कारागार डुवेपछि कैदीको विजोग, तीन दिनदेखि पानीसमेत खान पाएन
बर्दिबास : बाढीका कारण जलेश्वर कारागारमा रहेका कैदी बन्दीहरुको कन्तविजोग भएको छ । कारागार परिसरमा आइबार करीब ६ फिट पानी पसेपछि कैदीहरु समस्यामा परेका हुन।
१३५ कैदी राख्न सक्ने क्षमता रहेको जलेश्वर कारागारमा हाल ३८२ कैदी रहेका छन् , जसमध्ये ४० महिला कैदी र दुई आश्रित बालबालिका रहेका छन् । कारागार परिसरमा मान्छे डुब्ने पानी भएपछि कैदीहरु शौचालय जान समते नसकी पानीभित्रै दिसापिसाब गर्न बाध्य भएका छन् । कारागार परिसरमा रहेको हातेकल डुवानमा परेपछि कैदीहरुले तीन दिनदेखि पानी समेत पिउन पाएका छैनन् ।
खाना पकाउ ठाउँ नभएका कारण कैदीहरुले खाना खान पाएका छैनन् । कारागारको कार्यालय र सुरक्षाकर्मी सुत्ने कोठा पनि जलमग्न भएका कारण कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले खान र बस्नका लागि छतको सहारा लिनुपरेको छ ।
खाना र पानी बिना कारागारको माथिल्लो तला र छतमा बसिरहेका बन्दीहरुले तीन दिनसम्म भोकै रहँदा पनि आफूलाई कसैले वास्ता नगरेको भन्दै सञ्चारकर्मीमाझ आक्रोश पोखे ।
महोत्तरीमा आएको बाढीले हालसम्म एक जनाको मृत्यु भएको छ भने एकजना वेपत्ता भएका छन । त्यसैगरी २१८ घर पुर्ण क्षति भएको र करीब चार हजार मानिसलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
रोगको महामारी फैलने खतरा
तराई मधेसका डुवान क्षेत्रमा महामारी जन्य रोग फैलिन सक्ने सम्भावना निकै बढेको छ । विगत तीन दिनदेखि डुवानमा परेका तराई मधेसका झण्डै २० जिल्लाका लाखौं जनताले प्रयोग गर्ने पानी प्रदूषित भएको छ । जन चेतना अभावका कारण बढीको भेलले बगाएर ल्याएका माछाको उपभोग गर्ने क्रम बढेकोले आँउ, औलो, टाईफइड जस्ता महामारी जन्य रोग बढ्न सक्ने जिल्लन जनस्वाथ्य कार्यालय महोत्तरीका जनस्वाथ्य निरीक्षक गिरेन्द्र झाले बताए ।
डुवानसँगै बिरामी हुने क्रम बढेको छ । साथै बाढीमा बगेका सर्पको विगविगी समेत बढेको छ । जिल्ला अस्पताल जलेश्वरमा ७ जना सर्पले टोकेका बिरामी आएका छन् । महात्तरीका ग्रामिण भेकका स्वाथ्य संस्थामा सात दिनसम्म निशुल्क स्वाथ्योपचार गर्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीबाट टोली खटाइएको छ ।
महोत्तरीका लोहारपट्टी, एकडाँडा, भटीहानी, जलेश्वर, भंगाहा, बर्दिबास लगायतका ठाउँमा अनुगमनका लागि स्वाथ्यमन्त्री गिरिराजमणी पोखरेल काठमाडौंबाट आउँदै छन् । तराई–मधेसमा राहतका लागि आएको धुर्मुस–सुन्तली फाउन्डेसनले महोत्तरी र धुनषामा राहत वितरण गरी हाल सिराह गएका छन् ।