तुलसीपुरमा मेयर विपद् व्यवस्थापन कोष स्थापना
तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडामा वाढीबाट पीडितको उद्दार, राहत र व्यवस्थापनका लागि ‘मेयर विपद व्यवस्थापन कोष’को स्थापना गरिएको छ ।
तुलसीपुरमा भएको सरोकारवालाहरुको बैठकले तुलसीपुर उपमहानगर पालिकाका मेयर घनश्याम पाण्डेको संयोजनमा कोष गठन एको हो । कोषले पीडितलाई तत्काल राहत र उद्दारका लागि पहल गर्ने, विपत्तिमा परेकालाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने, कोषमा भएको राहत तथा नगद कोषकै निर्णयानुसार वितरण गर्ने निर्णय गरेको छ ।
समितिमा तुलसीपुर उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समिति, तुलसीपुर उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, इलाका प्रशासन कार्यालय तुलसीपुर, नागरिक समाज, यातायात व्यवसायी महासंघ लगायतका संघ संस्थाहरु सदस्य रहेका छन् । समितिका सदस्य सचिवमा उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसी रहेका छन् ।
कोषले वास्तविक बाढीपीडितको तथ्यांक संकलन गर्ने, पीडितलाई तत्काल राहत वितरण गर्ने र उद्दारका कार्यक्रमसञ्चालन गरिरहेको पनि मेयर पाण्डेले बताए । बाढीपीडितको समस्या दिर्घकालीन समाधानका लागि पनि कोषको गठन गरिएको उनले बताए । यसैगरी तुलसीपुर उद्योग वाणिज्य संघको आपत्कालीन बैठक राखेर विपद् व्यवस्थापनमा सहयोग गर्न सबै व्यापारीलाई अपिल गरेको छ ।
नेपाल इन्भेष्मेण्ट बैकंमा विपद् व्यवस्थापन खाता समेत खोलिसकेको छ । विपतमा परेकालाई सहयोग गर्न चाहनेहरुले तुलसीपुरस्थित नेपाल इन्भेष्मेण्ट बैकंको ०३१०१०४०२५१८६०मा सहयोग रकम जम्मा गर्न सक्ने छन् । तुलसीपुर नगर जेसिसले बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि विपद् व्यवस्थापन कोषमा १९ हजार ५ सय नगद सहित जिन्सी सामान सहयोग गरेको अध्यक्ष बिमल पौडेलले बताए ।