पहिरोमा परी एकै घरका सातको मृत्यु
हेटौँडा: तीन दिनदेखिको वर्षाका कारण मकवानपुरमा पहिरोमा परी एकै परिवारका सात जनाको मृत्यु भएको छ।
बकैया गाउँपालिका वडा नं १० अम्बासबेसीमा पहिराले मंगलसिं न्यासुरको घर बगाउँदा घरमा रहेका सातै जना पुरिएको स्थानीयवासी बुद्ध लामाले बताए। पहिरोमा परी मृत्यु हुनेमा न्यासुरकी श्रीमती सुनमाया, २४ वर्षीया छोरी माया, १२ वर्षीया हीरा, १० वर्षीया सानुमाया, आठवर्षीय छोरा पाल्मो र दुईवर्षीय छोरा विकास छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोका कारण मकवानपुरको उत्तरी क्षेत्रमा पालुङ क्षेत्रको बाटो मात्र सञ्चालनमा छ। हेटौँडाबाट काठमाडौँ जानका लागि सो बाहेक अन्य मार्ग उत्तरी क्षेत्रमा खुला छैन। सिस्नेरी, ज्यामिरे तथा फाखेलको बाटो अवरुद्ध छ चुरेमा पनि बाटो बन्द छ। प्रहरीका अनुसार भीमफेदी गाउँपालिकाको बागझोरामा आएको बाढीका कारण एकतर्फी मात्र बाटो सञ्चालन गरिएको छ।
त्यस्तै हेटौँडा उपमहानगरपालिका वडा नं ११ थानाभञ्ज्याङमा आइतबार बिहान ४:०० बजेतिर बाघथलीमा खसेको पहिरोका कारण अवरुद्ध पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। पहिराका कारण सवारी आवागमन अवरुद्ध भए पनि अहिले बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
त्यसैगरी मनहरी गाउँपालिका-५ वसन्तपुर र दिल्लीपुरमा अविरल वर्षाका कारण राप्ती नदीमा बाढी आएसँगै यहाँका बस्ती डुबानको खतरामा परेका छन्। अहिले गाउँमा विद्युत् अवरुद्ध छ।
खोला किनारमा स्ल्याब गरिएका र बाँधिएका बाँध राप्ती नदीले बगाउँदै लगेको छ। राप्ती नदी किनारमा अवस्थित राई बस्ती, दमार र नयाँगाउँ बाढीको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ। गाउँमा स्थानीयवासीले पालेको दुई हजार कुखुरा मरेको खबर छ ।
मनहरी गाउँपालिकाका हाँडीखोला, रमौली प्रतापपुरलगायत गाउँ डुबानमा परेको छ। बाढीका कारण रजैयादेखि आल्दमारसम्म जाने करिब छ किमी बाटो बगाएको हो। त्यस्तै मनहरी-४ मसिनेमा हरि विष्टले पोखरी बनाई पालेको पाँच लाख बराबरको माछा पोखरीसहित बाढीले बगाएको छ।
पहाडी क्षेत्रसँगै हेटौँडा उपमहानगरपालिकाका केही वडा पनि डुबानमा परेको छ। हेटौँडा-४ गर्दोइ र कर्रा, हेटौँडा- ५ पिप्ले र हेटौँडा- ६ चौगडामा कर्रा खोला पसेर डुबानमा परेको छ। राप्ती खोलाले हेटौँडा-११ का केही बस्ती जोखिममा पारेको प्रहरीको भनाइ छ। रासस