सप्तकोशीमा पानीको बहाव यो बर्षकै उच्च
सुनसरी : लगातारको बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेर यो बर्षकै उच्च भएको छ । पानीको बहाव उच्च हुँदा समेत भारतले कोशी व्यारेजका सबै ढोका खोल्न आनाकानी गरिरहेको भन्दै स्थानीय बासिन्दा त्रसित भएका छन् ।
बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेर प्रतिसेकेण्ड दुई लाख ८३ हजार सात सय ८५ क्यूसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी बिद्यानन्द माझीले बताए । उनका अनुसार भारतको नियन्त्रणमा रहेको सप्तकोशी व्यारेजका ५६ वटा ढोका मध्ये ३५ वटा मात्र खुला गरिएको छ ।
पानीको बहाव उच्च भएपछि सप्तकोशी व्यारेजमा ६ दिनदेखि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। सप्तकोशीमा पानीको वहाव उच्च हुँदा समेत व्यारेजका सबै ढोका नखोलिएपछि सुनसरीको महेन्द्रनगर,प्रकाशपुर,मधुवन,हरिपुर र पश्चिम कुसाहा लगायतका स्थानमा सप्तकोशीले खेतयोग्य जमिन कटान गर्न थालेको स्थानीयले बताएका छन ।