तीन दिनपछि उद्वार टोली देवाहीगोनाही पुग्दै
रौतहट : बाढी आएको तीन दिनपछि उद्वार टोली देवाहीगोनाही गाउँपालिका पुग्दै छ । देवाहीगोनाही गाउँपालिका– २ को जोहरटोलमा लालबकैया नदीले पूर्वतर्फको बाँध कटान गर्दा एक सय ५० सर्वसाधारण तीनदिनदेखि फसिरहेका छन्।
उक्त क्षेत्रमा उद्वार टोलीमा नायब महानिरीक्षक रामशरण पौडेलको नेतृत्वमा सशस्त्र प्रहरी, मध्यक्षेत्रका डिआइजी नरेन्द्रकुमार सिंह, भद्रकाली गणका एसपी नेत्रकुमार खत्री, रौटहतका सशस्त्र प्रहरी प्रेमराज पोखरेलको टोली उद्वारका लागि त्यसतर्फ हिँडेको हो । हेलिकोप्टर समेत जान नसक्ने भएकाले उद्वारमा कठिनाइ भएको हो ।
फसेका सबै उक्त गाउँपालिकाको पक्की घरमा सुरक्षित अवस्थामा रहेको तर, उद्धारमा कठिनाइ भएको प्रहरीले जानकारी दिएको थियो ।
बाढीमा फसेका सबैको उद्धारका निम्ति हेलिकोप्टरको आवश्यकता भए पनि अझैसम्म उद्धारका निम्ति हेलिकोप्टर पठाइएको थिएन बाढी आएको दिन उद्धारका निम्ति डीएसपीको नेतृत्वमा टोली पठाइएको भए पनि उद्धारमा कठिनाई भएको थियो ।