झापामा बाढीले दुई जनाको ज्यान लियो
झापा : लगातार परेको बर्षाका कारण आएको बाढीमा परी झापामा दुईजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा झापा गाउँपालिका–२, बालुवाटार बस्ने ३५ वर्षीया धनमाया घोरासैनी र शिवसताक्षी नगरपालिका–१, धरमपुरको राजबंशी चोक बस्ने २८ वर्षीय लेखनाथ पाण्डे (बिजय) रहेका छन् ।
घोरासैनीको माइखोलामा आएको बाढीले बगाएर मृत्यु भएको हो भने पाण्डेको झिलझिले खोलाले बगाएर मृत्यु भएको हो । माइखोलाले बगाएर घोरासैनीकी १५ वर्षीया छोरी कमला भने बेपत्ता छिन् ।
हाल नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, रेडक्रस, स्थानीयबासिन्दाहरू उद्धारमा खटिएका छन् ।
विगत केही दिनदेखिको अविरल बर्षाका कारण झापाका सयौं घर डुबानमा परेका छन् । झापाका मुख्य नदीहरु रतुवा, माइ, विरिंग, हँडिया, निन्दा तथा मेचीमा पानीको बहाव बढेका कारण झापाका धेरै भाग डुबानमा परेका हुन् ।