गुडिरहेको बसमाथि ढुंगा खसेर दुर्घटना हुँदा एकको मृत्यु
दाङ: राप्ती राजमार्ग अन्र्तगत तुल्सीपुर-कपुरकोट सडक खण्डमा आइतवार गुडिरहेका यात्रुवाहक बसमाथि ढुंगा खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
कपुरकोट गाउँपालिका ३ गोठरी खोलामा सलयान खलङ्गा देखि दाङको तुलसीपुर जाँदै गरेको सल्यान रुकुम यातायात व्यवसायी समितिको ना ३ ख ३२३० नम्बरको बसमा ढुंगा लागेर एकजनाको ज्यान गएको छ भने ११ घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमु्ख श्याम खत्रीले वताए।
बसमाथि ढुंगा ठोक्किएपछि बस सडकबाट २० मिटर तल खोलामा खसेको थियो। नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयको उद्धारपछि घाइतेहरुलाई उपचारको लागि राप्ती अञ्चाल अस्पताल पुर्याइएको छ।
घाइते ९ जनाको अञ्चल अस्पतालमा उपचार भइरहेका प्रहरीले जनाएको छ । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ। मृतक पुरुष भएको र उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। दाङ सल्यान सडकखण्डको ठाउँठाउँमा पहिरो गएको छ।
वर्षायामको बेला माथीबाट ढुंगाहरु झरिरहने भएकाले यात्रुहरु जोखिमपूर्ण तरिकाले यस सडक खण्डमा यात्रा गरिरहेको छन्। लगातारको वर्षाले यात्रालाई पनि जोखिम बनाएको छ ।