त्रिवि सेवा आयोग सदस्यमा संघलाई बेवास्ता नगर्न चेतावनी

त्रिवि सेवा आयोग सदस्यमा संघलाई बेवास्ता नगर्न चेतावनी

काठमाडौं : नेपाली कांग्रेस निकट प्राध्यापकले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगमा रिक्त रहेको सदस्य पदमा संगठनइतरका व्यक्तिलाई नियुक्त गरिएमा पार्टीको शुभेच्छुक संगठनका रूपमा रहनुको औचित्य नरहने चेतावनी दिएको छ।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले क्षैक्षिक लगायतका समसामयिक विषयमा राजधानीमा शनिबार आयोजना गरेको अन्तरक्रियाका वक्ताले यस्तो चेतावनी दिएका हुन्।

संघका अध्यक्ष जगत तिमल्सिनाले भने, ‘संगठनमा आबद्ध योग्य व्यक्तिलाई सदस्यमा नियुक्त गर्न आग्रह गर्दा पार्टी नेतृत्वले बेवास्ता गर्न खोजेको छ। हाम्रो आग्रह अस्वीकार गरेमा हामी पार्टीको शुभेच्छुक संगठनका रूपमा रहिरहन बाध्य हुने छैनौं।’

त्रिवि सेवा आयोगमा प्रा.केदार घिमिरेले अवकाश पाएपछि उक्त पद रिक्त छ। सदस्य पद रिक्त हुँदा त्रिवि सेवामा नयाँ नियुक्ति, बढुवालगायतका कार्य ठप्प छ।

डा. केसीले सत्याग्रहको नियम तोडे
संघका पदाधिकारीहरूले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बसेका डा. गोविन्द केसीका माग जायज भए पनि उनको सत्याग्रहका कारण त्रिवि शिक्षण अस्पतालको शैक्षिक अवस्था खलबलिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

‘डा. केसीका मागप्रति हामी पूर्ण रूपमा समर्थन गर्दछौं तर उनको सत्याग्रहले त्रिवि शिक्षण अस्पतालमा शैक्षिक मर्यादा, अनुशासन र विधिको व्यापक उल्लंघन भएको छ’, अध्यक्ष तिमल्सिनाले भने। डा. केसीका जायज माग सम्बोधन गर्दै उनको जीवनरक्षा गर्न संघले सरकारसँग माग गरेको छ।


आंशिक शिक्षकका समस्या सम्बोधन हुनुपर्छ
संघका महासचिव राजेन्द्र गौतमले आफूहरू त्रिविका आंशिक प्राध्यापकहरूलाई करारमा नियुक्ति गर्ने विषयमा सकारात्मक रहेको र समस्या समाधानका लागि विश्वविद्यालयका पदाधिकारीसँग पटकपटक वार्ता गरेको जानकारी दिए।

उनले भने, ‘यस पटक निश्चित मापदण्ड बनाएर त्रिविका आंशिक शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छ र आइन्दा त्रिवि सेवा आयोगबाट परीक्षा उत्तीर्ण गरेका योग्य व्यक्तिलाई मात्र नियुक्त गर्नुपर्छ।’ उनले आंशिक प्राध्यापकका समस्या सदाका लागि अन्त्य गर्नुपर्ने पनि बताए।

संगठनलाई एकजुट हुन आग्रह
अन्तरक्रियामा संघका पूर्व अध्यक्ष प्रा. वासुदेव घिमिरेले संगठनभित्रका तितामिठा कुराहरूलाई संवादका माध्यमबाट समाधान गरी सबै एकजुट हुनुपर्ने बताए। उनले भने, ‘हामी प्रजातन्त्रवादीहरूबीच विभिन्न विषयमा फरक मत हुन सक्छन् तर तिनलाई सही ढंगले व्यवस्थापन गर्दै संगठन एकजुट हुनुपर्छ।’

भेलाका वक्ताले संगठनमा गुट र उपगुट रहेको, पदाधिकारी नियुक्तिको सिफारिस गर्दा संगठनमा योगदान दिएकालाई भन्दा व्यक्तिगत सम्बन्ध नजिक भएका तथा पार्टीका नेताकहाँ धाउने व्यक्तिलाई अवसर दिएको जस्ता आरोप लगाएका थिए। संघका अध्यक्ष तिमल्सिनाले आफू नेतृत्वमा रहँदा संगठनको शिर ठाडो हुने गरी काम गर्ने प्रतिबद्धता जनाउँदै विगतका वैमनस्यहरुलाई त्यागेर अघि बढ्न आग्रह गरे। अन्तरक्रियामा देशभरका एक सयभन्दा बढी प्राध्यापकहरूको उपस्थिति थियो।

अन्तरक्रियाका सहभागीले प्राध्यापकहरूको मर्यादाक्रम तोक्न, सेवासुविधा समयानुकूल बनाउन, अनुसन्धानमा लाग्नेहरुलाई थप सहयोग गर्न र विश्वविद्यालयका विभिन्न पदमा नियुक्ति गर्दा सबैलाई समेट्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए। उनीहरूले नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघलगायतको अधिवेशन तत्काल गर्न पनि आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.