पहिरोले कोशी राजमार्ग अवरुद्ध
धनकुटा: लगातारको बर्षाले कोशी राजमार्गको धरान-धनकुटा सडकखण्ड पहिरोले बगाएपछि कोशी पहाडको धनकुटा सहित भोजपुर, संखुवासभा र तेह्रथुमको यातायात अवरुद्ध भएको छ।
धरान बजारदेखि ७ किलोमिटर उत्तरमा रहेको निशाने खोला नजिक आँपगाछी नजिकै सडक पहिरोले बगाएपछि उक्त राजमार्ग भएर ती जिल्ला जाने यातायात अवरुद्ध भएको हो। सडक भत्किएर निशाने खोलामा पुगेको छ। यात्रुहरु जोखिम मोलेर पैदल हिडिरहेका छन्। भत्किएको सडक करिव ५ मिटर वरिपरी चर्किएको छ।
सडक बगाएपछि चार जिल्लाबाट तराई सामान ढुवानी गर्ने दर्जनौ मालबाहक सवारीहरु बाटोमै रोकिएका छन। अहिले ४ जिल्लाबाट सवारीहरुले आँपगाछीसम्म र तराईबाट आएका सवारीहरुले निशाने खोलासम्म यात्रुहरुलाई सिमित सेवा दिइरहेका छन्।
सडक डिभिजन कार्यालय बिराटनगरबाट उक्त सडक खण्ड सुचारु गर्नुपर्ने भएपनि अहिले बर्षाका कारण बिराटनगर लगाएत तराईका जिल्ला डुवानमा परेकोले बाटो सञ्चालनमा ढिलाई हुने देखिएको छ। बर्षात् र डुबानका कारण अहिले धनकुटा लगाएत पूर्वी पहाडी जिल्लाको बिद्युत अबरुद्ध हुँदा उक्त क्षेत्रका उद्योग, कार्यालय र सञ्चार संस्था प्रभावित बनेका छन्।