प्रचण्ड गोविन्द केसीको मागका पक्षमा
काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सधैं डा. गोविन्द केसीले उठाएका माग र मुद्दाको पक्षमा रहेको बताएका छन् । २१ दिनदेखि अनसनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै अध्यक्ष प्रचण्डलाई भेट्न आएको प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै उनले आफू डा. केसीले उठाएका मागको पक्षमा रहेको बताएका हुन ।
भेटमा अध्यक्ष प्रचण्डले भने,‘काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने र मनमोहन मेडिकल कलेजलाई सरकारले खरिद गर्नुपर्ने डा. केसीको माग सकारात्मक छ, यसले मेडिकल शिक्षालाई मर्यादित बनाउँछ भन्ने मेरो पनि ठम्याई छ । म प्रधानमन्त्री हुँदा पनि उहाँले उठाएका समस्या सम्बोधन गर्न सकारात्मक कुराकानी भएको हो । तर, कतिपय कानूनी र प्रशासनिक जटिलताका कारण सबै काम सम्पन्न हुन सकेन । अब ऐनमा त्यसबारे ठोस व्यवस्था गरेर डा. केसीलाई आश्वस्त पार्नुपर्छ र अनसन तोडाउनुपर्छ ।’
डा. केसीको अभियानप्रति आफू पुरै सकारात्मक रहेको र आफनो तर्फबाट सकारात्मक पहल हुने प्रचण्डले बताए । भेटमा प्रतिनिधि मण्डलले डा. केसीको स्वास्थ्य अत्यन्त कमजोर हुँदै गएकाले उनले उठाएका माग सम्बोधन गरी अनसन तोडाउने पहल गर्न प्रचण्डसँग आग्रह गरेको थियो ।