कोसीको कहर
केही दिनयताको अविरल वर्षाले कोसीको जलस्तर ह्वात्तै बढाइदिएको छ । यद्यपि कोसीको औसत बहाब ७६ हजार ५ सय क्युबिक फिट प्रतिसेकेन्ड (क्युसेक) हो । तर कोसीमा बाढीका बेला अधिकतम बहाबभन्दा १८ गुणा बहाब हुने गरेको अध्ययनले देखाएको छ । सन् १९५४ अगस्त २४ को हालसम्म रेकर्ड भएको सबैभन्दा ठूलो बाढी हो, त्यतिबेला ८ लाख ५० हजार क्युसेक पानी कोसीमा थियो ।
यस्तो चरित्र भएको कोसी ब्यारेज निर्माणको मुख्य उद्देश्य पिक फ्लड (अत्यधिक बाढी) नियन्त्रण हो । यो पूर्वाधार ९ लाख ५४ हजार क्युसेक पानी धान्ने गरी निर्माण गरिएको हो । शनिबार बिहान कोसीमा १० बजे कोसीमा २ लाख ८१ हजार ९ सय ५५ क्युसेक पानी थियो ।
कोसीमा रहेका ५६ वटा ढोकामध्ये शनिबारसम्म ३७ वटा खोलिएका थिए । तर भारतले विशेष गरेर बिहारमा वर्षायाममा बाढी आउँदा 'नेपालले कोसीको पानी थुनिदियो' भनेर प्रचार गर्दै आएको छ, जुन असत्य हो । किनभने कोसी सम्झौताअनुसार यसको नियन्त्रण र सञ्चालन भारत सरकारले गर्छ । एक सय ९९ वर्षको लागि गरिएको कोसी सम्झौता नेपालको राजनीति तहमा समेत विवादास्पद बनेको छ ।
विवास्पद हुनुको मुख्य कारण नेपाली भूभाग डुबानमा पारी भारतमा बाढी नियन्त्रण गर्नु र हिउँदको बेला उसले मनग्य सिँचाइ गर्नु हो । यही प्रवृत्ति गण्डक सम्झौतामा पनि छ । बर्खायाममा नेपाली भूभागा पानी जमाउने, हिउँदमा सिँचाइको लागि भारततर्पm लग्ने गरी डिजाइन गरिएको छ । नेपालीले भने वर्षायाममा डुबान झेल्नुपर्ने र हिउँदयाममा पानी नपाउने वर्षाैंदेखिको अभ्यास जारी छ।
सामान्यतयाः बाढीजन्य प्रकोप नियन्त्रणको लागि पूर्वाधार निर्माण गर्ने बेला पानी परेको विगतको इतिहासका तथ्यांकलाई आधार लिइन्छ । यति वर्षमा यति परिमाणको बाढी आउनेछ र त्यसको लागि यस्तो प्रविधिको पूर्वाधार तयार गरिनुपर्छ भन्ने परम्परागत इन्जिनियरिङ पद्धतिलाई यसपालिको बाढीले असफल तुल्याएको छ ।
कुनै तटबन्ध वा जलाशय र नदी नियन्त्रणको लागि अन्य बन्दोबस्ती गर्दैमा मानव जीवन, बस्ती र महत्वपूर्ण पूर्वाधार सुरक्षित हुन सक्दैन भन्ने यो शनिबारदेखि परेको अविरल वर्षाले पुष्टि गरेको छ । भारतले नेपालसित सम्झौता गरी सन् १९५८ देखि १९६२ सम्मको अवधि लगाएर बनाएको पूर्वाञ्चलको कोसी ब्यारेज पनि यस्तै बाढी नियन्त्रण गर्ने परिकल्पनाले ६० वर्षअघि निर्माण गरिएको थियो । तटबन्ध र ब्यारेजले बाढी नियन्त्रण गरी मानव जीवन जोगाउन कठिन पर्छ भन्ने पाठ सन् २००८ मा भएको कोसी ब्यारेजको पूर्वी तटबन्ध भत्केरै पुष्टि भइसकेको थियो ।
शुक्रबारदेखि पूर्वाञ्चलमा परेको अविरल वर्षाले कोसीको जलस्तर बढाएको होइन, बरु तटबन्ध दायाँबायाँ परेको ठूलो पानीले जनधनको ठूलो क्षति हुन पुग्यो । सात सय ५० किलोमिटर लामो कोसी नदी दुई सय वर्षको अवधिमा एक सय ३३ किलोमिटर पूर्वबाट पश्चिम सरेको तथ्यांकले देखाउँछ । १८ अगस्त २००८ मा कोसीको पूर्वी तटबन्ध भत्कँदा २७ लाख मानिस प्रभावित भएका थिए ।
तसर्थ तटबन्ध वा ब्यारेजबाट मात्र डुबान तथा बाढी समस्याबाट समाधान मिल्न नसक्ने अवस्थामा वैकल्पिक उपाय अपनाउन जरुरी देखिन्छ । यसको लागि बाढीको पूर्व सूचना, समुदायमा बाढीसँग संघर्ष गर्ने उपाय, सुरक्षा, खाद्यान्नको जोहो आदि पर्छन् । बाढीमा परेका कसैको पनि ज्यान जान नदिने गरी उद्धार तथा राहत र आगामी दिनमा दीर्घकालीन उपाय सोच्नु जरुरी छ ।