कांग्रेस माओवादी केन्द्र समीकरणप्रति भारत खुसी
काठमाडौ : भारतीय विदेशमन्त्री सुस्मा स्वराजले कांग्रेस-माओवादी केन्द्र सत्ता समीकरणको प्रशंसा गरेकी छन् । भारतको ७० औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई देखाउँदै भनिन्, ‘देउवाजी र प्रचण्डजीबीच विश्वासको वातावरण देखियो । प्रचण्डजीले विभिन्न बाधा अवरोधबीच देउवाका लागि पहिले वाचा गरेअनुसार सत्ता छोड्नुभयो ।'
स्वराजले अझ उत्साहित हुँदै थपिन्, ‘त्यसकारण अब अहिले देउवाजी सत्तामा हुनुहुन्छ । उहाँहरूबीच लोकतान्त्रिक पद्धतिमा भएको सहकार्यको म प्रशंशा गर्छु । यो नेपालका लागि एकखाले नयाँ अध्याय हो ।'
यसो भनिरहँदा कार्यक्रमका मुख्य अतिथि देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाल मुस्कुराइरहेका थिए । स्वराजले भारतले नेपालको शान्ति, विकास र स्थिरता चाहेको बताइन् । ‘मोदीले सबका साथ सबका विकास भनेर भारतमा मात्र होइन छिमेकमा पनि त्यही कुरा लागू होस् भन्ने चाहनुभएको हो', उनले भनिन् ।
नेपालले ब्यालेटबाट नभई बुलेटबाट शान्ति प्रक्रिया अघि बढाएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउँदा प्रशंशा गरेको स्मरण गरिन् । स्वराजले अंग्रेजले छाडेपछि भारतलाई अनपढ र गरिब मुलुकका रुपमा ब्रिटिसले लिएपनि हाल भारत आर्थिक र राजनीतिक हिसाबले सबल रहेको बताइन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले भारतसँग नेपालको सम्बन्ध बिशेष खालको रहेको बताए । उनले भने, ‘हाम्रो यो विशेष सम्बन्ध गहिरिँदै गएको छ ।' उनले सबै पक्षको सहभागितामा संविधान कार्यान्वयन अघि बढाउन प्रतिबद्ध रहेको सन्देश स्वराजलाई दिए । नेपाल भारत सम्बन्ध बढाउन आफू यही महिना भारत जान लागेको उनले बताए ।
भारतीय राजदूत निवास परिसरमा आयोजित कार्यक्रममा देउवा, स्वराज, भारतीय राजदूतसंगै मञ्चमा थिए । तर पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई भने सहभागिको अघिल्तिर राखिएको थियो । अर्का पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द दर्शक सहभागिको अन्तिम लहरमा थिए ।
ओलीसित भेट भएन
प्रमुख प्रतिपक्षि दल एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन् । बिमस्टेक विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजसँग ओलीको भेट पनि भएन ।
एमाले नेता अग्नी खरेलले अध्यक्ष ओलीको शुक्रबार मुस्ताङ जाने पूवर्निर्धारित कार्यक्रम रहेकाले दूतावासको कार्यक्रममा नगएको बताए । ‘भारतीय परराष्ट्रमन्त्रीको औपचारिक कार्यक्रम र अन्य साना दलसँगको भेटघाटले गर्दा समय नपुगेर होला प्रमुख प्रतिपक्षी दलका नेतासंग उहाँको भेट हुनसकेन । आज भने अध्यक्ष ओली पहिले नै तय गरिसकेको कार्यक्रममा जानुपर्ने भएकाले काठमाडौमा रहनुभएन' खरेलले भने । स्रोतका अनुशार भारतीय दूतावासले ओलीसँग भेटका लागि पहल नगरेकाले ओली-स्वराज भेट नभएको हो । ‘ओली शुक्रबार बिहान मुस्ताङ् जानु अघिसम्म दूतावासले भेटको प्रयास गरेको भए भेट हुने संभावना थियो' ओली निकट एक एमाले नेताले भने ।
भारतीय राजदूत मंजीव सिंह पुरीले अध्यक्ष ओलीलाई समारोहमा उपस्थित भइदिन अघिल्लो साता निमन्त्रणा दिएका थिए । कार्यक्रममा एमालेका तर्फबाट नेता सुवास चन्द्र नेम्वाङ्, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे चाहीँ उपस्थित थिए । एमाले नेता माधव कुमार नेपालले बिहीबार साँझ नै होटल सोल्टिमै पुगेर स्वराजसँग भेटेका थिए ।
सहमति स्वर्णिम अध्याय : स्वराज
मोदीले नेपाल भ्रमणका बेला बोलेका कुरा नेपाली जनताका मन मनमा बसे । उनले भनेका थिए नेपाल युद्दबाट बुद्दतर्फ अर्थात् शस्त्र देखि शास्त्रतर्फ अघि बढ्यो । आज म यहाँ आएका बेला नेपालको लोकतान्त्रिक इतिहासमा अर्को एक नयाँ घटनाक्रम जोडिएको छ । नेपाल अविश्वासबाट विश्वासको अध्यायतर्फ अघि बढेको छ । प्रचण्डजी र देउवाजीबीच प्रचण्डजी प्रधानमन्त्री बन्ने स्थानीय चुनाव गराउने सहमति भयो । अनि स्थानीय चुनाव पछि देउवाजी प्रधानमन्त्री बन्ने सहमति भयो । ठूलो दलको नेता भएपनि देउवाजीले प्रचण्डलाई प्रधानमन्त्री बन्न सहमति जनाउनुभयो । किनकी देउवाले प्रचण्डमाथि विश्वास गर्नुभयो ।
प्रचण्डले पनि अनेक बाधाबीच देउवालाई स्थानीय चुनावपछि प्रधानमन्त्री बनाउनुभयो । यो सहमति नेपालको लोकतान्त्रिक इतिहासमा स्वर्णीम अध्याय बन्न जानेछ । यो अध्याय जोड्न दुई ब्यक्तित्वलाई मोदीका तर्फबाट बधाई दिन चाहन्छु, देउवाजी र प्रचण्डजी ।