छिमेकी भागिसक्दा पनि हतारो नगर्दा

छिमेकी भागिसक्दा पनि हतारो नगर्दा

इटहरी : ‘बाढी आएको थाहा थियो तर डिलबाट उक्लिँदैन होला भनेर वास्ता गरेनौं, घरमै सुत्यौं', इटहरी-४ स्थित गैरीगाउँकी १५ वर्षीया कमला राईले भनिन्, ‘पछि सानी (सानिमा)ले उठाउँदा पानी कम्मर-कम्मर आइसकेको रहेछ, भाग्न खोज्दा सकेनौं र सिलिङ समातेर बस्यौं ।'

कमला, उनका बुबाआमा र भाइहरू बूढी खोला किनारको उक्त गाउँमा १० वर्षयता बस्दै आएका थिए । यसबीचमा बूढी खोलाको बाढी यसपटकजस्तो उर्लिएको थिएन । खोला बाढी आए पनि डिल नाघ्दैनथ्यो । त्यसैले पनि छिमेकी भागिसक्दा पनि उनीहरूले त्यहाँबाट हिँड्न हतारो गरेनन् ।

बाढी झन्डै घरको छानोसम्मै पुग्यो । गारो भत्कायो । बाढी बढ्न थालेपछि उनीहरू आत्तिए । हारगुहार मागे । यही साउन २७ गते मध्यरातको त्यो भेलमा उनीहरूलाई सहयोग गर्ने कोही भएन । ‘नजिकै एउटा रूख भेटें र त्यसमा चढें, भाइ अर्को रूखमा चढ्यो', कमलाले भनिन्, ‘त्यो रूख भाँचिएपछि अर्कोमा अनि त्यो पनि भाँचिएपछि फेरि अर्कोमा चढेर बसें ।'

पानी झमझम परिरहेको रातमा पानीको आवाजबाहेक केही सुनिँदैनथ्यो । सोलार-बत्ती बालेका केही घरबाट उज्यालो आएको थियो तर त्यो पनि पानीले क्षणभरमै निभाइदियो । उनीहरू रूखमाथि चढेर चिच्याए । मुख्य चोकनजिकको इटहरीसमेत टेंग्रा खोलाको बाढीमा डुबिरहेको बेला बूढी खोला किनारको भेलमा फसेकाहरूबारे धेरैले थाहा पाएनन् । डिलमा घर भएकाहरूले थाहा पाए पनि केही गर्न सक्ने अवस्था थिएन ।


-तीन जना बाढीमा बेपत्ता
-दुई जनाको रूखबाट उद्धार
-एक महिला पौडेर बाँचिन

‘सानीलाई हेर्दाहेर्दै बाढीले बगायो', सानिमा सानुमायासँगै अस्पतालमा भेटिएकी उनले भावुक हुँदै भनिन्, ‘भाइ, आमा र बाबाको अहिलेसम्म पत्तो छैन ।' सानुमायाले इटहरी-५ की सीतासन्ध्या राईसँग बाढीले बगाउनुअघि फोन गरेर सहयोग मागेकी रहेछन् । ‘सानुमायाले फोन गरेको गर्‍यै गरेपछि मैले चिनेजानेकाहरूलाई फोन गरें तर सबै तर्किए', सीतासन्ध्याले भनिन्, ‘प्रहरीलाई फोन गरें तर निकै ढिलो मात्र त्यहाँ पुग्यो रे !'

बाढी कम भएपछि कमला र उनका भाइ निसानलाई रूखबाटै उद्धार गरिएको थियो । सानुमायालाई बिहान दुहबीमा भेटिएको थियो । उनी तीन घन्टा पानीमा संघर्ष गरेर किनारमा उक्लिएर बाँचेकी हुन् । उनलाई झन्डै १० किलोमिटर बाढीले बगाएको थियो । ‘सानुमाया शुक्रबार सधैं दिदीकहाँ जान्थिन्, शनिबार फर्किन्थिन् । उनको दिन बलियो रहेछ', सीतासन्ध्याले भनिन् ।

तीन जनाको ज्यान जोगिए पनि आमाबुवा आशादेवी र राजकुमार अनि कान्छो भाइ निमेश बेपत्ता छन् ।

 

‘भेलसँग संघर्ष गरिरहें'


सानुमाया, बाढीपीडित
घरमा हामी ६ जना थियौं, सबै सुतिरहेका थियौं । अचानक बाढी आयो । बाहिर भाग्न खोजेको सकेनौं । घरभित्रै बस्यौं । बाढीले वरपरका धेरै घर लडायो । हाम्रो घरको पनि गारो भत्कायो । पानी माथि-माथिसम्म आइपुगेको थियो । हामी घरको छानामुनि झुन्डिरहेका थियौं । पानी भरिएर सास फेर्न गाह्रो भएपछि त्यहाँबाट निस्कियौं ।

मैले एउटा रूख भेटें । दिदीको ठूलो छोरी अर्को रूखमा चढेर कराउँदै थियो । दिदी र म एउटा रूख भेटेर बसेका थियौं । मैले आमालाई फोन लगाएँ । बोल्दा-बोल्दै मलाई भेलले बगायो । डुब्नबाट बच्न पौडी खेल्दै गएँ । भेलले घरि सुनामीजस्तो आएर तल घुम्दै-घुम्दै लान्थ्यो । म बल गरेर माथि निस्कन्थें । झन्डै तीन घन्टा यस्तै भइरह्यो ।

बीच-बीचमा ठूला मुढाहरू ठोक्किन आउँथे । कतिले काट्यो, बाढीले बगाएर ल्याएको कति वस्तुले छाती, टाउकोमा हान्थ्यो । भेलले मलाई साढे ३ बजेतिर दुहबी पुर्‍याएछ । किनारतिर निस्कने प्रयासमा केही रूखको बीचमा फोहोर थुप्रिएको थियो । त्यहाँ बल गरेर समातें । एकछिन त्यसै पानीमा बसें । त्यत्तिकैमा एउटा खाट उत्तानो परेर मेरो छातीमा ठोक्कियो । त्यसमै चढेर रूखको हाँगो समातें । खाटलाई पनि खुट्टाले ठेल्दै किनारतिर लगें । ठूलो काठ आएर मैले समातेको रूख भाँच्थ्यो । फेरि अर्को रूख समात्थें । यसरी नै बल्लतल्ल एउटा रूख समातेर त्यसमै बल गरेर चढें ।

यताउता हेर्दा कोही थिएन । लुगा पनि च्यातिइसकेको थियो । त्यत्तिकैमा केही मानिस आइरहेको आवाज सुनें । दाउरा खोज्न आएका मानिस होलान् । उनीहरू बत्ती बाल्दै दाउरा खोज्दै थिए । सुन्लान् भनेर बल गरेर कराएँ । उनीहरू दौडँदै आए । म निकै गलिसकेको थिएँ । उनीहरूले झारेर घिसार्दै भए पनि त्यहाँबाट एउटा घरमा पुर्‍याए । त्यत्तिकैमा म बेहोस भएँ ।

होसमा आउँदा हातखुट्टा तताउँदै रहेछन् । बालुवा खाएर सास फेर्न अप्ठ्यारो भएको थियो । उतैको हस्पिटलमा सामान्य उपचार भयो । केही समयपछि प्रहरीहरू आए ।

राहत वितरणमा एकद्वार

इटहरी : इटहरीका मेयर द्वारिकलाल चौधरीले बाढीका कारण इटहरीमा ६ सयभन्दा बढी परिवारका तीन हजार व्यक्ति विस्थापित भएको जानकारी दिएका छन् । विस्थापितहरू मन्दिर, विद्यालय तथा अरूको घरमा शरण लिएर बसेका छन् । कतिपयले आफन्त र छिमेकीको घरमा आ श्रय लिएका छन् । उनीहरूलाई स्थानीय क्लब, सामाजिक संघसंस्था तथा व्यक्तिले खाना तथा लत्ताकपडा वितरण गरेका छन् ।

बाढीपीडितका लागि ओढ्ने, ओच्छ्याउने तथा खानेकुराको अभाव देखिएको छ । मेयर चौधरीका अनुसार राहत वितरणमा एकद्वार प्रणाली अपनाइएको छ । इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत र आफ्नो संयुक्त हस्ताक्षरमा सोमबार बैंक खाता खोल्ने र त्यही जम्मा हुने रकमबाट राहत वितरण गरिने उनले जानकारी दिए । त्रिशक्ति टेक्निकल स्कुलले ५० हजार र सांसद रेवतीरमण भण्डारीले २१ हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.