहेको थियो। राजनीतिक गतिरोधको निकास आवश्यक थियो।

०३६ जेठ १० गते श्री ५ वीरेन्द्रबाट राष्ट्रिय जनमत संग्रहको घोषणा भयो। बहुदलीय शासन व्यवस्था कि समसामयिक सुधारसहितको पञ्चायती व्यवस्थाका बीच आम निर्वाचन भयो। जनमत संग्रहमा अप्रत्याशित रूपले झिनो मतले बहुदल पक्षको पराजय भयो। मैले धाँदली भयो भनेर आपत्ति जनाएँ। तर जनमतको सम्मान गर्नुपर्छ भनेर बीपीले स्वीकार गर्नुभयो। ०३७ को नेपालको संविधानले बीस लाख जनताको अभिमत स्वीकार गरेन। ०३८ को आम निर्वाचन हामीले बहिष्कार गर्‍यौं। बीस वर्षसम्म पार्टी संगठन ध्वस्त भएको थियो। जनताबीच सम्पर्क स्थापित गर्न र संगठन विस्तार गर्न जनमत संग्रहले ठूलो अवसर दियो।

०३९ साउन ६ गते बीपीको निधनले ममाथि कांग्रेसको अभिभावकीय जिम्मेवारी आयो। बीपी र सुवर्णजीले नै आलोपालो नेतृत्व समाल्नुभयो। म कहिल्यै पनि प्रमुख बनिन्। तर शीर्ष नेतृत्वमा सधैं रहें। ०३४ साल कात्तिकमा पटनामा बीपीले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाउनुभयो। ०४० सालको चाक्सीबारीमा सम्पन्न कांग्रेसी भेलामा शैलजा आचार्यले सभापतिमा मेरो नाम प्रस्ताव गर्नुभयो, तर मैले मानिन। किसुनजी नै सही पात्र हो भन्ने मेरो मान्यता रह्यो। ०४२ जेठ १० गतेदेखि देशव्यापी सत्याग्रह गर्ने कांग्रेसले मेरै पहलमा निर्णय गर्‍यो। सुषुप्त कांग्रेसलाई यस कार्यक्रमले जीवन्तता दियो।

हजारौं कांग्रेसीहरूले गिरफ्तारी दिए। नेपाली जेलहरू कांग्रेसी कार्यकर्ताले भरिए। यसले पञ्चायती शासकहरूको निद हराम भयो। आन्दोलनमा स्वस्फूर्त रूपमा जनसहभागिताले शासकहरू किंकर्तव्य विमूढ भए। सत्याग्रह उत्सर्गमा थियो। राजदरबार र संसद् भवनमा भएको बम विस्फोटनले एक राष्ट्रिय पञ्चायत सदस्यको निधन भयो। हिंसात्मक रूप लिएमा आन्दोलन स्थगत गर्ने निर्णयानुसार स्थगन भयो। ००६ साल फागुनदेखि कांग्रेस—वाममोर्चाको संयुक्त जनआन्दोलन सुरु भयो। ०४२ को सत्याग्रह र ०४६ को जनआन्दोलन दुवै मेरै नेतृत्वमा भयो।

०४६ माघको पहिलो साता मेरै घर कपाउन्ड चाक्सीबारीमा आन्दोलनप्रति ऐक्यबद्धता जनाउन भारतीय नेताहरू चन्द्रशेखर, सुरजीत सिंह, सुव्रमन्यम स्वामीले भेलामा सम्बोधन गरेका थिए। ०४६ चैत २६ गते श्री ५ वीरेन्द्रबाट म, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सहाना प्रधान र राधाकृष्ण मैनालीलाई दर्शन भेट बक्सियो। पञ्चायती व्यवस्था खारेज भयो। बहुदलीय शासन व्यवस्था घोषणा भयो। ०१७ साल पुस १ गते खोसिएको प्रजातन्त्र पुनस्र्थापना भयो। जीवनमा पहिलोपल्ट आफ्नो नेतृत्वमा भएको आन्दोलनको सफलताले मलाई खुसीको अनुभूति भयो।

राजाबाट अन्तरिम सरकारको प्रधानमन्त्रीमा मेरो नाम प्रस्ताव गरिबक्सियो। जनचाहना पनि यही थियो। तर मैले स्वीकार गरिनँ, कृष्णप्रसाद भट्टराईलाई नै प्रधानमन्त्री बनाउन आग्रह गरें। जीवनको उत्तरार्धमा अभिभावकीय भूमिका निर्वाह गर्ने निर्णय गरें। मैले यस निम्ति यो प्रसंगको उठान गरेको हुँ कि अहिले सत्ताका लागि जे पनि गर्ने र जोसँग पनि असैद्धान्तिक गठबन्धन गर्नसम्म पछि नपर्ने जुन प्रवृत्ति देखिएको छ, त्यसले मलाई असाध्य पीडा बोध भएको छ। हाम्रो समयमा राजनीति एउटा आदर्शका लागि थियो, निष्ठाका लागि थियो, त्यागका लागि थियो।

केवल आफ्नै लागि सत्ता प्राप्ति थिएन। ०४८ को आम निर्वाचनमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पराजय भयो। मैले चुनाव लडिनँ। स्वाभाविक प्रधानमन्त्रीको दाबेदार गिरिजाप्रसाद कोइराला (पार्टीको महामन्त्री) हुनुहुन्थ्यो। मलाई लाग्यो ०१६ सालमा सभामुख भइसकेका, संसदीय अभ्यास बुझेका कृष्णप्रसाद भट्टराईको संसद्मा खाँचो छ। एमाले महासचिव मदन भण्डारीको दास ढुंगामा भएको जीप दुर्घटनामा मृत्यु भएर रिक्त रहेको काठमाडौंको क्षेत्र नं. १ को उपनिर्वाचनमा पुनः उम्मेदवार हुनुभयो किसुनजी। तर नेपाली कांग्रेसभित्रैको अन्तरघातले उहाँ पराजित हुनुभयो। यो परिणामले म स्तब्ध भएँ। यो चुनावले पार्टीभित्र नेतृत्व तहमै ठूलो विभाजन ल्यायो। म र पार्टी सभापति कृष्णप्रसाद भट्टराई एकातिर प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अर्कोतिर।

राजनीति कुनै पेसा होइन। जनता जनार्दनको सामाजिक, शैक्षिक, आर्थिक जीवनस्तर कसरी माथि उठाउन सकिन्छ, त्यो प्राप्त गर्ने एउटा साधना हो, तपस्या हो। पैसा कमाउने माध्यम होइन, व्यापार होइन। एउटाको अवसानमा आफ्नो उत्थान देख्ने प्रवृत्ति पनि होइन।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ०४८ पुसमा ६ जना क्याविनेट मन्त्री एकतर्फी रूपमा हटाइ दिनुभयो। यो नै कांग्रेस फुटको सुरुवात थियो। टनकपुर सन्धि कि सम्झौता भन्ने विवादले पार्टीभित्र चर्को विवाद सिर्जना गर्‍यो। ०५१ असारमा सरकारको नीति तथा कार्यक्रम सदनबाट कांग्रेसकै छत्तीसजना सांसदहरूको अनुपस्थितिले पारित हुन सकेन। अहिले जस्तो सांसद किनबेचको चलन थिएन। प्रधानमन्त्रीले सदन विघटन गरी मध्यावधि चुनावका लागि राजाकहाँ सिफारिस गर्नुभयो। यो घटनाले पार्टीभित्रै दुई गुटबीच सडकमै कुटाकुटको स्थिति आयो। यी घटना क्रमको परिपेक्ष्यमा म प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्छ भन्ने अडानमा थिएँ। पार्टी सभापति किसुनजी यसको विपक्षमा रहनुभयो। मैले भट्टराईलाई आयाराम गया रामको संज्ञासमेत दिनुपर्‍यो।

प्रजातन्त्र त आयो, राजनीतिक क्रान्ति पनि सफल भयो, तर मुलुकको आर्थिक अवस्थामा सुधार भएन। गरिबी घटेन बरु झनझन् बढ्यो। हाम्रो समृद्धिको यात्रा अवरुद्ध भयो। राजनीतिकर्मीहरू सत्ताकेन्द्रित हुँदै गए, भ्रष्टाचार बढ्दै गयो। मैले समावेशीको चर्चा त्यतिबेला गरेको थिएँ। महिला, दलित, जनजाति, पिछडिएका समुदायको उचित प्रतिनिधित्व गरिएन भने प्रजातन्त्रले स्थायित्व पाउन सक्दैन भन्ने मेरो मान्यता थियो। आखिर भयो त्यही। ०५२ फागुनदेखि माओवादीले संसदीय व्यवस्थाविरुद्ध सशस्त्र संघर्ष थाल्यो। यी सबै कुरापट्टि पार्टीका साथीहरूलाई सचेत गराउँदागराउँदै पनि ध्यान नदिएकोले आफैंले जन्माएको नेपाली कांग्रेसबाट म अलग रहन विवश भएँ। राजनीतिमा यो भन्दा विडम्बना के हुन सक्छ ?

सारमा आजको कांग्रेसी पुस्तालाई यति भन्नु छ कि राजनीति सामाजिक सेवा भाव हो, लिनेभन्दा दिने वस्तु हो। राजनीति कुनै पेसा होइन। जनता जनार्दनको सामाजिक, शैक्षिक, आर्थिक जीवनस्तर कसरी माथि उठाउन सकिन्छ, त्यो प्राप्त गर्ने एउटा साधना हो, तपस्या हो। पैसा कमाउने माध्यम होइन, व्यापार होइन। एउटाको अवसानमा आफ्नो उत्थान देख्ने प्रवृत्ति होइन। प्रजातन्त्र सहअस्तित्वमा मात्र टिक्छ। बीपीले वामपन्थीसँग सहकार्य गर्न कहिल्यै स्वीकार्नु भएन। मैले पञ्चायती व्यवस्था ढाल्न वामपन्थीहरूसँग पनि सहकार्य गर्नुपर्छ भन्ने मान्यता राखें। वामपन्थीहरू राजतन्त्र त्यसैबेला समाप्त गर्न चाहान्थे, तर मेरै चट्टानी अडानले संवैधानिक राजतन्त्र जोगिएको थियो। सत्तास्वार्थका लागि मुलुकको अखण्डता र सार्वभौमसत्तामाथि आँच नआओस्। नेपाली हामी रहौंला कहाँ नेपालै नरहे।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.